नेभिगेशन
सोमबार, असोज २६, २०८३

मानसिक स्वास्थ्यबारे चर्चा एक दिनमा मात्र सीमित हुनु हुँदैन

मानसिक स्वास्थ्यलाई अझै पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्व दिने गरिएको छैन । मानसिक स्वास्थ्य समस्यालाई हेर्ने दृष्टिकोणमा विभेद र सामाजिक कलंकसमेत कायम छन् । मानिसहरू शारीरिक तथा भौतिक अभावका कारण मात्र होइन, मनोवैज्ञानिक समस्या र मानसिक रोगका कारण पनि पीडित भइरहेका छन् । चिन्ता, डिप्रेसन, लागूऔषधको दुरुपयोग तथा सोचाइ र व्यवहारमा आउने असन्तुलनले व्यक्तिको दैनिक जीवन र कार्यक्षमतामा गम्भीर असर पार्न सक्छ ।

मानसिक स्वास्थ्य समस्याले व्यक्तिको सोचाइ, भावना, व्यवहार, दैनिक कामकाज र सामाजिक सम्बन्धमा प्रभाव पार्छ । तनाव, चिन्ता, निराशा, निद्रामा समस्या, एक्लोपन महसुस हुनु, पहिले मन पर्ने काममा रुचि घट्नु, अत्यधिक रिस उठ्नु, एकाग्रता कमजोर हुनु र भोकमा परिवर्तन आउनु यसका सम्भावित लक्षण हुन् । त्यस्तै, निरन्तर थकान महसुस हुनु, आफूलाई मूल्यहीन ठान्नु, भविष्यप्रति निराश हुनु, सामाजिक गतिविधिबाट टाढिनु र दैनिक जिम्मेवारी पूरा गर्न कठिनाइ हुनु पनि मानसिक स्वास्थ्य समस्याका संकेत हुन सक्छन् ।

यस्ता लक्षण लामो समयसम्म रहिरहेमा वा दैनिक जीवनमा असर पार्न थालेमा स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्छ । तर सामान्य मानसिक पीडा हुँदा पनि काम गर्न मन नलाग्ने वा आफ्नो मनस्थिति ठीक नभएको महसुस हुने अवस्थालाई परिवार, कार्यस्थल र समाजले सहज रूपमा स्वीकार गर्ने वातावरण अझै पर्याप्त छैन । अरूले कुरा नसुन्ने, समस्यालाई सामान्य रूपमा नलिने वा मानसिक स्वास्थ्य समस्यालाई कमजोरीका रूपमा हेर्ने प्रवृत्तिले गर्दा धेरै मानिस आफ्ना समस्या लुकाउन बाध्य छन् ।

विपद्पछि मानसिक समस्याको सामना गर्ने गलत तरिका
नेपालमा तनाव, चिन्ता, अवसाद, आत्महत्याको जोखिम र लागूऔषधको दुरुपयोगजस्ता समस्या गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन् । विशेषगरी युवा, किशोरकिशोरी तथा विपद् र द्वन्द्वबाट प्रभावित समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छन् । भूकम्प, कोभिडको महामारीलगायतका विपद्पछि कतिपय व्यक्तिले मानसिक पीडा र तनाव सामना गर्न जाँडरक्सी खाने गरेको पाइन्छ ।

विपद्का कारण उत्पन्न तनाव, डर, पीडा र अनिश्चितताबाट मुक्त हुन जाँडरक्सी खानुु समस्याको समाधान होइन । बरु यस्तो व्यवहारले समयसँगै निर्भरता बढाउन सक्छ र शारीरिक तथा मानसिक स्वास्थ्यमा थप समस्या निम्त्याउन सक्छ । शुरुमा तनाव कम गर्ने उपायका रूपमा अपनाइएको जाँडरक्सी खाने प्रवृत्ति पछि छोड्न कठिन हुने बानी वा गम्भीर स्वास्थ्य समस्यामा परिणत हुन सक्छ । अहिले भोटेकोशी बाढीपछि प्रभावित ठाउँमा पनि यो समस्या निम्तने खतरा छ । 

विपद्पछि प्रभावित व्यक्तिमा देखिने मनोसामाजिक समस्यालाई समयमै पहिचान गर्नु र उनीहरूलाई उचित सहयोग उपलब्ध गराउनु आवश्यक छ । विशेषगरी विपद्पछिका हप्ता र महिनामा प्रभावित व्यक्तिको मानसिक अवस्था, व्यवहार र जाँडरक्सी खानेजस्ता बानीमा आएको परिवर्तनलाई ध्यान दिनुपर्छ । यसका लागि वडा तथा पालिकाले प्रभावित समुदायमा नियमित निगरानी, मनोसामाजिक परामर्श र आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ । साथै, संघ र प्रदेश सरकारले प्रभावित व्यक्तिलाई काममा संलग्न गराउने, रोजगारीका अवसर सिर्जना गर्ने र सामाजिक गतिविधिमा सहभागी गराउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

मानसिक स्वास्थ्यप्रति बढ्दो चासो र सुधारका प्रयास

मानसिक स्वास्थ्यको अवस्था बुझ्न कुनै पनि देशमा सरकारले बनाएका नीति, कानुन, कार्यक्रम र बजेटका साथै सेवामा पहुँच, व्यक्तिको सुरक्षा र जनचेतनाजस्ता सूचकलाई आधार मानिन्छ । यी सूचकका आधारमा हेर्दा नेपालमा अझै सुधार गर्नुपर्ने धेरै पक्ष छन् । तथापि, पछिल्ला वर्षमा मानसिक स्वास्थ्यप्रति सरकारी तथा गैरसरकारी क्षेत्रको चासो बढेको देखिन्छ ।

मानसिक स्वास्थ्य क्षेत्रमा तीन दशकदेखि काम गर्दै आएको अनुभवका आधारमा पछिल्लो दशकमा यस क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको महसुस हुन्छ । सन् २०१९ मा यस विषयमा राष्ट्रव्यापी अध्ययन गरिएको थियो । सरकारले नसर्ने रोगसम्बन्धी संरचनाभित्र मानसिक स्वास्थ्य हेर्ने छुट्टै शाखा र जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) को व्यवस्था गरेर काम अघि बढाएको छ । राजनीतिक नेतृत्व र सरकारी निकायमा पनि मानसिक स्वास्थ्यलाई नीतिगत सुधार तथा कार्यक्रमसँग जोड्ने प्रयास बढेको छ । मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति तथा योजना निर्माण र कार्यान्वयनका प्रयासले पनि यस क्षेत्रलाई प्राथमिकतामा राख्न सहयोग पुर्‍याएका छन् ।

सरकारी निकायसँगै गैरसरकारी संस्थाहरूले पनि विपद्पछि प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शदाता परिचालन गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम गर्दै आएका छन् । पछिल्ला विपद्का घटनामा मानसिक स्वास्थ्यसम्बन्धी सहयोगका लागि विभिन्न निकाय सक्रिय भएको देखिन्छ । यसले विपद्का कारण उत्पन्न मानसिक स्वास्थ्य समस्याप्रति चेतना बढाउन र प्रभावित व्यक्तिलाई सहयोग पु¥याउन मद्दत गरेको छ ।

विगत दुई दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनाहरू सामना गरेको छ । यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्त्वबारे बुझाइ बढाउन सहयोग गरेका छन् । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सामाजिक कलंक हटाउने र सबैका लागि सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले लामो समयदेखि विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आएको छ । तर मानसिक स्वास्थ्यबारे चर्चा एक दिनमा मात्र सीमित हुनु हुँदैन ।

समस्या लुकाउने होइन, सुन्ने र सहयोग गर्ने वातावरण बनाऔँ
मानसिक तथा मनोसामाजिक समस्या समाधान गर्न प्रभावित व्यक्तिको आवाज सुन्ने र उनीहरूको वास्तविक अवस्थालाई स्वीकार गर्ने वातावरण आवश्यक छ । यसका लागि सरकारदेखि व्यक्ति स्वयंसम्म सबै सजग हुनुपर्छ । राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय, परिवार र सामाजिक समूहले एकताबद्ध भएर मानसिक स्वास्थ्य प्रवर्द्धनमा काम गर्नुपर्छ ।

मानसिक स्वास्थ्य समस्यालाई कमजोरी वा लाजको विषयका रूपमा लिनु हुँदैन । समस्यामा परेका व्यक्तिलाई दोष दिने वा उनीहरूको पीडालाई बेवास्ता गर्नेभन्दा पनि कुरा सुन्ने, साथ दिने र आवश्यक सेवासम्म पहुँच पु¥याउने प्रयास गर्नुपर्छ । विशेषगरी विपद्पछि प्रभावित व्यक्तिले भोगेको पीडा बुझ्ने, उनीहरूलाई सामाजिक गतिविधिमा सहभागी गराउने र आवश्यकताअनुसार मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।

व्यक्तिगत तहमा पनि नियमित समयमा खाने, पर्याप्त सुत्ने, आराम गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने र तनाव व्यवस्थापनका स्वस्थ उपाय अपनाउने बानी उपयोगी हुन्छ । मानसिक समस्या देखिएमा विश्वासिलो व्यक्ति, स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग सहयोग लिनुपर्छ । तनाव वा पीडाबाट राहत पाउन जाडरक्सी खाने तथा अन्य हानिकारक पदार्थको सहारा लिनु हुँदैन ।

मानसिक स्वास्थ्य समस्या रोकथाम र व्यवस्थापनका लागि जनचेतना मात्र पर्याप्त हुँदैन । प्रभावित व्यक्तिले समयमै सहयोग पाउने, सामाजिक रूपमा स्वीकार गरिने र आवश्यक सेवामा सहज पहुँच हुने वातावरण निर्माण गर्नुपर्छ । विपद्पछि देखिने मानसिक तथा मनोसामाजिक समस्यालाई बेवास्ता नगरी समयमै पहिचान गर्ने र गलत सामना गर्ने तरिकालाई निरुत्साहित गर्ने काममा स्थानीय पालिकादेखि संघीय सरकारसम्म सबैको जिम्मेवारी महत्त्वपूर्ण छ ।

(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्रा. डा. रवि शाक्यसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित मिति:
थप विचार