नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

किशोरकिशोरीको मन बुझाैँ, मानसिक समस्या बढ्नुअघि नै सचेत बनौँ

किशोरावस्था बाल्यकालबाट वयस्क जीवनमा प्रवेश गर्ने संवेदनशील र महत्त्वपूर्ण चरण हो । यो उमेरमा शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा तीव्र परिवर्तन हुन्छन् । आफ्नो पहिचान बनाउने, स्वतन्त्र बन्ने, नयाँ कुरा सिक्ने र भविष्यबारे सोच्ने समय पनि यही हो । तर यही उमेरमा हुने शारीरिक परिवर्तनसँगै पारिवारिक, सामाजिक र शैक्षिक दबावले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ ।

पछिल्लो समय किशोरकिशोरीमा तनाव, चिन्ता, निराशा, डिप्रेसन, एक्लोपन, आत्मविश्वासको कमी तथा व्यवहारमा परिवर्तनजस्ता समस्या देखिने गरेका छन् । यी समस्याको समयमा पहिचान नहुँदा र यसको सम्बोधन हुन नसकेर यो उमेर समूहकाले आत्महत्या गर्ने क्रम पनि बढ्दैछ । १५ देखि १९ वर्ष उमेर समूहका किशोराअवस्थामा आत्महत्या हुने गरेकोमा पछिल्लो समयमा १० वर्षकाले पनि आत्महत्या गर्न थालेका छन् । अझ चिन्ताजनक पक्ष के छ भने मानसिक तथा मनोसामाजिक समस्या अनुभव गरिरहेका धेरै किशोरकिशोरीले आफ्नो मनको कुरा अभिभावक, शिक्षक वा परिवारका अन्य सदस्यसँग खुलेर भन्न सकिरहेका हुँदैनन् ।

किशोरावस्थामा मानसिक समस्या देखिनुका पछाडि विभिन्न कारण हुन्छन् । यो उमेरमा हुने शारीरिक तथा हर्मोनजन्य परिवर्तन, आफ्नो पहिचान र अस्तित्वप्रतिको अन्योल, साथीभाइको प्रभाव, पढाइको दबाव, प्रतिस्पर्धा र भविष्यप्रतिको चिन्ताले मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । त्यसैगरी अभिभावकको अत्यधिक अपेक्षा, पारिवारिक कलह, घरेलु हिंसा, साथीभाइबाट हुने दुर्व्यवहार र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले पनि समस्या बढाइरहेको छ । अझ हामी अभिभावक र घरपरिवारले उनीहरूको हरेक माग पूरा गरिदिने वा अझ माग्नुअघि नै धेरैथोक उपलब्ध गराउने बानीले पनि उनीहरूले सानो केही नपाउँदा पनि त्यसको ठूलै अभाव महसुस गर्ने र प्रतिक्षा गर्ने धैर्यतामा कमी आउन थालेको छ । यसले समस्या मात्र बढाइरहेको छैन, तत्काल माग पूरा नहुँदा आफूलाई नै हानि गर्ने वा सोच बढिरहेको छ । अहिलेको तथ्याङ्क हेर्ने हो भने हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेका  छन्  ।

विशेषगरी सामाजिक सञ्जालमा अरूको जीवन, रूपरङ्ग, आर्थिक अवस्था र सफलतासँग आफ्नो तुलना गर्ने प्रवृत्तिले किशोरकिशोरीमा हीनभावना र आत्मविश्वासको कमी निम्त्याउन सक्छ । अरूले आफूलाई कस्तो देख्छन्, कति मन पराउँछन् र आफ्नो सामाजिक छवि कस्तो छ भन्ने कुरामा अत्यधिक चिन्ता गर्ने प्रवृत्ति पनि बढ्न सक्छ । कतिपय अवस्थामा साइबर बुलिङ र अनलाइन दुर्व्यवहारले उनीहरूलाई मानसिक रूपमा थप कमजोर बनाउने गरेका छन् ।

किशोरावस्थामा देखिने मानसिक समस्यालाई समयमै पहिचान गर्न नसक्दा त्यसले उनीहरूको पढाइ, व्यवहार, पारिवारिक सम्बन्ध र सामाजिक जीवनमा असर पार्दैछ । डिप्रेसन, एन्जाइटी, अत्यधिक तनाव, निद्रा तथा खानपानसम्बन्धी समस्या, लागूपदार्थको प्रयोग र आत्महानिको जोखिम यस उमेरमा देखिन सक्ने प्रमुख समस्या हुन् ।

मानसिक समस्या भएका किशोरकिशोरीमा एक्लै बस्न खोज्ने, परिवार र साथीभाइसँग कम बोल्ने, सानो कुरामा रिसाउने, पढाइमा ध्यान दिन नसक्ने, निद्रा र खानपानमा परिवर्तन आउने तथा आफूलाई कमजोर र असफल ठान्ने जस्ता लक्षण देखिन सक्छन् । यसलाई अभिभावक र शिक्षकले सूक्ष्म रूपमा ध्यान दिनुपर्छ । यस्ता लक्षण देखिँदैमा मानसिक रोग लागेको निश्चित हुँदैन तर सर्तक भने हुनु जरुरी छ । व्यवहारमा आएको परिवर्तनलाई बुझेर आवश्यक परे मनोपरामर्शदाता, मनोचिकित्सक विशेषज्ञ वा ११६६ मा सम्पर्क गरेर मनका कुरा खुलेर परामर्श लिनु महत्त्वपूर्ण हुन्छ ।

किशोरकिशोरीको मानसिक स्वास्थ्य संरक्षणमा अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यो उमेरमा उनीहरूलाई नियन्त्रण र दबावभन्दा धेरै विश्वास, माया, साथ र बुझाइको आवश्यकता हुन्छ । अभिभावकले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्ने, उनीहरूको भावना र समस्या सुन्ने गर्नुपर्छ । साथै सानै उमेरदेखि उनीहरूलाई मोबाइलको सट्टामा केही न केही काम गर्न लगाउनुपर्छ । आफूले नजानेको झै गरि यो काम गरिदेऊ न भनेर उनीहरूलाई काम गर्न प्रेरित गर्नुपर्छ । काम गर्ने हौसला दिनुका साथै आफ्नो कुरा निर्धक्क राख्न सक्ने वातावरण बनाउनुपर्छ । मनका कुरा खुलेर राख्ने वातावरण पनि दिनुपर्छ ।

कतिपय अभिभावकले छोराछोरीको पढाइ र नतिजालाई मात्र प्राथमिकता दिने गर्छन् । अरूसँग तुलना गर्ने, कमजोर नतिजा ल्याउँदा गाली गर्ने र आफ्नो इच्छा जबरजस्ती लाद्ने व्यवहारले बालबालिकामा तनाव र निराशा बढाउन सक्छ । त्यसैले उनीहरूको क्षमता, रुचि र भावनालाई बुझेर प्रोत्साहन गर्नुपर्छ । समस्या सुनाउँदा गाली गर्ने वा तुरुन्तै निर्णय सुनाउनेभन्दा धैर्यपूर्वक सुन्ने र समाधान खोज्न सहयोग गर्ने बानी अभिभावक र शिक्षक दुवैमा जरुरी छ ।

विद्यालयको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । विद्यार्थीले दिनको धेरैजसो समय विद्यालयमा बिताउने भएकाले उनीहरूको व्यवहार, भावना र सामाजिक सम्बन्धमा आएको परिवर्तन शिक्षकले नजिकबाट बुझ्न सक्छन् । विद्यालयमा पढाइ र परीक्षाको नतिजालाई मात्र प्राथमिकता नदिई विद्यार्थीको मानसिक स्वास्थ्यलाई पनि महत्त्व दिनुपर्छ ।

विद्यालयमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, शिक्षकलाई मानसिक स्वास्थ्यका प्रारम्भिक लक्षण पहिचान गर्ने तालिम दिने, विद्यार्थीमाथि हुने दुर्व्यवहार र विभेद रोक्ने तथा खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने व्यवस्था गर्नुपर्छ । विद्यार्थीले आफ्नो समस्या खुलेर राख्न सक्ने सुरक्षित र सहयोगी वातावरण निर्माण गर्नु आवश्यक छ । यसका लागि विद्यालय नर्सबाट उनीहरूका मनोसामाजिक समस्या बुझ्न र समाधानका लागि पहल गर्नुपर्छ ।

किशोरकिशोरी आफैँले पनि मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ ।  नियमित निद्रा, सन्तुलित खानपान, व्यायाम, खेलकुद र सिर्जनात्मक गतिविधिले मानसिक स्वास्थ्य राम्रो राख्न सहयोग गर्ने भएकाले यसमा विशेष जोड दिनुपर्छ  । मोबाइल र सामाजिक सञ्जालको प्रयोग कम गर्नुपर्छ । अरूसँग अनावश्यक तुलना नगर्ने र मनमा समस्या वा तनाव भए विश्वासिलो व्यक्तिसँग खुलेर कुरा गर्ने बानी विकास गर्नुपर्छ। साथीभाइको दबावमा परेर धूमपान, जाँड–रक्सी तथा अन्य लागूपदार्थको प्रयोग गर्नु हुँदैन ।

मानसिक समस्या देखिएमा लुकाउने वा बेवास्ता गर्नेभन्दा समयमै मनोपरामर्शदाता, मनोविद् वा मनोचिकित्सकको सहयोग लिनुपर्छ । विशेषगरी आत्महानि वा आत्महत्याको सोच व्यक्त गर्ने किशोरकिशोरीलाई गम्भीरतापूर्वक लिनुपर्छ । उनीहरूलाई दोष दिने वा गाली गर्ने नभई  सुरक्षित राख्ने, साथ दिने र तत्काल विशेषज्ञको सहयोग उपलब्ध गराउने गर्नुपर्छ ।

किशोरावस्था जीवनको संवेदनशील चरण भएकाले यस उमेरमा देखिने मानसिक समस्यालाई व्यक्तिगत कमजोरीका रूपमा बुझ्नु हुँदैन । परिवार, विद्यालय, समुदाय र राज्य सबैले मिलेर किशोरकिशोरीका लागि सुरक्षित, सहयोगी र सकारात्मक वातावरण निर्माण गर्नुपर्छ । मानसिक स्वास्थ्यसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै प्रदान गर्ने, परामर्श सेवाको पहुँच विस्तार गर्ने र समस्याबारे खुलेर कुरा गर्न सक्ने सामाजिक वातावरण बनाउनु आवश्यक छ ।

किशोरकिशोरीको मन बुझ्नु, उनीहरूको कुरा सुन्नु र समयमै साथ दिनु नै मानसिक स्वास्थ्य समस्या न्यूनीकरणको पहिलो आधार हो । उनीहरूलाई डर, दबाव र नियन्त्रण नभई विश्वास, माया र सही मार्गदर्शन दिन सकियो भने धेरै मानसिक समस्या गम्भीर हुनुअघि नै पहिचान र समाधान गर्न सकिन्छ ।

(ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टकी सचिव तथा मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति:
थप विचार