मस्तिष्कघात अर्थात् स्ट्रोक मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदा वा मस्तिष्कभित्रको रक्तनली फुटेर रक्तस्राव हुँदा हुने गम्भीर स्वास्थ्य समस्या हो । यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । तर ४०–५० वर्ष उमेर कटेका व्यक्तिमा यसको जोखिम धेरै हुन्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, जाँड–रक्सी र चुरोट खाने, मोटोपना र शारीरिक निष्क्रियता भएका व्यक्तिमा मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।
मस्तिष्कघात हुँदा मस्तिष्कको कुनै भागमा आवश्यक मात्रामा रगत र अक्सिजन पुग्न पाउँदैन । त्यसले गर्दा मस्तिष्कका कोषिका क्षतिग्रस्त हुन थाल्छन् । समयमै उपचार नपाएमा बिरामीको ज्यानसमेत जान सक्छ । उपचारबाट ज्यान जोगिए पनि शरीरका कुनै न कुनै अंगमा क्षति वा कमजोरी हुने सम्भावना धेरै रहन्छ । मस्तिष्कघातपछि कतिपय बिरामीमा पक्षघात हुने, बोलीमा समस्या आउने, स्मरणशक्ति कमजोर हुने, आँखाको ज्योति गुम्ने र दैनिक काम गर्न नसक्नेजस्ता दीर्घकालीन समस्या देखिन सक्छन् ।
त्यसैले मस्तिष्कघातलाई सामान्य स्वास्थ्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन । यसको उपचारमा बित्ने हरेक मिनेट महत्त्वपूर्ण हुन्छ । लक्षण पहिचानदेखि अस्पताल पुर्याउने र उपचार शुरू गर्ने प्रक्रियासम्म कुनै पनि अवस्थामा ढिलाइ गर्नु हुँदैन । मस्तिष्कघात भएको शंका लागेमा बिरामीलाई सकेसम्म छिटो, विशेषगरी लक्षण देखिएकाे चार घण्टाभित्र उपचार शुरू गर्न सक्ने अस्पताल पुर्याउनुपर्छ । यहाँ अस्पताल पुग्नु मात्रै पर्याप्त हुँदैन, रोग पहिचान भएर उपचारसमेत शुरू हुनु महत्त्वपूर्ण हुन्छ ।
अहिले नेपालका केही प्रमुख शहरमा मात्रै मस्तिष्कघातको समयमै पहिचान र उपचार सम्भव छ । धेरैजसो बिरामी स्ट्रोक युनिट भएका अस्पतालसम्म पुग्न पाउँदैनन् । मस्तिष्कघात भएकामध्ये एक प्रतिशत पनि स्ट्रोक युनिट भएको अस्पतालमा पुग्न पाउँदैनन् । यो हाम्रो स्वास्थ्य उपचार प्रणालीको सबैभन्दा ठूलो बिडम्बना र दुर्भाग्यपूर्ण अवस्था हो ।
नेपालमा मस्तिष्कघातको अवस्था र बढ्दो चुनौती
नेपालमा पनि मस्तिष्कघात गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । यससम्बन्धी जनचेतनाको कमी, लक्षण पहिचान गर्न नसक्नु, अस्पताल पुग्न ढिलाइ हुनु र विशेषज्ञ उपचार सेवामा सबैको पहुँच नहुनु प्रमुख चुनौती हुन् ।
पछिल्लो समय गरिएका अध्ययनले नेपालमा मस्तिष्कघातका बिरामीको सङ्ख्या बढ्दै गएको देखाएका छन् । अध्ययनहरूका अनुसार नेपालमा हरेक १० मिनेटमा एक जनालाई मस्तिष्कघात अर्थात् स्ट्रोक हुने गरेको छ । यसले यो रोग कति भयावह बन्दै गएको छ भन्ने देखाउँछ । यसले नेपालमा मस्तिष्कघातको जोखिम र उपचार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाउँछ । वीर अस्पतालमै पनि मस्तिष्कघात भएर उपचार गराइरहेका बिरामीले प्रायः ५० देखि ६० शय्या भरिएका हुन्छन् ।
विशेषगरी उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घरोग नियन्त्रणमा ध्यान नदिने, अस्वस्थ खानपान गर्ने, शारीरिक व्यायाम नगर्ने तथा जाँड–रक्सी र चुरोट खाने, लागूऔषध प्रयोग गर्ने व्यक्तिमा यसको जोखिम बढिरहेको छ । मस्तिष्कघात वृद्धवृद्धालाई मात्रै हुने रोग होइन । पछिल्लो समय कम उमेरका व्यक्तिमा पनि यो समस्या देखिन थालेको छ । त्यसैले उमेर कम छ भन्दैमा यसलाई बेवास्ता गर्नु हुँदैन ।
मस्तिष्कघातका प्रकार र उपचार
मस्तिष्कघात मुख्यतः दुई प्रकारका हुन्छन् । पहिलो, मस्तिष्कमा रगत पुर्याउने रक्तनलीमा रगतको ढिक्का जमेर रक्तसञ्चार बन्द हुने अवस्था हो । यसलाई इस्केमिक स्ट्रोक भनिन्छ । दोस्रो, मस्तिष्कभित्रको रक्तनली फुटेर रक्तस्राव हुने अवस्था हो जसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ ।
यी दुई अवस्थाको उपचार विधि फरक हुन्छ । त्यसैले बिरामीलाई कुन प्रकारको मस्तिष्कघात भएको हो भन्ने पत्ता लगाउन अस्पतालमा सीटी स्क्यान वा एमआरआई गर्नुपर्छ । तर नेपालका धेरै जिल्ला अस्पतालमा यस्ता प्रविधि र परीक्षणका आधारमा उपचार गर्न सक्ने दक्ष जनशक्ति र प्रविधिको अभाव छ । यसले गर्दा ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीले समयमै उपचार पाउन कठिन भइरहेको छ ।
मस्तिष्कघातका लक्षण कसरी चिन्ने ?
मस्तिष्कघात हुँदा अचानक शरीरको एक भाग कमजोर हुने वा नचल्ने, अनुहार बाङ्गिने, हातखुट्टा लुलो हुने, बोली अस्पष्ट हुने, बोल्न वा अरूले भनेको कुरा बुझ्न कठिन हुने, अचानक दृष्टिमा समस्या आउने र शरीरको सन्तुलन बिग्रिनेजस्ता लक्षण देखिन सक्छन् । कतिपय अवस्थामा असह्य टाउको दुख्ने, चक्कर लाग्ने र बेहोस हुने समस्या पनि देखिन्छ ।
यीमध्ये कुनै पनि लक्षण देखिएमा तत्काल अस्पताल लैजानुपर्छ । केही समयपछि आफैँ ठीक होला भनेर पर्खनु हुँदैन । कतिपय अवस्थामा मस्तिष्कघातका लक्षण केही मिनेटमै हराउन सक्छन् । तर त्यसलाई सामान्य ठान्नु हुँदैन । यस्तो अवस्थालाई क्षणिक मस्तिष्कघात भनिन्छ । यसले भविष्यमा गम्भीर मस्तिष्कघात हुन सक्ने खतराको संकेतसमेत गर्छ ।
समयमै अस्पताल पुर्याउनु नै जीवन बचाउने मुख्य उपाय
मस्तिष्कघातको उपचारमा समयको निकै ठूलो महत्त्व हुन्छ । मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध भएपछि हरेक मिनेट लाखौँ मस्तिष्क कोषिका क्षतिग्रस्त हुन सक्छन् । त्यसैले लक्षण देखिनेबित्तिकै बिरामीलाई तत्काल उपचार सुविधा भएको अस्पताल पुर्याउनुपर्छ ।
रक्तनलीमा रगतको ढिक्का जमेर भएको मस्तिष्कघातमा उपयुक्त बिरामीलाई लक्षण शुरू भएको चार घण्टाभित्र औषधिको माध्यमबाट ढिक्का घोल्ने उपचार गर्न सकिन्छ । केही बिरामीमा विशेष प्रविधिको प्रयोग गरी रक्तनलीबाट ढिक्का निकाल्ने उपचारसमेत गर्न सकिन्छ। तर कुन उपचार उपयुक्त हुन्छ भन्ने कुरा परीक्षण र चिकित्सकीय अवस्थाले निर्धारण गर्छ ।
अस्पताल पुर्याउनुअघि बिरामीलाई खाना, पानी वा औषधि जबरजस्ती खुवाउनु हुँदैन । बिरामीलाई सुरक्षित अवस्थामा राखेर सकेसम्म छिटो मस्तिष्कघातको उपचार सेवा उपलब्ध भएको अस्पताल पुर्याउनुपर्छ । उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यान जोखिममा पर्नुका साथै जीवनभर अपाङ्गता भएर बस्नुपर्ने अवस्था आउन सक्छ ।
उपचारपछि पुनर्स्थापनामा परिवारको भूमिका महत्त्वपूर्ण
मस्तिष्कघातपछि बिरामीलाई पहिलेकोजस्तै सामान्य अवस्थामा फर्काउन पनि चुनौती हुन सक्छ । कतिपय बिरामीको हातखुट्टा नचल्ने, बोल्न नसक्ने, खाना निल्न कठिन हुने र स्मरणशक्तिमा समस्या देखिने गर्छ ।
यस्तो अवस्थामा औषधि उपचारसँगै फिजियोथेरापी, बोलीसम्बन्धी उपचार र आवश्यकताअनुसार अन्य पुनर्स्थापना सेवा आवश्यक हुन्छ । बिरामीलाई नियमित अभ्यास गराउने, पौष्टिक खाना खुवाउने र मानसिक रूपमा हौसला प्रदान गर्ने काममा परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ ।
मस्तिष्कघात भएपछि जीवन समाप्त भयो भन्ने सोच राख्नु हुँदैन । समयमै उपचार र निरन्तर पुनर्स्थापनाबाट धेरै बिरामीको अवस्थामा सुधार ल्याउन सकिन्छ । त्यसैले उपचारपछि पनि बिरामीको हेरचाह र पुनर्स्थापनालाई उत्तिकै प्राथमिकता दिनुपर्छ ।
जीवनशैली सुधारे ९० प्रतिशतसम्म मस्तिष्कघात रोकथाम सम्भव
मस्तिष्कघात अचानक देखिने समस्या भए पनि यसका धेरै जोखिमका कारण नियन्त्रण गर्न सकिन्छ । जीवनशैलीमा सुधार गर्न सके मस्तिष्कघातका धेरै घटना रोक्न सकिन्छ । यसका लागि विशेषगरी उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुपर्छ । रक्तचाप र मधुमेह बढेको छ भने नियमित परीक्षण गर्ने र चिकित्सकले दिएको औषधि नियमित खानुपर्छ ।
त्यस्तै जाँड–रक्सी, चुरोट र लागूऔषध त्याग्नुपर्छ । नुन र चिल्लो पदार्थ कम खाने, सन्तुलित आहार लिने, नियमित शारीरिक व्यायाम गर्ने, तनावको व्यवस्थापन गर्ने, पर्याप्त निद्रा लिने र शरीरको तौल सन्तुलित राख्ने बानी बसाल्नुपर्छ ।
कम्तीमा दैनिक एक घण्टा पसिना आउने गरी व्यायाम गर्ने वा हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ । विशेषगरी लामो समय कुर्सीमा बसेर काम गर्ने व्यक्तिले हरेक एक घण्टामा पाँच मिनेट उठेर शरीर तन्काउने वा यताउता हिँड्ने गर्नुपर्छ । पछिल्लो समय लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने, शारीरिक गतिविधि कम गर्ने, मानसिक तनावमा रहने र अस्वस्थ जीवनशैली अपनाउने प्रवृत्तिले पनि मस्तिष्कघातको जोखिम बढाउन सक्छ ।
हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार नियमित शारीरिक गतिविधि गर्नुपर्छ । उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको नियमित परीक्षण गर्नुपर्छ । रोग लागेपछि मात्रै उपचार खोज्नेभन्दा रोग लाग्नै नदिनु महत्त्वपूर्ण हुन्छ ।
मस्तिष्कघातमा समय नै जीवन हो । त्यसैले रोग लाग्नुअघि नै जीवनशैलीमा सुधार गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जोखिमका कारक पहिचान गरी नियन्त्रणमा राख्नु र लक्षण देखिनेबित्तिकै अस्पताल पुग्नु नै यसबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपाय हुन् ।
(वीर अस्पतालका स्नायु तथा नसारोग विशेषज्ञ प्रा. डा. राजीव झासँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)