भाउ घटेको बेला किन्ने र बढेको बेला पर्खने सामान्य बजार व्यवहारलाई धनतेरसले उल्टाइदिएको छ । दशैँपछि घटेको सुनचाँदीको मूल्य तिहारको बेला बढेको छ ।
बुधवार मूल्य कम भएकाले बजारमा त्यसै पनि राम्रो चहलपहल थियो। शुक्रबार मूल्य एकाएक बढे पनि धनतेरस र तिहारमा मानिसले सुनचाँदीलाई शुभसगुनका रूपमा लिने भएकाले त्यसले बजारमा तात्त्विक प्रभाव पारेन। विशेषगरी गहनाभन्दा सिक्का र भाँडालगायतका सामान सगुनका रूपमा किनिन्छन्। त्यसैले भाउ बढेको असर बिक्रीमा खासै पर्दैन ।
अरू दिनको तुलनामा धनतेरसका बेला बजारमा बिहानदेखि बेलुकीसम्म ग्राहकको भीड लाग्छ। विगतका वर्षहरूमा हेर्दा पनि ग्राहकले कुनै न कुनै रूपमा सुनचाँदीका सामान किन्ने गरेका छन्। अहिले अन्तर्राष्ट्रिय बजारमा भाउ बढिरहेको भए पनि उनीहरू त्यसलाई वास्ता नगरी धनतेरसका सामान किन्न आइरहेका छन्।
भाउ घट्ने र बढ्ने दुवैमा अमेरिकी नीति र अमेरिकामा हुने राजनीतिक घटनाक्रमको ठूलो भूमिका हुन्छ। त्यसबाहेक भूराजनीतिक तनाव र डलरको उतारचढावले पनि सुनचाँदीको भाउमा असर पार्छ। हालै अमेरिकामा सम्पन्न चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीले नराम्रो हार बेहोरेपछि लगानीकर्ता सुनचाँदीतर्फ आकर्षित भएका छन् । नेपालमा बिहान एकपटक मात्र भाउ तोकिने हुनाले अन्तर्राष्ट्रिय बजारमा एकदिनअघि दिउँसोदेखि शुरु भएको भाउ वृद्धिको असर हिजो बिहान बजार खुल्नासाथ एकैपटक देखिएको हो ।
एकपटक प्रतितोला तीन लाख ४० हजार रुपैयाँसम्म पुगेको सुन त्यसपछि घट्दै गयो। दशैँ सकिने बेला बजारमा झण्डै दुई लाख ९० हजारमा बन्द भयो । त्यसपछि भाउ अप्रत्याशित रूपमा घट्यो त्यति घट्ला भन्ने अपेक्षा थिएन । भाउ घट्दा अझै घट्छ र बढ्दा तीन, चार, पाँच लाखसम्म पुग्छ भन्ने किसिमका अनुमान कतिपयले गरे, तर त्यो वास्तविकतासँग मिलेन । भाउ अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न गतिविधिले निर्धारण गर्छ । तर लामो इतिहास हेर्दा बीचबीचमा तलमाथि भए पनि सुनचाँदीको भाउ निरन्तर उकालो नै लागेको छ।
भाउ बढे पनि ग्राहकको क्रयशक्तिमा खासै असर नपर्नुको कारण पनि यही उतारचढाव हो। दशैँ सकिँदा भाउ दुई लाख ९० हजारमा बन्द भएकाले मानिसको मानसिकता तीन लाखको हाराहारीमा सुनको भाउ रहने गरी तयार भइसकेको हुन्छ। बीचमा भाउ घटे पनि अहिले फेरि बढेर तीन लाखको हाराहारीमै पुगेकाले ग्राहकले यसलाई अन्यथा लिएनन्। धेरैले त्यही भाउमै कारोबार शुरु गरिसकेका छन्।
ग्राहकमा अहिले चाँदीको माग नै सबैभन्दा बढी छ। धनतेरसमा हात्ती, माछा, गाई, गोरु र उल्लू जस्ता जनावरका चाँदीका आकृति, चाँदीका सिक्का, प्लेट र करवा सबैभन्दा बढी बिक्री हुन्छन्। लक्ष्मी, गणेश र कुबेरका मूर्ति पनि यही बेला चल्छ। सुनतर्फ भने सानातिना सिक्का र असर्फी मात्र बिक्री हुन्छन्। राष्ट्र बैंकले पनि यही अवसरमा सिक्का बिक्रीमा ल्याउने सूचना निकालेको हो । यो बेला सुनका गहना खासै बिक्री हुँदैनन्, चाँदीका भाँडाकुँडा, सिक्का र लक्ष्मीपूजामा प्रयोग हुने सामग्री नै बढी जान्छन्।
आइतवारसम्म अर्थात् लक्ष्मीपूजासम्म, सुनको भाउ सामान्य बढ्छ । एकैपटक धेरै बढिसकेकाले अब फेरि १४–१५ हजार जस्तो ठूलो सम्भावना कम भएको र दुईदेखि पाँच हजार रुपैयाँसम्म थपघट हुन सक्छ । अन्तर्राष्ट्रिय बजारमा पनि अहिले दुई–तीन हजारको हाराहारीमा बढिरहेको छ ।
शुभसगुनका लागि किन्नेले पर्खनु पर्दैन। यो सांस्कृतिक चाडपर्व भएकाले घरमा सुखसमृद्धि होस् भनेर सुनचाँदी किन्ने परम्परा हो, त्यसका लागि भाउको चिन्ता नगरी किन्न जानुपर्छ। तर लगानीको उद्देश्यले ठूलो परिमाणमा किन्ने हो भने केही समय पर्खेर अन्तर्राष्ट्रिय बजारको अवस्था विश्लेषण गरेपछि मात्र निर्णय लिनु राम्रो हुन्छ।
अघिल्लो वर्षको तुलनामा चाँदीको भाउ निकै माथि गइसकेको छ र अहिले प्रतितोला चार हजारको हाराहारीमा छ। अर्को वर्ष यो पाँच–छ हजारसम्म पुग्न सक्छ । बीचबीचमा भाउ ओरालो लागे पनि समग्रमा उकालो नै रहने देखिएकाले किनेर केही समय धैर्य गर्न सक्नुपर्छ ।
(नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)