नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३
एनपीएल र अर्थतन्त्र

खेलकुद मनोरञ्जन मात्र होइन, आर्थिक गतिविधिको माध्यम पनि हो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा मात्र सीमित छैन । यसले नेपाली खेलकुदको व्यावसायिक सम्भावना, स्थानीय ब्रान्डको प्रवर्द्धन, खेल पर्यटन र डिजिटल बजार विस्तारका नयाँ ढोका खोलेको छ । विदेशी खेलाडीको सहभागिता, दर्शकको उत्साह, टिकट बिक्री र डिजिटल माध्यमबाट खेल हेर्ने बढ्दो प्रवृत्तिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अवसर सिर्जना गरेको छ । यद्यपि यसको वास्तविक आर्थिक प्रभाव बुझ्न प्रतियोगिताको लोकप्रियताभन्दा बाहिर गएर उत्पादन, रोजगारी, लगानी र आम्दानीको दीर्घकालीन चक्रलाई विश्लेषण गर्न आवश्यक छ ।

आधुनिक विश्वमा खेलकुद मनोरञ्जनमा मात्र सीमित छैन । यो व्यापार, पर्यटन, विज्ञापन, प्रसारण, डिजिटल सेवा र रोजगारीसँग जोडिएको ठूलो आर्थिक गतिविधि पनि हो । एनपीएलको पछिल्लो संस्करणले नेपाली खेलकुदलाई व्यावसायिक क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखाएको छ । प्रतियोगिताले स्वदेशी ब्रान्डलाई बजारमा स्थापित हुन सहयोग गरेको छ । खेलसँग जोडिएका प्रायोजन, विज्ञापन, टिकट बिक्री, होटल तथा रेस्टुरेन्टको कारोबार र अन्य सेवा व्यवसायले आर्थिक गतिविधि बढाउन सक्छन् ।

यसका साथै विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण र अन्तर्राष्ट्रिय पहिचान बढाएको छ । नेपाली क्रिकेटप्रति विदेशी दर्शकको चासो विस्तार गर्न सके खेल पर्यटनको सम्भावना पनि बढ्न सक्छ । तर प्रतियोगिताको लोकप्रियतालाई मात्रै आर्थिक सफलता मान्न मिल्दैन । यसबाट सिर्जना भएको आम्दानी कति हो, कति रोजगारी सिर्जना भए, स्थानीय व्यवसायले कति लाभ पाए र त्यसको कति हिस्सा देशभित्रै रह्यो भन्ने आधारमा यसको वास्तविक प्रभाव मूल्याङ्कन गर्नुपर्छ ।

डेढ अर्बको कारोबारले अर्थतन्त्रमा पार्ने प्रभाव

झन्डै ६० खर्ब रुपैयाँको अर्थतन्त्रमा एनपीएलबाट हुने अनुमानित डेढ अर्ब रुपैयाँको कारोबारलाई समग्र अर्थतन्त्रको आकारसँग तुलना गर्दा यसको प्रत्यक्ष हिस्सा सानो देखिन्छ । एक महिनाको अवधिमा हुने यस्तो कारोबारले राष्ट्रिय अर्थतन्त्रको संरचनामा तत्काल ठूलो परिवर्तन ल्याउने अपेक्षा गर्नु उचित हुँदैन । तर आर्थिक प्रभावलाई कारोबारको आकारबाट मात्र मापन गर्न पनि मिल्दैन । एनपीएलले लामो समयदेखि बजारमा पर्याप्त पहिचान बनाउन नसकेका स्वदेशी ब्रान्डलाई उपभोक्तासम्म पुग्ने अवसर दिएको छ । खेलाडी, टोली र प्रतियोगितासँग जोडिएर स्थानीय उत्पादनको प्रचार हुन सक्छ ।

यसले बजार विस्तार, उपभोक्ताको रुचि विकास र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुर्‍याउन सक्छ । यद्यपि यस्ता अवसरलाई दीर्घकालीन आर्थिक लाभमा रूपान्तरण गर्न घरेलु उत्पादन र उद्योगसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्छ ।

खेलकुद प्रतियोगितामा स्वदेशी वस्तुको प्रयोग, स्थानीय सेवा प्रदायकको सहभागिता र नेपाली उत्पादनको प्रभावकारी बजारीकरण बढाउन सकिए यसको आर्थिक लाभ अझ व्यापक हुन सक्छ । अर्थात् एनपीएलको सफलता दर्शकको सङ्ख्या वा कारोबारको रकममा मात्र होइन, यसले देशभित्र कति आर्थिक मूल्य सिर्जना गर्‍याे भन्ने कुरामा निर्भर हुन्छ ।

विदेशी खेलाडीको आकर्षण र आर्थिक प्रतिफल

विदेशी खेलाडीको सहभागिताले एनपीएललाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाएको छ । उनीहरूको अनुभव, खेल कौशल र अन्तर्राष्ट्रिय पहिचानले नेपाली क्रिकेटको स्तर उकास्न तथा दर्शकको रुचि बढाउन सहयोग गर्न सक्छ । विदेशी खेलाडीलाई पारिश्रमिक दिएर नेपालमा खेलाउनु अन्तर्राष्ट्रिय खेल बजारसँग जोडिने प्रक्रियाकै एउटा हिस्सा हो । तर उनीहरूले नेपालमा प्राप्त गरेको पारिश्रमिक लिएर फर्कँदा त्यसबाट हुने प्रत्यक्ष आर्थिक लाभको केही हिस्सा देशबाहिर जान्छ । त्यसैले विदेशी खेलाडीको उपस्थितिले मात्र दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित गर्दैन । यसको अर्थ विदेशी खेलाडीलाई भित्र्याउनु अनुपयोगी हो भन्ने होइन । उनीहरूको सहभागिताबाट प्राप्त हुने प्रचार, अन्तर्राष्ट्रिय दर्शकको ध्यान, नेपाली खेलाडीले हासिल गर्ने अनुभव र प्रतियोगिताको व्यावसायिक मूल्यलाई उपयोग गर्न सक्नुपर्छ । विदेशी खेलाडीबाट प्राप्त हुने आकर्षणलाई नेपाली खेलाडीको क्षमता विकास, घरेलु क्रिकेटको व्यावसायिक विस्तार र नेपाली ब्रान्डको अन्तर्राष्ट्रिय प्रवर्द्धनसँग जोड्न सकिए मात्रै त्यसले दीर्घकालीन प्रतिफल दिन सक्छ ।

डिजिटल बजार र खेल पर्यटनको सम्भावना

एनपीएलले परम्परागत टिकट बिक्रीको सीमाभन्दा बाहिर गएर डिजिटल बजारमा समेत अवसर सिर्जना गरेको छ । ओटीटी प्लेटफर्म तथा अन्य डिजिटल माध्यमबाट खेल हेर्ने प्रवृत्तिले दर्शकको पहुँच विस्तार गरेको छ । यसले इन्टरनेट तथा डेटा सेवाको प्रयोग बढाउनुका साथै विज्ञापन र डिजिटल प्रसारण व्यवसायका लागि पनि सम्भावना सिर्जना गरेको छ । विदेशमा रहेका नेपाली र दक्षिण एशियाली क्रिकेटप्रेमीमाझ नेपाली क्रिकेटको पहुँच विस्तार गर्न सके यसको बजार देशको सीमाभन्दा बाहिर पुग्न सक्छ ।

डिजिटल प्रसारण अधिकार, विज्ञापन, प्रायोजन र अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त हुने आम्दानीलाई व्यवस्थित गर्न सकिए खेलकुदलाई विदेशी मुद्रा आर्जनको सम्भावित माध्यमका रूपमा विकास गर्न सकिन्छ । त्यसैगरी एनपीएल हेर्न नेपाल आउने विदेशी दर्शक, खेलाडीका समर्थक र क्रिकेटसँग सम्बन्धित पर्यटकलाई लक्षित गरी पर्यटन प्याकेज विकास गर्न सकिन्छ । क्रिकेट प्रतियोगितालाई नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन गन्तव्यसँग जोड्न सके होटल, यातायात, रेस्टुरेन्ट तथा स्थानीय व्यवसायले थप लाभ लिन सक्छन् । तर यी सम्भावना आफैँ साकार हुँदैनन् । त्यसका लागि व्यवस्थित योजना, पूर्वाधार, प्रभावकारी प्रचार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ ।

रेमिट्यान्सले बढाएको तरलता, उत्पादनमा कमजोर लगानी

नेपालको समग्र अर्थतन्त्रको अर्को महत्त्वपूर्ण पक्ष रेमिट्यान्स हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकमले घरपरिवारको उपभोग, शिक्षा, स्वास्थ्य, आवास र दैनिक खर्च धान्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले देशमा विदेशी मुद्रा सञ्चिति र वित्तीय प्रणालीको तरलता कायम राख्न पनि सहयोग गरेको छ । तर रेमिट्यान्सबाट प्राप्त रकमको ठूलो हिस्सा उपभोग र आयातमा खर्च हुँदा त्यसलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्ने चुनौती कायमै छ ।

उपभोग बढ्नु अर्थतन्त्रका लागि पूर्णरूपमा नकारात्मक होइन, किनकि यसले बजारको माग र व्यावसायिक गतिविधि बढाउँछ । समस्या त्यति बेला उत्पन्न हुन्छ जब बढ्दो माग धान्ने स्वदेशी उत्पादन विस्तार हुन सक्दैन र अर्थतन्त्र आयातमा थप निर्भर हुँदै जान्छ । रेमिट्यान्सले अल्पकालीन आर्थिक स्थिरतामा सहयोग पुर्‍याउन सक्छ । तर दीर्घकालीन आर्थिक आत्मनिर्भरता हासिल गर्न उत्पादन, उत्पादकत्व, उद्योग र रोजगारी विस्तार आवश्यक हुन्छ ।

रेमिट्यान्सबाट आएको रकमलाई कृषि, पर्यटन, ऊर्जा, साना तथा मझौला उद्योग, प्रविधि र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सकिए यसले अर्थतन्त्रको आधार बलियो बनाउन सक्छ । यसका लागि लगानीको सुरक्षित वातावरण, स्पष्ट नीति र उचित प्रतिफलको सम्भावना सुनिश्चित गर्नुपर्छ ।

युवा पलायन र स्वदेशमै अवसर सिर्जना गर्ने चुनौती

नेपालको आर्थिक विकाससँग जोडिएको अर्को गम्भीर विषय युवा पलायन हो । रोजगारीको सीमित अवसर, सीपमूलक शिक्षाको अभाव, श्रमको उचित मूल्य नपाइनु र स्वदेशमै भविष्य सुरक्षित हुने विश्वास कमजोर हुनुजस्ता कारणले धेरै युवा विदेशिन बाध्य छन् । नेपालजस्तो युवा जनशक्ति भएको देशका लागि यो अवस्था चिन्ताको विषय हो । युवा जनशक्ति देशबाहिर जाँदा तत्काल रेमिट्यान्स प्राप्त भए पनि देशभित्र आवश्यक सीप, श्रम र उद्यमशीलताको विकासमा चुनौती उत्पन्न हुन सक्छ । समस्या युवाहरू विदेश जानु मात्र समस्या होइन, उनीहरूलाई स्वदेशमै बस्न, काम गर्न र उद्यम सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्न नसक्नु पनि हो ।

शिक्षालाई श्रम बजारको आवश्यकतासँग जोड्ने, प्राविधिक तथा व्यावसायिक तालिम विस्तार गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमा रोजगारीका अवसर बढाउने काम आवश्यक छ । युवालाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी उत्पादन र नवप्रवर्तन गर्ने उद्यमीका रूपमा विकास गर्न सक्नुपर्छ । त्यसका लागि सहुलियतपूर्ण वित्तीय पहुँच, बजारको सुनिश्चितता र प्रशासनिक प्रक्रियामा सहजता आवश्यक हुन्छ ।

राज्यको नीति उत्पादनमैत्री हुनुपर्छ

अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउन राज्यको भूमिका निर्णायक हुन्छ । आयातबाट राजस्व प्राप्त गर्ने र उपभोगमा आधारित आर्थिक गतिविधिमा मात्र निर्भर रहने प्रवृत्तिबाट बाहिर निस्कनुपर्छ । आन्तरिक उत्पादन बढाउने, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउने र निजी क्षेत्रको लगानी विस्तार गर्ने नीतिलाई प्राथमिकता दिनुपर्छ । विशेषगरी साना तथा मझौला उद्योगले सामना गर्ने करसम्बन्धी जटिलता, प्रशासनिक ढिलासुस्ती, वित्तीय पहुँचको अभाव र बजारसम्बन्धी समस्यालाई सम्बोधन गर्न आवश्यक छ । उद्योग स्थापना र सञ्चालनका प्रक्रियालाई सरल, पारदर्शी र अनुमानयोग्य बनाउन सके लगानीकर्ताको विश्वास बढ्न सक्छ । यसका साथै शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा र सञ्चारजस्ता पूर्वाधारमा लगानी बढाउनुपर्छ ।

प्राकृतिक विपद् र जलवायु परिवर्तनले कृषि उत्पादन, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा पुर्‍याउने क्षति न्यूनीकरण गर्न दीर्घकालीन योजना आवश्यक छ । उत्पादन र आपूर्ति प्रणालीलाई विपद्प्रति उत्थानशील बनाउन सकिए आर्थिक गतिविधिमा हुने अवरोध कम गर्न सकिन्छ । खेलकुद क्षेत्रलाई पनि यही उत्पादनमुखी सोचसँग जोड्नुपर्छ । खेलकुद पूर्वाधार निर्माण, खेल सामग्री उत्पादन, प्रशिक्षक विकास, खेल पर्यटन र प्रसारण प्रविधिमा लगानी विस्तार गर्न सके यसले छुट्टै आर्थिक क्षेत्रको रूप लिन सक्छ ।

निष्कर्ष : लोकप्रियतालाई आर्थिक रूपान्तरणमा बदल्नुपर्छ

एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने र खेलकुदलाई व्यावसायिक क्षेत्रका रूपमा विकास गर्ने सम्भावना देखाएको छ । यसले मनोरञ्जन, पर्यटन, डिजिटल बजार, रोजगारी र स्वदेशी ब्रान्डको प्रवर्द्धनमा सकारात्मक योगदान दिन सक्छ । तर कुनै एउटा प्रतियोगिताको लोकप्रियताले मात्र नेपालको अर्थतन्त्रको संरचनात्मक समस्या समाधान गर्न सक्दैन । एनपीएलजस्ता गतिविधिबाट प्राप्त अवसरलाई दीर्घकालीन आर्थिक उपलब्धिमा रूपान्तरण गर्न आवश्यक छ । त्यसका लागि खेलकुदलाई आन्तरिक उत्पादन, उद्यमशीलता, प्रविधि, पर्यटन र रोजगारीसँग जोड्नुपर्छ ।

अन्ततः नेपालको अर्थतन्त्र बलियो बनाउने आधार उपभोगको विस्तार मात्र होइन, उत्पादन र उत्पादकत्वको वृद्धि हो । रेमिट्यान्सलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्ने, युवालाई स्वदेशमै अवसर दिने, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र राज्यका नीतिलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गर्ने काम आवश्यक छ । एनपीएलले सम्भावनाको ढोका खोलेको छ । अब चुनौती भनेको त्यो सम्भावनालाई क्षणिक उत्साहमा सीमित नराखी देशको उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नु हो ।

(युवा अर्थशास्त्री निशान्त खनालसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विचार