नेभिगेशन

कोकिन परीक्षणमा पोजिटिभ देखिएपछि अस्ट्रेलियाली टेनिस स्टार किर्गियोस निलम्बनमा

प्रख्यात टेनिस खेलाडी निक किर्गियोस कोकिनको परीक्षणमा पोजिटिभ देखिएपछि अस्थायीरूपमा निलम्बनमा परेका छन् ।

३१ वर्षीय अस्ट्रेलियाली खेलाडीले गएको जुन २२ मा मलोर्का ओपनको समयमा परीक्षणका लागि आफ्नो नमूना दिएका थिए । परीक्षणमा कोकिनको मेटाबोलाइट ‘बेन्जोइलएक्गोनिन’ फेला परेको हो ।

विश्व वरीयताको १३औँ स्थानमा रहेका पूर्वखेलाडी किर्गियोस यही अगस्ट ४ देखि अस्थायीरूपमा निलम्बन भएका बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीले जनाएअनुसार किर्गियोसले यस अस्थायी निलम्बनविरुद्ध पुनरावेदन गर्न सक्थे तर अहिलेसम्म उनले त्यसो गरेका छैनन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम पोस्टमा किर्गियोसले आफूले ठूलो गल्ती गरेको र त्यसको पूर्ण जिम्मेवारी लिने बताएका छन् ।

निलम्बनको अवधिमा निक किर्गियोसले खेलाडी, प्रशिक्षक वा दर्शकका रूपमा कुनै पनि ग्रान्ड स्लाम प्रतियोगिता वा पुरुष तथा महिला टेनिस टुरद्वारा मान्यता प्राप्त कुनै पनि कार्यक्रममा भाग लिन पाउने छैनन् ।

यो प्रतिबन्ध न्यायाधिकरणको निर्णय नआएसम्म लागू रहनेछ ।

किर्गियोसले यस सिजनमा अहिलेसम्म ४ वटामात्र एकल खेल खेलेका छन् । उनी विगत केही वर्षदेखि घुँडा र नाडीको चोटसँग जुधिरहेका छन् ।

किर्गियोसले पछिल्लो पटक विम्बल्डनमा पुरुष डबल्सतर्फ प्रतिस्पर्धा गरेका थिए, त्यो प्रतियोगितामा उनी र उनका जोडी अलेक्जेन्डर बुब्लिक पहिलो चरणमै पराजित भए ।

प्रकाशित मिति:
थप खेलकुद