नेभिगेशन

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथर – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

खेलसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको सिङ्जेमा ताल, साम्दो पोखरी, दिकीछ्योखोर्लिङ गुम्बा तथा मिक्वाखोलाको पापुङमा रहेको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार यही भदौ १२ गते ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच उद्घाटन खेल हुनेछ । त्यस्तै भदौ १३ गते चित्लाङ फुटबल क्लब (मकवानपुर) र फिदिम स्पोर्टिङ क्लब (पाँचथर) बीच खेल हुनेछ ।

भदौ १४ गते सातदोबाटो फुटबल क्लब (ललितपुर) र सलहेश युवा क्लब (सिरहा), भदौ १५ गते झापा–११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सलहेश युवा क्लब गएको वर्षको विजेता टोली हो ।

प्रतियोगिताका सेमिफाइनल खेल भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ७ लाख ५२ हजार ८३ रुपैयाँ र  उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लाखेजात्रा पर्वको अवसरमा २०२९ देखि कञ्चनजङ्घा, पाथीभरालगायत विभिन्न नाममा यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । ताप्लेजुङ गोल्डकप पूर्वी पहाडी क्षेत्रको बहुप्रतिक्षित फुटबल प्रतियोगिताका रूपमा स्थापित छ ।

प्रतियोगिता हेर्न झापा, इलाम, पाँचथर, तेह्रथुमलगायत जिल्लाबाट दर्शक आउने समितिका अध्यक्ष मादेनले बताउनुभयो ।

यस वर्ष प्रतियोगितामा क्वाटरफाइनलका लागि २००, सेमिफाइनलका लागि ३०० र फाइनलका लागि ५०० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । प्रतियाेगिता फुङलिङकाे भानुजन मावि खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद