नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

थर सूचीकरणको विवाद र वास्तविकता

नेपाली समाजमा जातीय पहिचान, थर र पारिवारिक सम्बन्ध केवल व्यक्तिको नामसँग जोडिएका विषय होइनन् । यी सामाजिक संरचना, ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक अभ्यास र पारिवारिक सम्बन्धसँग गाँसिएका संवेदनशील पक्ष हुन् । विशेषगरी अन्तरजातीय विवाहबाट जन्मिएका सन्ततिको पहिचान र थर प्रयोगको विषयमा समाजमा लामो समयदेखि व्यावहारिक जटिलता रहँदै आएको छ । राष्ट्रिय दलित आयोगले गरेको थर सूचीकरणलाई यही सामाजिक यथार्थ र नागरिकको पहिचानसम्बन्धी अधिकारको सन्दर्भमा बुझ्न आवश्यक छ ।

आयोगको सूचीकरणको मूल उद्देश्य कुनै गैरदलित समुदायलाई दलितको पहिचान दिनु वा कुनै समुदायको विद्यमान जातीय वर्गीकरण परिवर्तन गर्नु होइन । यसको उद्देश्य अन्तरजातीय विवाहबाट जन्मिएका सन्ततिले आफ्नो पारिवारिक पृष्ठभूमि, सामाजिक सम्बन्ध र परिवेशअनुसार थर प्रयोग गर्न पाउने अधिकारलाई व्यावहारिक रूपमा सम्बोधन गर्नु हो । व्यक्तिको पारिवारिक पहिचान र थर प्रयोगको स्वतन्त्रतामाथि सामाजिक वा प्रशासनिक जटिलता सिर्जना हुनु हुँदैन भन्ने मान्यताले यस प्रक्रियालाई निर्देशित गरेको हो ।

उदाहरणका लागि गैरदलित समुदायका पुरुष र विश्वकर्मा समुदायकी महिलाबीच विवाह हुँदा उनीहरूबाट जन्मिएका सन्ततिको थर र पहिचानको प्रश्न उठ्न सक्छ । ती सन्ततिले आफ्नो आमाको पारिवारिक पहिचानअनुसार थर प्रयोग गर्न चाहेमा त्यसलाई सहज रूपमा स्वीकार गर्ने अवस्था सधैँ विद्यमान नहुन सक्छ । कतिपय अवस्थामा सामाजिक व्यवहार, प्रशासनिक अभिलेख र पारिवारिक सम्बन्धमा समेत अन्योल देखिन सक्छ । यस्तो अवस्थामा उनीहरूलाई आफ्नो पारिवारिक तथा सामाजिक परिवेशअनुसार थर छनोट र प्रयोग गर्न सहज बनाउनु नै सूचीकरणको औचित्य हो ।

यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने थर र जातीय समुदायको पहिचान एउटै विषय होइनन् । कुनै थर दलित समुदायका व्यक्तिहरूले पनि प्रयोग गर्न सक्छन् र गैरदलित समुदायका व्यक्तिहरूले पनि । त्यसैले कुनै थर सूचीमा समावेश हुँदैमा त्यो थर प्रयोग गर्ने सबै व्यक्ति एउटै जातीय समुदायका हुन् भन्ने निष्कर्ष निकाल्नु सामाजिक यथार्थको सरलीकृत व्याख्या हुनेछ । थरको प्रयोगलाई सम्पूर्ण समुदायको जातीय वर्गीकरणसँग जोडेर हेर्नुभन्दा त्यसको पारिवारिक र सामाजिक सन्दर्भ बुझ्नु आवश्यक छ ।

आयोगले सूचीमा १ देखि ७ नम्बरमा उल्लेख गरेका शब्दहरू दलित समुदायले प्रयोग गर्ने थर तथा पहिचानसँग सम्बन्धित छन् भने आठौँ नम्बरमा रहेका शब्दहरू गैरदलित समुदायसँग सम्बन्धित छन् । यी शब्दहरूको समावेशीकरणको प्रयोजन र सन्दर्भ फरक छन् । त्यसैले सूचीमा नाम वा थर समावेश भएको आधारमा सबै गैरदलित समुदायलाई दलितको सूचीमा राखिएको भन्ने बुझाइ तथ्यगत रूपमा उचित हुँदैन । सूचीकरणको मूल्याङ्कन गर्दा त्यसको उद्देश्य, वर्गीकरणको आधार र लक्षित समस्यालाई अलग–अलग रूपमा विश्लेषण गर्नुपर्छ ।

यद्यपि जातीय पहिचानसँग सम्बन्धित विषयमा राज्यका निकायले निर्णय गर्दा सम्बन्धित समुदायको संवेदनशीलतालाई पर्याप्त ध्यान दिनुपर्छ । आयोगले २०७८ देखि २०८२ सालसम्म विभिन्न चरणमा सार्वजनिक रूपमा सरोकारवाला, समुदाय र आमनागरिकबाट सुझाव तथा प्रतिक्रिया माग्दै आएको छ । तर संस्थागत रूपमा पर्याप्त सामूहिक छलफल हुन नसकेको साँचो हो । सार्वजनिक रूपमा सुझाव माग्नु र सम्बन्धित समुदायसँग प्रत्यक्ष तथा संस्थागत संवाद गर्नु फरक प्रक्रिया हुन् ।

सूची सार्वजनिक भएपछि उत्पन्न विवादले निर्णयको उद्देश्य मात्र स्पष्ट हुनु पर्याप्त हुँदैन् । त्यसको प्रक्रिया र सम्भावित सामाजिक प्रभावसमेत बुझ्नुपर्छ । विवादलाई थप जटिल बन्न नदिन आयोगले सरकारलाई यो निर्णय तत्काल स्थगित गर्न औपचारिक सिफारिश गरिसकेको छ । यसलाई अधिकारको मूल उद्देश्यबाट पछि हटेको अर्थमा नभई असन्तुष्ट पक्षका सरोकार सुन्ने र सहमतिमार्फत समाधान खोज्ने प्रयासका रूपमा लिनुपर्छ ।

यसको केन्द्रमा कुनै समुदायको पहिचान खोस्ने वा अर्को समुदायमाथि नयाँ पहिचान आरोपित गर्ने प्रश्न छैन । बरु अन्तरजातीय विवाहबाट जन्मिएका सन्ततिले आफ्नो पारिवारिक सम्बन्ध र पहिचानअनुसार जीवनयापन गर्न पाउने अधिकार कसरी सुनिश्चित गर्ने भन्ने हो । नागरिकको पहिचानलाई जन्म, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशसँग जोडेर बुझ्ने क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्नु राज्यको दायित्व हो ।

व्यक्तिले आफ्नो पारिवारिक पहिचानसँग सम्बन्धित थर प्रयोग गर्न खोज्दा अनावश्यक अवरोध सामना गर्नुपर्ने अवस्था रहनु हुँदैन । यसका लागि थर, जातीय संरचना र सामाजिक पहिचानसम्बन्धी विषयमा थप अध्ययन तथा अनुसन्धान आवश्यक छ । विश्वविद्यालयका समाजशास्त्र, मानवशास्त्र र सामाजिक संरचनासम्बन्धी अध्ययनमा थरको ऐतिहासिक विकास, अन्तरजातीय सम्बन्ध र पहिचानको व्यावहारिक प्रयोगलाई वैज्ञानिक ढङ्गले समेट्नुपर्छ । प्रमाण र अनुसन्धानमा आधारित नीतिगत निर्णयले मात्रै यस्ता जटिल सामाजिक प्रश्नको दिगो समाधान दिन सक्छ ।

अहिलेको विवादलाई समुदायबीच अविश्वास बढाउने अवसरका रूपमा होइन, सामाजिक पहिचान र नागरिक अधिकारसम्बन्धी बुझाइलाई अझ परिपक्व बनाउने अवसरका रूपमा लिनुपर्छ । असन्तुष्ट समुदाय, आन्दोलनरत समूह र अन्य सरोकारवालाले आयोगसँग प्रत्यक्ष संवाद गरी आफ्ना चासो राख्नुपर्छ । आयोगले पनि आलोचनालाई अस्वीकार गर्नेभन्दा त्यसबाट उठेका प्रश्नको तथ्यगत जवाफ दिँदै आवश्यक सुधारका लागि खुला रहनुपर्छ । सञ्चारमाध्यम, बुद्धिजीवी र सामाजिक अभियन्ताले समेत अपूर्ण सूचना र भावनात्मक व्याख्याभन्दा तथ्यमा आधारित बहसलाई प्राथमिकता दिनु आवश्यक छ ।

अन्त्यमा थर सूचीकरणको वास्तविक औचित्य कुनै समुदायको जातीय हैसियत परिवर्तन गर्नुमा होइन, अन्तरजातीय विवाहबाट जन्मिएका सन्ततिले आफ्नो पारिवारिक तथा सामाजिक परिवेशअनुसार थर प्रयोग गर्न पाउने व्यावहारिक अधिकारलाई स्थापित गर्नुमा निहीत छ । थरलाई जातीय पहिचानको एकमात्र आधार बनाएर व्याख्या गर्दा व्यक्तिको पारिवारिक यथार्थ र व्यक्तिगत अधिकार ओझेलमा पर्न सक्छन् । त्यसैले यस विषयलाई सामुदायिक विभाजनको दृष्टिले होइन, सामाजिक न्याय, पहिचानको सम्मान र नागरिक अधिकारको दृष्टिकोणबाट हेर्नुपर्छ ।

राज्यको नीति र आयोगको पहलले व्यक्तिको पहिचानलाई सहज बनाउने, समुदायबीच सद्भाव कायम गर्ने र ऐतिहासिक सामाजिक जटिलताको न्यायपूर्ण सम्बोधन गर्ने दिशामा योगदान दिन सक्नुपर्छ ।

(राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग हृदय रिमालले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति:
थप विचार