नेभिगेशन

तत्काल ग्यास आपूर्ति सहज बनाउन सांसदकाे माग

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजकाे बैठककाे शून्य समयमा सांसदहरूले ग्यास नपाउँदा उपभाेक्ता घण्टौँसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन् ।

सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दाबी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो । उहाँले बजार अनुगमन प्रभावकारी बनाउन, ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत‍्मा लगाइएको ५ प्रतिशत भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन आचार्यले आग्रह गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटीले सरकारले पर्याप्त ग्यास रहेको दाबी गरिरहे पनि उपभाेक्ता रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । आयात भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्ने प्रश्न गर्दै उहाँले नागरिककाे चुलो नै बल्न नसक्ने अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
थप राजनीति