नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

कूटनीतिको फेरिँदो लय : विकास प्राथमिकता, मौन हुँदै राष्ट्रिय मुद्दा

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिको सूचीबाट मात्रै मूल्याङ्कन गर्ने हो भने वालेन्द्र शाहको भ्रमण पनि सफलताको खातामा दर्ज भएको छ । विकास आयोजना, आर्थिक सहायता, हवाई मार्ग, पारवहन र ऊर्जा सहकार्यका विषयमा केही नयाँ समझदारी बनेका छन् । तर नेपाल–भारत सम्बन्धका जटिल र संवेदनशील मुद्दा जहाँ थिए, त्यहाँबाट खासै अघि बढेका छैनन् । भ्रमणले विकासको ढोका केही फराकिलो बनाएको छ, तर दशकौँदेखि बन्द रहेका राजनीतिक र कूटनीतिक गाँठा फुकाउने तत्परता भने देखाएको छैन ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश मार्गको विषयमा भएको प्रगतिलाई यस भ्रमणको अर्थपूर्ण उपलब्धि मान्न सकिन्छ । विमानस्थल बनेर पनि अपेक्षित सञ्चालन हुन नसक्नुको एउटा प्रमुख कारण भारतीय आकाशमार्गको प्रयोगमा बन्देज थियो । यसमा भएको सहमतिले भैरहवाको सम्भावना बढाउन सक्छ । भारतीय बन्दरगाह उपयोग गर्ने सुविधा, ऊर्जा आयोजना र पूर्वाधार विकासमा भएका समझदारीले पनि नेपालको आर्थिक गतिविधिका लागि केही नयाँ विकल्प खोल्नेछन् ।

भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँको सहयोग पनि चर्चायोग्य छ । तर यो अनुदान मात्रै होइन, ठूलो हिस्सा ऋण हो । यसले नेपालको विकास साझेदारीमा भारतको चासो र लगानीको सम्भावना देखाए पनि ऋणको दायित्व र त्यसबाट प्राप्त हुने प्रतिफलको हिसाब पनि सँगसँगै आउँछ । सहयोगको आकारभन्दा त्यसको उपयोग र कार्यान्वयन महत्त्वपूर्ण हुनेछ ।

नेपाल–भारत सम्बन्धको चर्चा विकास र व्यापारमा मात्र सीमित छैन । यसमा इतिहास, भूगोल, सार्वभौमिकता र शक्ति सन्तुलनका प्रश्न पनि जोडिएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा, सीमा व्यवस्थापन, १९५० को सन्धि पुनरावलोकन तथा पञ्चेश्वर आयोजना त्यस्ता विषय हुन् जसमा नेपाली पक्षले लामो समयदेखि स्पष्ट प्रगतिको प्रतीक्षा गरिरहेको छ ।

तर यी महत्त्वपूर्ण मुद्दासँगै ईपीजी प्रतिवेदनको कार्यान्वयन, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सक्रियता, व्यापार तथा पारवहन, भारतसँग नेपालको बढ्दो व्यापार घाटा, भारतीय बजारमा नेपाली सामानको पहुँच, भारतमा बसोबास गर्ने नेपाली नागरिकले भोग्ने समस्यालगायतका महत्त्वपूर्ण विषयहरू यस पटक पनि थाती राखिएका छन् । भारतीय विदेश सचिवले त लिपुलेक भारत र चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको नाका भएकामा जोड दिँदै यस विषयमा दुई प्रधानमन्त्रीबीच वार्तामा छलफल नै नभएको बताएका छन् । सीमा क्षेत्रको अतिक्रमण तथा सीमा पिलरको व्यवस्थापनका बारेमा छलफल भएको भन्दै ईपीजीको सान्दर्भिकता सकिएको उनको भनाइ छ । भारतीय पक्षको यो भनाइले नयाँ प्रधानमन्त्रीको भारत भ्रमणपछि राष्ट्रिय मुद्दा उस्तै पेचिलो रहेको प्रष्ट हुन्छ ।

तर भ्रमणको एउटा अर्को पाटो पनि छ जसलाई उपलब्धि र कमजोरीको सूचीमा समेट्न सकिँदैन । त्यो हो प्रधानमन्त्री बालेन शाहको राजनीतिक प्रस्तुतिमा देखिएको परिवर्तन । काठमाण्डौको मेयर हुँदा होस् वा सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुँदा, बालेनको राजनीतिक अभिव्यक्तिमा उग्र राष्ट्रवादको रङ्ग बाक्लो थियो । भारतसँगको सम्बन्धका विषयमा उनका कतिपय अभिव्यक्ति भावनात्मक र आक्रामक हुन्थे । सामाजिक सञ्जालको लोकप्रियता र राजनीतिक प्रभाव विस्तारका लागि त्यस्तो शैली प्रभावकारी पनि देखिएको थियो ।

तर प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि त्यही शैलीलाई निरन्तरता दिन सम्भव थिएन । भारतसँगको सम्बन्ध नेपालको अर्थतन्त्र, व्यापार, पारवहन, ऊर्जा र क्षेत्रीय कूटनीतिसँग प्रत्यक्ष जोडिएको छ । यहाँ एउटा उत्तेजक अभिव्यक्तिले तत्कालीन राजनीतिक लाभ दिन सक्ला, तर त्यसको मूल्य राज्यले लामो समयसम्म चुकाउनुपर्ने हुन सक्छ । दिल्ली भ्रमणमा बालेनको प्रस्तुतिमा देखिएको संयमलाई यही राजनीतिक यथार्थसँग जोडेर हेर्न सकिन्छ ।

उनको यस पटकको शैलीमा पहिलेको जस्तो राष्ट्रवादी आवेगभन्दा व्यावहारिक राजनीतिको छनक बढी देखियो । भारतीय नेतृत्वसँगको संवाद, विकास सहकार्यमा जोड र द्विपक्षीय सम्बन्धलाई परिणाममुखी बनाउने प्रयासले उनी आफ्नो पुरानो सार्वजनिक छविबाट केही पर सरेको सङ्केत गर्छन् ।

तर यसलाई भारतसँगको सम्बन्धमा बालेनले आफ्नो पुरानो अडान छाडेको अर्थमा बुझ्नु हतार हुनेछ । न त यसलाई भारतले नेपालका सबै चासो सम्बोधन गरेको भ्रमणका रूपमा चित्रित गर्न सकिन्छ । विकासका विषयमा देखिएको प्रगति र राष्ट्रिय मुद्दामा कायम रहेको गतिरोधले भ्रमणको वास्तविक चरित्र देखाउँछ । भारतसँगको सम्बन्धमा नेपालले आर्थिक अवसर खोजिरहेको छ, तर राजनीतिक तथा कूटनीतिक असमानताको प्रश्न अझै समाधान भएको छैन ।

समग्रमा, दिल्ली भ्रमणले बालेन सरकारको विदेश नीतिको एउटा प्रारम्भिक सङ्केत दिएको छ । विकास र आर्थिक सहकार्यमा उपलब्धि खोज्ने, तर राष्ट्रिय मुद्दामा अपेक्षित परिणाम निकाल्न नसक्ने अवस्थाबीच प्रधानमन्त्रीको राजनीतिक शैलीमा आएको परिवर्तन यसले देखाएको छ । उनको यो परिवर्तन कति गहिरो र टिकाउ हुन्छ भन्ने प्रश्न खुलै छ, तर कम्तीमा यस पटक दिल्लीमा बालेनको राजनीतिक लय पहिलेको भन्दा फरक देखिएको छ ।

प्रकाशित मिति:
थप विचार