नेभिगेशन

भारतसँगकाे निर्णायक टेस्टबाट बाहिरिए श्रीलङ्काका दुई ब्याटर

काठमाण्डाै – श्रीलङ्काका दुई जना ब्याटर कुशल मेन्डिस र दिनेश चन्डिमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन् । आउँदो आइतवारदेखि कोलम्बोमा शुरू हुने खेलका लागि दुई जना ब्याटर बाहिरिएका हुन् ।

यस्तै यस खेलका लागि अर्का ब्याटर पाथुम निसान्का ‘फिट’ हुने सम्भावना पनि निकै कम छ । यसको अर्थ श्रीलङ्काले कोलम्बोमा आफ्ना तीन जना प्रमुख ब्याटरविना नै खेल्नेछ ।

लङ्का प्रिमियर लिगको शुरुआती चरणमा ‘ह्यामस्ट्रिङ’ को चोटपछि मेन्डिसले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । श्रीलङ्काको टेस्ट टोलीमा उनको ठाउँ निरोशन डिकवेलाले लिएका थिए, उनले पहिलो टेस्टको पहिलो पारीमा ८० रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार ‘कन्कसन सब्स्टिच्युट’ अर्थात् टाउकोमा चोट लागेका खेलाडीको सट्टामा आउने खेलाडीद्वारा प्रतिस्थापन गरिएका खेलाडी ७ दिनसम्म खेल्न नपाउने भएकाले चन्डिमाल दोस्रो टेस्टबाट बाहिरिएका छन् । गाले टेस्टको चौथो दिन चन्डिमाललाई खेलबाट हटाइएपछि पासिन्दु सुरियाबान्डाराले डेब्यु गर्ने अवसर पाएका थिए ।

यस्तै निसान्का गएको जुन महिनामा भएको नाडीको शल्यक्रियापछि अझै पनि निको हुने क्रममा छन् । 

दुई खेलको शृङ्खलामा भारत १–० ले अघि छ । गालेमा भएको पहिलो टेस्टमा भारतले घरेलु टोली श्रीलङ्कालाई १६५ रनले हराएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद