नेभिगेशन

चिनियाँ रोबोटिक्स कम्पनी ‘युनिट्री’ को शेयर बजारमा शानदार शुरुआत

विश्वको सबैभन्दा ठूलो ‘ह्युमनोइड’ अर्थात् मानवाकार रोबोट निर्माता ‘युनिट्री रोबोटिक्स’ ले शाङ्घाईको शेयर बजारमा शानदार शुरुआत गरेको छ ।

चिनियाँ रोबोटिक्स कम्पनी ‘युनिट्री’ को शेयर मूल्य आज पहिलो कारोबार दिन ४६० प्रतिशतभन्दा धेरैले बढेको छ । बहुप्रतिक्षित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा ‘युनिट्री’ को शेयर १५०.८० युआनमा कारोबार शुरू भई ८४५ युआनमा पुगेर बन्द भएको छ । शुरुआती चरणमा यसको शेयर १ हजार १०० युआनसम्म पुगेको थियो ।

‘युनिट्री रोबोटिक्स’ अमेरिकी ‘नास्डाक’ सँग तुलना गरिने शाङ्घाई स्टक एक्सचेन्जको प्रविधि केन्द्रित ‘स्टार बजार’ मा सूचीकृत भएको हो ।

अहिले अमेरिका र चीन रोबोट तथा तिनलाई सञ्चालन गर्ने कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ मोडेलहरूको विश्वव्यापी बजारमा आफ्नो वर्चस्व कायम गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

युनिट्रीले अस्ति सोमवार ‘सुपरम्यान’ नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार यो रोबोट २ मिटर उचाइसम्म उफ्रिन र प्रतिघन्टा १२.६६ मिटर प्रतिसेकेन्डसम्मको गतिमा दौडिन सक्छ । यो गति १०० मिटर दौडमा निरन्तर कायम राख्न सकेमा विश्व कीर्तिमानी धावक उसेन बोल्टभन्दा पनि तीव्र हुने कम्पनीको दाबी छ ।

अहिले ह्युमनोइड रोबोटिक्स उद्योगले ठूलो परिमाणमा लगानी आकर्षित गरिरहेको छ । टेस्ला, बीवाईडी र अमेजनजस्ता प्रमुख कम्पनीहरूले मानिसले गर्ने कामहरू गर्न सक्ने रोबोटको विकास गरिरहेका छन् ।

प्रकाशित मिति:
थप विश्व