नेभिगेशन

आज १८ जिल्लामा बाढीको जोखिम

काठमाण्डौ — आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले ती जिल्ला भएर बग्ने साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पहाडी भू–भागमा वर्षाको पानी छोटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकाले पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने, बालबालिकालाई खोलानजिक जान दिने वा बाढीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज