नेभिगेशन
बुधबार, कात्तिक ११, २०८३

स्तन क्यान्सर महिलामा हुने मुख्य समस्या हो, तर पुरुषमा पनि हुन सक्छ

नेपालमा पछिल्लो समय स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने पहिलो नम्बरको क्यान्सर बनेको छ । केही वर्ष अघिसम्म पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा थियो । शहरीकरण र पश्चिमा जीवनशैलीको प्रभाव र अहिलेसम्म यसबाट बच्नका लागि कुनै पनि खोप नभएका कारण पनि स्तन क्यान्सरको समस्या बढ्दै गएको हो ।

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । यसको सबैभन्दा चिन्ताजनक पक्ष भनेको रोग लाग्नु मात्र होइन, समयमै पहिचान नहुनु, लक्षणलाई बेवास्ता गर्नु, सामाजिक डरका कारण जाँच गर्न ढिलाइ गर्नु र उपचारमा ढिलो पुग्नु पनि हो । स्तन क्यान्सरबारे जनचेतना फैलाउँदा एउटा कुरा स्पष्ट पार्नुपर्छ—यो महिलामा हुने प्रमुख क्यान्सर हो, तर पुरुषमा पनि हुन सक्छ । समयमै पत्ता लागेमा उपचार सफल हुने सम्भावना धेरै हुन्छ ।

नेपालमा अहिले वार्षिक ५ हजार जना महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ जुन एक दशकअघिको तुलनामा झन्डै दोब्बर हो । विकसित देशहरूमा ६० वर्ष कटेका महिलामा यो बढी देखिन्छ, तर नेपालमा भने ३० वर्षकै युवा तथा सक्रिय उमेरका महिलाहरूमा पनि यो समस्या देखिन थालेको छ ।

ग्रामीण भेगको तुलनामा काठमाण्डौलगायतका शहरी क्षेत्रमा स्तन क्यान्सरको दर ८ गुणा बढी छ । डेढ दशकअघि नेपालमा ५ प्रतिशतमा मात्रै वंशाणुगत कारणले क्यान्सर हुन्थ्यो भने अहिले याे दर १५ प्रतिशत पुगेकाे छ । क्यान्सर समयमै  पहिचान नहुँदा उपचारमा ढिलाइ हुने गरेको छ भने पहिचान भएकामध्ये पनि उपचारमा आउन समय लगाउने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) अनुसार नेपालका २० प्रतिशतभन्दा कम महिलालाई मात्र स्तन क्यान्सरका लक्षणबारे जानकारी छ । चेतना अभावका कारण ५० देखि ६५ प्रतिशत बिरामीहरू क्यान्सरको अन्तिम चरण (थर्ड वा फोर्थ स्टेज) मा पुगेपछि मात्र अस्पताल पुग्छन् जहाँ उपचार निकै कठिन हुन्छ । क्यान्सर उपचारका कारण नेपालका ८६ प्रतिशत परिवारले गम्भीर आर्थिक सङ्कट झेल्नुपरेको तथ्याङ्कहरूले देखाएका छन् । उपचार खर्च धान्न ७२ प्रतिशतले ऋण लिनुपर्ने र ४७ प्रतिशतले आफ्नो घरजग्गा वा सम्पत्ति बेच्नुपर्ने बाध्यता छ ।

पुरुषमा पनि स्तन क्यान्सर हुन्छ । यो रोचक तर सतर्क हुनुपर्ने तथ्य हो कि स्तन क्यान्सर महिलालाई मात्र होइन, पुरुषलाई पनि हुन्छ । पुरुषमा एकदमै कम एक प्रतिशतलाई मात्र हुन्छ, तर जसलाई हुन्छ एकदमै ढिलोमात्रै अस्पताल पुग्ने गर्छन् । यसबारे जानकारी नहुनु, सजग नहुनु र स्तन पनि एकदमै सानो हुने हुँदा भित्रभित्रै स्तनबाट अन्य फोक्सो हड्डीलगायतका अङ्गमा क्षति पुगिसकेको समयमा थाहा हुँदैन ।

दुखाइ नहुँदै पनि क्यान्सर हुन सक्छ

स्तनमा गाँठो आउँदा दुख्नैपर्छ भन्ने छैन । दुखाइ नभएकाले रोग गम्भीर होइन भन्ने ठानेर जाँच नगर्नु जोखिमपूर्ण हुन्छ । स्तन वा काखीमुनि गिर्खा आउनु, स्तनको आकार वा छालामा परिवर्तन हुनु, मुन्टो भित्र पस्नु वा असामान्य स्राव देखिनु, स्तनको छाला सुन्तलाको बोक्राजस्तै हुनु पनि जाँच गराउनुपर्ने सङ्केत हुन् । यस्ता लक्षण देखिँदैमा क्यान्सर नै भएको भने हुँदैन । तर लक्षण देखिने बित्तिकै स्तन क्यान्सर विशेषज्ञसँग तत्काल परामर्श गर्न जरुरी हुन्छ ।

पहिले अस्पताल जान ढिलो हुनेमा अहिले सचेतना बढेको छ

काठमाण्डौ उपत्यकामा गरिएको एक अध्ययनमा स्तन क्यान्सर पहिचान भएपछि करिब एकतिहाइ बिरामीले उपचार शुरू गर्न चार हप्ताभन्दा बढी पर्खिएको देखिएको थियो । रोग निदानपछि उपचार शुरू गर्न चार हप्ताभन्दा बढी समय पछि बल्ल अस्पताल पुग्ने गरेको अध्ययनहरूले  देखाएका छन् । कम शैक्षिक पहुँच भएका बिरामीमा उपचार शुरू गर्न ढिलाइ हुने सम्भावना बढी देखिएको थियो ।

अहिले भने महिलाहरूमा जागरण आएको छ । धेरैजना सचेत भएर लक्षण देखिनुअघि नै अस्पताल पुग्ने गरेका छन् । महिलाहरू जागरुक भई सचेतना कार्यक्रमहरूका कारण पनि समयमै अस्पताल पुगिरहेका छन् । तर यो शहरी महिलाहरूमा मात्र सीमित छ । आर्थिक अवस्था, अस्पतालसम्मको पहुँच र रोगबारेको जानकारीले उपचारमा प्रभाव पार्ने गरेको छ ।

रोगसँगै आर्थिक र मानसिक बोझ

स्तन क्यान्सर लाग्दैमा स्तन हटाउनैपर्छ वा जीवन समाप्त हुन्छ भन्ने होइन । उपचारको विकल्प रोगको प्रकार र अवस्थाअनुसार फरक हुन्छ । उपचारमा शल्यक्रिया, औषधि, किमोथेरापी, रेडियोथेरापी वा अन्य उपचार आवश्यक पर्न सक्छ । यसले बिरामीसँगै परिवारको आर्थिक अवस्था, मानसिक स्वास्थ्य र दैनिक जीवनमा असर पार्न सक्छ ।

धेरै महिलाहरू स्तनमा आएको गिर्खा वा परिवर्तनबारे परिवार वा चिकित्सकलाई भन्न लाज मान्छन् । रोग लुकाएर बस्दा सामान्य अवस्थाको क्यान्सर फैलिएर निको नहुने स्थितिमा पुग्ने गरेको छ ।  तर शुरूमै लक्षण देखिनुअघि गरिने जाँचमै पत्ता लागेमा ८०–९० प्रतिशत निको हुने सम्भावना हुन्छ ।

स्तन क्यान्सर पूर्णरूपमा निको हुन सक्ने रोग हो । विगतमा क्यान्सर भएको थाहा भएपछि शुरूमा पूरै स्तन काट्नुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले नेपालमै अत्याधुनिक प्रविधि उपलब्ध भएकाले शुरूमै उपचार गर्दा स्तन नकाटिकन क्यान्सर भएको भाग मात्र निकालेर ’रिकन्स्ट्रक्शन’ (सौन्दर्य कायम राख्ने) शल्यक्रिया सम्भव छ । त्यसैले स्तनमा नयाँ गाँठो वा असामान्य परिवर्तन देखिएमा दुखाइ कुर्नु हुँदैन । स्वास्थ्य संस्थामा जाँच गराइहाल्नुपर्छ । समयमै पहिचान र पूरा उपचारले जीवन बचाउने सम्भावना बढाउँछ । किनकि क्यान्सरका तीन पक्ष छन् यो बढ्छ, सर्छ र फर्कन्छ । त्यसैले यसलाई जिरो स्टेज अर्थात् प्रारम्भिक चरणभन्दा पहिलै स्क्रिनिङ गरेर रोग लागे, नलागेको पहिचान गर्नुपर्छ ।

हामी धेरै कुरामा लगानी गर्छाैँ र फजुल खर्च पनि गर्छाैँ तर वर्षमा एक पटक आफ्नै शरीरका अङ्गकाे अवस्थाबारे जाँच गर्न कन्जुस्याइँ गर्छाैँ । वर्षको २ देखि ५ हजार खर्च गरेर रोगबारे पत्ता लगाउन सकिन्छ भने रोग लागेर लाखौँ खर्च गर्नुपर्ने अवस्थाबाट मुक्त हुने प्रयास किन गर्दैनौँ ?

स्तनको आफैँ परीक्षण

स्तन क्यान्सर पत्ता लगाउने सबैभन्दा सजिलो र अचूक तरिका स्तनको स्वपरीक्षण वा आत्मपरीक्षण हो । २० वर्ष पुगेका हरेक महिलाले महिनावारी भएको पहिलो हप्तामा आफैँले आफ्नो स्तन छामेर गिर्खा वा परिवर्तन सजिलै थाहा पाउन सक्छन् । स्तनमा आउने सबै गिर्खा क्यान्सरकै कारण हो भन्ने चाहिँ हुँदैन । तथ्याङ्कअनुसार ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा सामान्य प्रकृतिका नै हुन्छन् । त्यसैले गिर्खा आउँदैमा आत्तिहाल्नु पर्दैन, तर जाँच भने गराउनुपर्छ ।

स्तनको जाँच गर्नु र म्यामोग्राफी एउटै होइन । स्तनमा कुनै लक्षण नभएका व्यक्तिमा उमेर र जोखिमअनुसार म्यामोग्राफीमार्फत परीक्षण गर्न सकिन्छ । नेपालमा परीक्षणको उपयुक्त समय र विधिबारे स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।

पालिकाको सहयोगमा प्रारम्भिक पहिचान सम्भव

स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि पालिकाले स्वास्थ्य शिविर र अस्पतालमा स्तन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । महिला स्वयंसेविकालाई स्तन क्यान्सरबारे तालिम दिने, उनीहरूलाई घरघरमा गई महिलाहरूलाई स्तनको स्वपरीक्षणबारे जानकारी दिन सकेमा क्यान्सर रोकथाम गर्न सकिन्छ । पछिल्लो समयमा परीक्षण गरिएका महिलाको सङ्ख्या बढ्नु सकारात्मक हो । तर यसबाटै रोगको पहिचान दर वा उपचारको सफलता बढेको निष्कर्ष निकाल्न सकिँदैन । कति महिलामा शङ्कास्पद गाँठो भेटियो, कति जनाको थप परीक्षण भयो र कति जनाले समयमै उपचार पाए भन्ने तथ्याङ्क पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

स्तन क्यान्सरलाई केवल महिलाको व्यक्तिगत स्वास्थ्य समस्या ठानेर पुग्दैन । यो समयमै परीक्षण, स्वास्थ्य सेवामा पहुँच, आर्थिक सुरक्षा, जनचेतना र सरकारी नीतिसँग जोडिएको विषय हो । नेपालमा स्तन क्यान्सर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सर बनेको तथ्यले यसको रोकथाम र प्रारम्भिक पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने देखाउँछ ।

(क्यान्सर शल्य चिकित्सक तथा स्तन क्यान्सर विशेषज्ञ डा. कपिन्द्र शेखर अमात्यसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति:
थप विचार