नेभिगेशन
बुधबार, असोज २१, २०८३

ज्येष्ठ नागरिकलाई परिवारले मात्र सम्हाल्नुपर्ने अवस्था दीर्घकालीन समाधान होइन

उमेर बढ्दै जाँदा मानिसको शरीरमा मात्रै परिवर्तन आउँदैन, मानसिक अवस्थामा पनि विभिन्न परिवर्तन देखिन थाल्छन् । ज्येष्ठ नागरिकमा उमेरसँगै देखापर्ने स्वास्थ्य समस्यामध्ये अल्जाइमर पनि एक हो । सामान्यतया यसलाई बिर्सने रोगका रूपमा बुझ्ने गरिए पनि अल्जाइमर मानसिक रोग मात्र होइन, मुख्यतः मस्तिष्कसँग सम्बन्धित रोग हो । यसलाई बिस्मृति रोग पनि भनिन्छ ।

अल्जाइमरले मस्तिष्कमा असर गर्छ भने मानसिक रोग मूलतः मनसँग सम्बन्धित हुन्छ । यद्यपि अल्जाइमरको अवस्था जटिल हुँदै गएपछि मानसिक तथा व्यवहारगत समस्या पनि देखिन सक्छ । यही कारणले कतिपयले अल्जाइमरलाई मानसिक रोगसँग जोडेर हेर्ने गरेका छन् ।

अल्जाइमरको शुरुआतका लक्षणमध्ये सबैभन्दा प्रमुख लक्षण स्मरणशक्तिमा आउने समस्या हो । भर्खरै भएका वा भनेका कुरा बिर्सने, एउटै कुरा पटक–पटक दोहोर्‍याउने, बोल्दा शब्द खोज्न समस्या हुने, व्यवहारमा परिवर्तन आउने तथा आफूले राखेको सामान कहाँ राखियो भनेर थाहा नपाउने जस्ता लक्षण शुरुमा देखिन सक्छन् ।

यस्ता लक्षणलाई सामान्य बुढ्यौलीको असर भनेर बेवास्ता गर्नु हुँदैन । रोग बढ्दै जाँदा समस्या पनि जटिल हुँदै जान्छ । खाना खान बिर्सने, खाइसकेको कुरा पनि बिर्सने, दिसापिसाब आएको थाहा नहुने, कपडा लगाएको वा नलगाएकोसमेत थाहा नहुने र जे पायो त्यही बोल्नेजस्ता अवस्था आउन सक्छन् । रोग गम्भीर बन्दै जाँदा मनोवैज्ञानिक तथा व्यवहारगत समस्या पनि थपिँदै जान्छ ।

डिमेन्सिया र अल्जाइमर एउटै होइन
डिमेन्सिया र अल्जाइमरलाई एउटै रोग ठान्ने भ्रम पनि धेरैमा छ । वास्तवमा अल्जाइमर डिमेन्सियाको प्रमुख प्रकारमध्ये एक हो । यसलाई बुझ्न सजिलो उदाहरण फलफूलको लिन सकिन्छ । फलफूललाई डिमेन्सिया मान्ने हो भने स्याउ, अनार वा केरालाई अल्जाइमरका रूपमा बुझ्न सकिन्छ । डिमेन्सियाका विभिन्न प्रकार हुन्छन् र तीमध्ये अल्जाइमर प्रमुख प्रकार हो । डिमेन्सियाका करिब ६० देखि ७० प्रतिशतसम्म अवस्था अल्जाइमरका कारण हुने भएकाले यी दुईलाई एउटै रोगका रूपमा बुझ्ने गरिएको हो । तर चिकित्सकीय रूपमा डिमेन्सिया र अल्जाइमर एउटै होइनन् ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको यस्ता समस्या समयमै पहिचान गर्नु हो । डिमेन्सिया वा अल्जाइमरलाई सुरुआती अवस्थामै पहिचान गर्न सकेमा यसको प्रगतिलाई नियन्त्रणमा राख्न सकिन्छ । तर हाम्रो समस्या के छ भने अधिकांश ज्येष्ठ नागरिक उपचारका लागि धेरै ढिलो अस्पताल पुग्छन् । 

कतिपय परिवारले ज्येष्ठ नागरिकको बिर्सने समस्यालाई उमेरको स्वाभाविक असरका रूपमा लिन्छन् । कतिपयले उपचार गरे पनि निको हुँदैन भन्ने ठान्छन् । परिवारको बेवास्ता, कम प्राथमिकता वा रोगबारे पर्याप्त जानकारी नहुनुका कारण पनि उपचारमा ढिलाइ हुने गरेको देखिन्छ ।

हेरचाहको जिम्मेवारी परिवारको मात्र होइन
अल्जाइमर भएका ज्येष्ठ नागरिकको हेरचाहलाई परिवारको निजी जिम्मेवारीका रूपमा मात्र हेरेर अब पुग्दैन । रोग जटिल हुँदै जाँदा निरन्तर स्याहार, सुरक्षा र साथ आवश्यक पर्छ । त्यसैले परिवारसँगै राज्य र पालिकाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
पालिका र वडास्तरमै दिवा हेरचाह केन्द्र तथा दीर्घकालीन स्याहार र पुनःस्थापना केन्द्र स्थापना गर्न आवश्यक भइसकेको छ । ज्येष्ठ नागरिकलाई भ्रमण गराउने, सम्मान गर्ने र औपचारिक कार्यक्रम आयोजना गर्ने काममा मात्र सीमित हुनु हुँदैन ।

हामीकहाँ ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ । अझ धेरै मानिस लामो समयसम्म बाँचिरहेका छन् ।  यो आफैँमा सकारात्मक कुरा हो । तर लामो आयुसँगै आउने स्वास्थ्य समस्या र स्याहारको आवश्यकतालाई पनि राज्यले त्यहीअनुसार सम्बोधन गर्नुपर्छ ।
अब प्रश्न केवल ‘ज्येष्ठ नागरिक कति छन् ?’ भन्ने मात्र होइन, ‘उनीहरूलाई स्वस्थ, सम्मानित र सुरक्षित जीवन कसरी दिने ?’ भन्ने पनि हो । अल्जाइमर र डिमेन्सियाजस्ता समस्यासँग बाँचिरहेका ज्येष्ठ नागरिकलाई परिवारले मात्र सम्हाल्नुपर्ने अवस्था दीर्घकालीन समाधान होइन ।

कस्तो प्रकारको स्याहार केन्द्र आवश्यक छ ? त्यहाँ कस्ता सेवा उपलब्ध गराउने ? परिवारलाई कसरी सहयोग गर्ने ? अल्जाइमर तथा डिमेन्सियाबारे समुदायमा कसरी सचेतना फैलाउने ?  यस्ता विषयमा पालिकादेखि सङ्घीय सरकारसम्मले अहिले नै योजना बनाउन आवश्यक छ ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्नु भनेको उनीहरूलाई एक दिन माला लगाइदिनु वा कार्यक्रममा बोलाएर सम्मान गर्नु मात्र होइन । उनीहरूको स्वास्थ्य, उपचार, सुरक्षा, मानसिक अवस्था र दैनिक जीवनमा आवश्यक पर्ने स्याहारको सुनिश्चितता गर्नु पनि उत्तिकै महत्वपूर्ण हो ।त्यसैले अब ज्येष्ठ नागरिकसम्बन्धी राज्यको सेवा प्रणालीमै पुनर्विचार र सुधार आवश्यक छ । 

अल्जाइमरलाई केवल बिर्सने रोगका रूपमा बुझ्ने होइन, यसले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभावलाई समेत बुझ्नुपर्छ । समयमै पहिचान, उपचार, पारिवारिक साथ र राज्यको व्यवस्थित स्याहार प्रणाली बनाउन सकियो भने अल्जाइमर तथा डिमेन्सियासँग बाँचिरहेका ज्येष्ठ नागरिकको जीवनलाई अझ सहज, सुरक्षित र सम्मानित बनाउन सकिन्छ ।

सरकारी सुविधाको उपयोग
ज्येष्ठ नागरिकका लागि सरकारले विभिन्न सेवा–सुविधा उपलब्ध गराएको छ । ज्येष्ठ नागरिक भत्ता लिनेको संख्या ठूलो भए पनि सरकारले उपलब्ध गराएको स्वास्थ्यसम्बन्धी सुविधा भने सबैले उपयोग गर्न सकेका छैनन् ।

सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । बीमा गरेका ज्येष्ठ नागरिकले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने र २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ । तर यस्तो सुविधा हुँदाहुँदै पनि धेरै ज्येष्ठ नागरिक उपचारका लागि ढिलो अस्पताल आउने गरेका छन् ।

वीर अस्पतालमा आउने ज्येष्ठ नागरिकलाई समेत बीमा किन नगरेको भनेर सोध्नुपर्ने अवस्था छ । यसमा ज्येष्ठ नागरिकभन्दा पनि परिवारका सदस्य बढी सचेत हुन आवश्यक छ । कम्तीमा सरकारले उपलब्ध गराएको निःशुल्क स्वास्थ्य बीमा गरिदिए उनीहरूले नियमित रूपमा सेवन गर्नुपर्ने औषधिसमेत स्वास्थ्य सेवामार्फत प्राप्त गर्न सक्ने अवस्था बन्न सक्छ ।

आर्थिक अभावकै कारण ज्येष्ठ नागरिक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था हुनु हुँदैन । सरकारले दिने भत्ता लिनु मात्रै पर्याप्त छैन । सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा र अन्य सुविधाको उपयोग गर्न पनि नागरिक सचेत हुन आवश्यक छ ।

(वीर अस्पतालका ज्येष्ठ नागरिक रोग तथा डिमेन्सिया विशेषज्ञ डा. अनन्त अर्यालसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित मिति:
थप विचार