पछिल्लो समय राजमार्गहरूमा सुक्खा पहिरोको जोखिम देखिन थालेको छ । केही दिनयता पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन र कुरिनटारबीचको घोप्टेभीरमा सुक्खा पहिरोले समस्या निम्त्याएको छ । बितेको एक हप्तामा मात्रै पृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा खसेको सुक्खा पहिरोले हजारौँ यात्रुलाई घण्टौँसम्म सडकमै अलपत्र पारेको छ ।
पानी नपरेको बेलामै पहाडबाट माटो, ढुंगा र कहिलेकाहीँ रूखसमेत एकैपटक खसेर यातायात अवरुद्ध हुन्छन् । वर्षायाममा पहिरो जाने कुरामा हामी अभ्यस्त भइसकेका छौँ, तर घाम लागेको दिनमा पहाड नै खस्न थालेपछि सबै अलमलमा पर्छन् ।
सामान्यतया पहिरो भन्नेबित्तिकै वर्षाको कुरा सम्झन्छौँ । पानी पर्दा भिरालो जमिनभित्र पानीको दबाब बढ्छ, त्यो अतिरिक्त चापलाई जमिनमा भएका ढुंगा–माटोले धान्न सक्दैनन् र सबै बग्न थाल्छन् । यसैलाई हामी पहिरो भन्छौँ । सुक्खा पहिरोमा भने त्यस्तो देखिने पानीको भूमिका हुँदैन । चट्टान वा माटोका सतह, गेग्रान र रूखबिरुवासमेत पानी नपरेको अवस्थामै एकैचोटि खस्छन्, त्यसलाई सुक्खा पहिरो भनिन्छ ।
तर सुक्खा भनिए पनि यसको पछाडि वर्षाको पानीको अप्रत्यक्ष भूमिका पूर्ण रूपमा हराएको हुँदैन । मनसुनमा परेको पानी जमिनभित्र छिरिसकेको हुन्छ । त्यतिबेला त्यसले पहिरो ल्याउन सकेको हुँदैन, तर पछि जमिनभित्र त्यो पानी बग्दै जाँदा वा कुनै ठाउँमा थुनिन थाल्दा त्यहाँको चाप क्रमशः बढ्दै जान्छ । अन्ततः त्यही चापले पहिरो निम्त्याउँछ । त्यसैले धेरैजसो यस्ता पहिरो मनसुन सकिएको एकदेखि दुई महिनाको हाराहारीमा देखिन्छन् । वर्षाका बेला नदेखिएको पहिरो पछि गएको भए पनि त्यसको कारण वर्षाको पानी नै हुन सक्छ भन्ने बुझ्नुपर्छ ।
पानीबाहेक अरू कारणहरू पनि छन् । जमिन अत्यन्त भिरालो छ र त्यहाँका चट्टानहरू धेरै चर्किएका वा टुक्रा–टुक्रा परेका छन् भने सुक्खा पहिरोको सम्भावना रहन्छ । भूविज्ञानको भाषामा यस्तो चट्टानलाई जोइन्टेड चट्टान भनिन्छ । त्यस्तै फुसफुसे र नखाँदिएको माटो भएको भिरालो जमिनमा पनि यस्तो जोखिम हुन्छ ।
हाम्रो भूबनोटले यसलाई झन् संवेदनशील बनाएको छ । लेसर हिमालय र त्योभन्दा माथिको उच्च हिमाली क्षेत्रमा जमिनको भिरालोपन बढी हुन्छ, भीरहरू एकदमै ठाडा हुन्छन् र चट्टानमा जोइन्टहरू पनि धेरै हुन्छन् । त्यसैले ती क्षेत्रमा सुक्खा पहिरोको सम्भावना अझ बढी रहन्छ ।
प्राकृतिक कारणभन्दा पनि राजमार्गमा सुक्खा पहिरो बढ्नुको मुख्य कारण मानवीय क्रियाकलाप हो । सडक बनाउँदा पहाडलाई तलबाट काटिन्छ । यसलाई प्राविधिक भाषामा ‘टो कटिङ’ भनिन्छ । भीरको खुट्टा काटिएपछि माथिको भागले पाउने सहारा कमजोर हुन्छ र त्यसले पहिरोलाई उक्साउन सक्छ ।
सडक निर्माण वैज्ञानिक हिसाबकिताबका आधारमा हुनुपर्ने हो । कुन कोणमा भीर काट्न मिल्छ, काटिसकेपछि भीरको उचाइ कति राख्ने, पानीको निकास कसरी मिलाउने भन्ने कुरा इन्जिनियरिङ डिजाइनमा तय हुनुपर्छ । तर हाम्रोमा डोजर र एक्स्काभेटर लगेर विना हिसाबकिताब खन्ने चलन छ । कति कोणमा खन्नुपर्थ्याे र कति उचाइ राख्नुपर्थ्याे भन्ने लेखाजोखा हुँदैन, पानीको निकास पनि मिलाइँदैन । यो नै सबैभन्दा प्रमुख समस्या हो ।
यसमै जोडिएको अर्को कुरा चट्टान र माटोको प्रकृति हो । सबै ठाउँको जमिन एकै किसिमको हुँदैन । बलियो चट्टान वा बलियो माटो भएको ठाउँमा केही ठूलो कोणमा काट्दा पनि भीर टिक्न सक्छ । तर कमजोर चट्टान वा माटो भएको ठाउँमा भीरलाई एकदमै ठाडो नबनाई सहज ढलान राखेर काट्नुपर्छ । यो फरकलाई ध्यानमा राखिएको छैन ।
त्यतिमात्र होइन, भीर काटिसकेपछि भविष्यमा त्यहाँ पहिरो जान सक्छ कि सक्दैन भन्ने मूल्याङ्कन नै गरिँदैन । मूल्याङ्कन नभएपछि रोकथामका उपाय अर्थात् मिटिगेसनका काम पनि हुँदैनन्, र जोखिम त्यतिकै छाडिन्छ ।
यी बाहेक रूखबिरुवा फडानी, ढुंगा–गिट्टी–बालुवाका लागि जथाभावी उत्खनन र खनेपछि त्यसै छाडिदिने प्रवृत्तिले पनि कतिपय ठाउँमा यस्ता पहिरोलाई बढावा दिएको छ । राजमार्गमा ‘रकफल’ अर्थात् चट्टान खस्ने समस्या पनि प्रशस्तै देखिन्छ । त्यसमा पानीको भूमिका देखिँदैन, तर माथिबाट ढुंगा खसिरहने वा विस्तारै ठूलै भाग भत्किने अवस्था आउन सक्छ । कहिलेकाहीँ त हावाले समेत ढुंगा उडाएको जस्ता घटना देखिन्छन् ।
वर्षायाममा पहिरो जान्छ कि भनेर मानिसहरू पहिल्यै सचेत हुन्छन् । पानी परिरहेको देख्दा खतरा हुन सक्छ भन्ने मनोविज्ञान तयार भइसकेको हुन्छ । तर सुक्खा पहिरो पानी नपर्दै जाने भएकाले कहाँ, कसरी र कतिबेला जान्छ भन्ने अनुमान गर्न सकिँदैन । जानकारी नै नभएपछि मानिस एक्कासि यसको चपेटामा पर्न सक्छन् र जोखिम त्यहीँबाट बढ्छ ।
विनाशको आकारका हिसाबले हेर्दा वर्षाले ल्याएका पहिरोले पूरै डाँडा नै भत्काउने उदाहरण बढी देखिन्छन् । सुक्खा पहिरोमा त्यति ठूलो क्षति नहुने सम्भावना केही कम होला, तर पूर्वजानकारी नहुनु नै यसको सबैभन्दा ठूलो जोखिम हो ।
अर्को चिन्ताको कुरा भनेको बाहिरबाट हेर्दा एउटा भीर एकदमै स्थिर देखिन सक्छ । पहिरो जाँदैन जस्तो लाग्न सक्छ । तर भित्रभित्रै पहिरो निम्त्याउने प्रक्रिया चलिरहेको हुन सक्छ, जसलाई पहिरोको तयारी भनेर बुझ्न सकिने अवस्था भनिन्छ । त्यस्तो ठाउँमा पहिरो अचानक देखिन्छ । चट्टान जमिनको भित्री भागसम्मै टुक्रा–टुक्रा परेको छ भने सुक्खा पहिरोले पहाडकै ठूलो हिस्सा खसाल्न पनि सक्छ ।
सुक्खा पहिरोको जोखिम भएका ठाउँ पहिचान गर्न सकिन्छ र त्यसका संकेत पनि हुन्छन् । विशेषगरी राजमार्गमा सडक बनाउँदै गर्दा नै कुन ठाउँमा समस्या आउन सक्छ भन्ने थाहा हुन्छ । तर सडक खुलेपछि ‘सबै हिसाबकिताब पहिल्यै भइसक्यो’ भन्ने मनोविज्ञान बन्छ र अनुगमन छुट्छ । समस्या त्यहीँबाट शुरु हुन्छ । खनिरहँदा नै आकलन गरेर रोकथाम गरिएको भए आज यस्ता समस्या आउने थिएनन् ।
विकसित देशहरुमा सडक बनाउँदा नै जोखिमयुक्त ठाउँ पहिचान गरी रोकथामका उपाय अपनाइन्छ । त्यस्तो ठाउँमा विशेष खालका जाली राखेर पहिरोबाट आउने ढुंगा–माटो सडकसम्म आउन नदिने व्यवस्था गरिएको हुन्छ । हामीले पनि त्यसै गर्न सक्छौँ ।
जोखिमका केही संकेत आँखाले नै देख्न सकिन्छन् । तलबाट खनिएर खोक्रो भएको, माथि चाहिँ कुप्रिएर बसेको जस्तो देखिने पहाड खतरनाक हुन्छ, किनभने तलको सहारा कमजोर हुँदै जाँदा माथिको जमिन खस्नु स्वाभाविक हो । पहिरो नगएको तर रूखहरू तलतिर ढल्किन थालेको अवस्था पनि चेतावनी हो । माटो फुसफुसे छ, भीर धेरै ठाडो छ भने पनि त्यहाँ सुक्खा पहिरो जान सक्छ । चट्टानमा धेरै चिरा वा क्र्याकहरू बाहिरबाटै देखिन्छन् भने त्यो पनि जोखिमको संकेत हो ।
यस्ता संकेत देखिएपछि पहिरो जानुअघि नै उपाय गर्न सकिन्छ । कुप्रिएर बसेको पहाड छ भने त्यसलाई पहिल्यै काटेर हटाउन सकिन्छ । धेरै टुक्रा–टुक्रा परेको चट्टान छ भने अवस्था हेरेर त्यसलाई पनि काटेर हटाउन सकिन्छ, अथवा चिराहरू सिल गर्न सकिन्छ । यसलाई ग्राउटिङ भनिन्छ, जसमा सिमेन्टको झोल चिराभित्र भरिन्छ र त्यसले चट्टानका टुक्रालाई छुट्टिन दिँदैन ।
भीर धेरै ठाडो छ तर माटो फुसफुसे खालको छ भने माटो बाक्लो नभए काटेर हटाउन सकिन्छ । बाक्लो छ भने सिमेन्टजस्ता सामग्री प्रयोग गरेर माटोलाई बलियो बनाउने उपाय अपनाइन्छ, जसलाई सोइल स्ट्रेन्थनिङ भनिन्छ । ठूला ढुंगाका ब्लक खस्न सक्ने देखिए रक बोल्टिङ गर्न सकिन्छ, अर्थात् चट्टानलाई बोल्ट कसेर थामेर राख्ने उपाय । यी सबै कुरा पहिला नै थाहा पाएर गरिए समस्याको समाधान सम्भव छ ।
प्रकोप कहाँ हुन सक्छ भनेर पत्ता लगाउने, जोखिमको स्तरीकरण गर्ने र त्यसपछि रोकथामका उपाय गर्ने, यही क्रम हो । यो कुरा अहिले समस्या देखिएका ठाउँमा मात्र होइन, जहाँजहाँ पहाड काटेर सडक वा राजमार्ग बनाइन्छ, त्यहाँ सबैतिर शुरुदेखि नै लागू गर्नुपर्छ । सडक निर्माणपछि पनि नियमित अनुगमन जारी राख्नुपर्छ, किनकि पहाडको स्थिरता एक पटक हिसाब गरेर सधैँका लागि सकिने कुरा होइन । वैज्ञानिक डिजाइन, जोखिम मूल्याङ्कन र समयमै गरिएको रोकथामले मात्र हाम्रा राजमार्गलाई सुरक्षित बनाउन सक्छ ।
(त्रिचन्द्र क्याम्पसमा सहप्राध्यापक तथा भूगर्भविद् डा. सुबोध ढकालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)