नेभिगेशन

स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयाे

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको शिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार खानलाई नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियनसहितको टोलीले जाँच गरेको थियो । परीक्षणपछि डाक्टरहरूले पूर्वप्रधानमन्त्री खान ‘चिकित्सकीय रूपमा तन्दुरुस्त’ रहेको बताएका बीबीसीले जनाएको छ ।

सर्वोच्च अदालतले गएको मङ्गलवार खानलाई ४८ घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो ।

इरामान खान भ्रष्टाचारकाे आराेपमा सन् २०२३ देखि जेलमा हुनुहुन्छ । उहाँले आफूमाथि लागेका आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ ।

पूर्वप्रधानमन्त्री खानका वकिलहरूले उहाँ विभिन्न समस्याबाट ग्रसित भए पनि विशेषज्ञ चिकित्सकबाट उपचार हुन नसकेको दाबी गर्दै आएका थिए ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीको कप्तानसमेत रहनुभएका खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति:
थप विश्व