दशैँमा छाकैपिच्छे मासु खाने तर सागसब्जी, फलफूल र अन्य रेसायुक्त खानेकुरा कम खाने बानीले कब्जियतलगायतका पाचनसम्बन्धी समस्या बढ्ने गरेको छ । चाडपर्वमा खानपानमा सन्तुलन नमिलाउँदा पेटसम्बन्धी समस्या बढ्नुका साथै दीर्घरोग भएका व्यक्तिको स्वास्थ्यमा थप जटिलता आउन सक्ने भएकाले सावधानी अपनाउन जरुरी छ ।
दशैँमा मासुसँगै सागसब्जीलाई पनि प्राथमिकता दिनुपर्छ । शरीरलाई प्रोटिन मात्रै होइन, फाइबर, भिटामिन, खनिज पदार्थ र पर्याप्त पानी पनि आवश्यक पर्छ । त्यसैले मासु खाँदा सागसब्जी, फलफूल र अन्य सन्तुलित खानेकुरालाई पनि भोजनमा समावेश गर्नुपर्छ ।
दशैँमा अत्यधिक मासु, चिल्लो परिकार, मिठाई र जाँडरक्सी खाने तथा पेट भरिएपछि पनि कोचेर खाने बानीले स्वास्थ्यमा असर पार्न सक्छ । यस्तो खानपानले अपच र कब्जियतजस्ता समस्या निम्त्याउन सक्छ । साथै, पहिलेदेखि मधुमेह, उच्च रक्तचाप, मुटुरोग, उच्च कोलेस्ट्रोल वा युरिक एसिडसम्बन्धी समस्या भएका व्यक्तिले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
बजारमा सागसब्जी महँगो भए पनि घर आँगन वरपर पाइने सिस्नो, लट्टे, कर्कलो र सिमसागजस्ता स्थानीय खानेकुरालाई भोजनमा समावेश गर्न सकिन्छ । यस्ता खानेकुराले भोजनलाई सन्तुलित बनाउन र शरीरलाई आवश्यक पोषक तत्त्व प्राप्त गर्न मद्दत गर्छन् ।
स्वस्थ रहनका लागि दशैँमा मात्रै नभई दैनिक जीवनमै खानपानको मात्रा र गुणस्तरमा ध्यान दिन आवश्यक छ । दाल, गेडागुडी, हरियो सागसब्जी, फलफूल र सलाद नियमित खानाले शरीरलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै फाइबरको मात्रा बढाउन मद्दत गर्छ ।
त्यस्तै, मिठाई, सेलरोटी, चिल्लो र नुनिलो परिकार आवश्यकताभन्दा बढी नखाने, पर्याप्त पानी पिउने, खाना बिस्तारै खाने र पेट भरिनुअघि नै दुई गाँस कम खाने बानी बसाल्नुपर्छ । बिहानको खाना नछोड्ने र अघिल्लो छाकमा धेरै खाएको भन्दै अर्को छाकमा भोकै नबस्ने कुरामा पनि ध्यान दिनुपर्छ ।
जाँडरक्सी सकेसम्म खाँदै नखानु स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित विकल्प हो । पर्याप्त निद्रा, नियमित हिँडडुल र शारीरिक सक्रियतालाई पनि चाडपर्वको दिनचर्यामा निरन्तरता दिनुपर्छ।
विशेष गरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोग भएका व्यक्तिको खानपान र स्वास्थ्य सुरक्षामा थप ध्यान दिन आवश्यक छ । मधुमेह वा उच्च रक्तचाप भएका व्यक्तिले चाडपर्वका कारण नियमित औषधि र चिकित्सकले दिएको खानपानसम्बन्धी निर्देशन छोड्नु हुँदैन।
स्वास्थ्यकर खाना खाने, आवश्यकताभन्दा बढी नखाने, सागसब्जी र फलफूललाई प्राथमिकता दिने, जाँडरक्सीबाट टाढा रहने, पर्याप्त सुत्ने र सक्रिय जीवनशैली अपनाउने हो भने दशैँलाई रमाइलो बनाउनुका साथै स्वास्थ्यको पनि रक्षा गर्न सकिन्छ ।
दशैँको खुसी खानपानमा मात्रै सीमित नराखी परिवारसँग रमाउने, हिँडडुल गर्ने र स्वस्थ जीवनशैली अपनाउने अवसरका रूपमा लिनुपर्छ । मासु र मिठाई खाँदा सागसब्जी, सन्तुलित भोजन, सरसफाइ र शारीरिक सक्रियतालाई बिर्सन हुँदैन ।
(जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित )