नेभिगेशन
मंगलबार, असोज २०, २०८३

कांग्रेसमा अहिलेको आवश्यकता शक्ति प्रदर्शन होइन, संवाद हो

नेपाली कांग्रेसको वर्तमान महाधिवेशन अलि भिन्न र संवेदनशील परिस्थितिमा भइरहेको छ । पार्टीभित्र विवाद र द्वन्द्व निकै गहन रूपमा देखिएको छ । एकातिर विशेष महाधिवेशनबाट आएको नेतृत्व छ भने अर्कोतिर असन्तुष्ट पक्षहरू समानान्तर महाधिवेशनको प्रयत्नमा पनि देखिन्छन् । यस पटकको महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय चरम उत्कर्षमा पुगेको छ । यसअघि नेपाली कांग्रेसको नेतृत्व धेरैजसो पारिवारिक विरासतमा सीमित थियो । तर विशेष महाधिवेशनबाट स्थापित नयाँ नेतृत्व गगन थापा, विश्वप्रकाश लगायतको समूह कुनै पनि पारिवारिक विरासत बोकेर आएको छैन ।

उनीहरूसँग केवल पार्टीको इतिहास र विचारको विरासत छ । यसले गर्दा लामो समयदेखि पार्टीमा हालीमुहाली गर्दै आएका पारिवारिक तथा क्षेत्रीय विरासत बोकेका नेताहरूमा आफ्नो प्रभाव र पकड गुम्ने चिन्ता देखिन्छ । नेतृत्व हस्तान्तरण सामान्य राजनीतिक प्रक्रियामात्र होइन । यो पार्टीभित्र एउटा पुस्ताबाट अर्को पुस्तामा शक्ति हस्तान्तरणको प्रक्रिया पनि हो । त्यसैले पुरानो नेतृत्वले आफ्नो राजनीतिक अस्तित्व र प्रभावलाई कसरी सुरक्षित राख्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । नयाँ पुस्ताले नेतृत्व लिँदा पुरानो पुस्ताले त्यसलाई सहज रूपमा स्वीकार गर्न नसक्दा द्वन्द्व उत्पन्न हुनु अस्वाभाविक होइन ।

तर लोकतान्त्रिक पार्टीको जीवनमा नेतृत्व परिवर्तनलाई संकटका रूपमा होइन, रूपान्तरणको अवसरका रूपमा लिनुपर्छ । कांग्रेसभित्र अहिले देखिएको मुख्य प्रश्न यही हो– नेतृत्व परिवर्तनलाई संस्थागत प्रक्रियाका रूपमा स्वीकार गर्ने कि व्यक्तिको प्रतिष्ठा र गुटगत शक्तिको प्रश्न बनाउने ? यदि नेतृत्व परिवर्तनलाई व्यक्तिगत पराजय र विजयका रूपमा मात्रै हेरियो भने यसले पार्टीभित्रको विभाजनलाई अझ गहिरो बनाउँछ । तर यसलाई पुस्तान्तरण र संस्थागत रूपान्तरणका रूपमा स्वीकार गर्न सकियो भने कांग्रेसले आफूलाई पुनः व्यवस्थित गर्ने अवसर पनि पाउन सक्छ ।

समानान्तर महाधिवेशन र पार्टीको आधिकारिकता विवाद

पूर्वसभापति शेरबहादुर देउवा पक्ष वा अन्य समूहले समानान्तर गतिविधि वा महाधिवेशन गर्ने प्रयास गरे तापनि त्यसले कानुनी र औपचारिक मान्यता पाउने सम्भावना देखिँदैन । निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैबाट विशेष महाधिवेशनपछि बनेको गगन थापा नेतृत्वको कांग्रेसले नै आधिकारिकता पाइसकेको छ । अधिकांश कार्यकर्ता र सदस्यहरू पनि मूलधारमै समाहित भइसकेका छन् । त्यसैले छुट्टै महाधिवेशन वा संगठन बनाउने प्रयास भए पनि त्यसले ठूलो असर पार्न सक्दैन । तर यसको अर्थ समानान्तर गतिविधिले कुनै राजनीतिक असर नै पार्दैन भन्ने होइन ।

पार्टी विभाजन कानुनी रूपमा नदेखिए पनि व्यवहारमा संगठन विभाजित हुन सक्छ । पालिकादेखि प्रदेश र केन्द्रसम्म कार्यकर्ता दुई समूहमा विभाजित हुने अवस्था आयो भने त्यसको असर चुनावमा देखिन सक्छ । पार्टी विभाजनको सबैभन्दा ठूलो खतरा यही हो । कानुनी रूपमा एउटै पार्टी रहँदा पनि राजनीतिक रूपमा दुईवटा पार्टीजस्तो बन्न सक्ने अवस्था आउन सक्छ । एउटै चुनाव चिह्न, एउटै विधान र एउटै नाम भए पनि कार्यकर्ता र नेताहरूबीचको सम्बन्ध टुट्यो भने त्यो संगठनात्मक विभाजन नै हो ।

यदि पूर्वसभापति देउवा महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रण स्वीकारेर सहभागी भएमा त्यसले पार्टीमा एकताको राम्रो सन्देश दिने र उहाँको व्यक्तित्वलाई पनि सम्मान मिल्ने थियो तर त्यो सम्भव देखिंदैन  । तर अलगै बाटो रोजेमा त्यसले आम नागरिक र कार्यकर्ताको समर्थन पाउन कठिन देखिन्छ ।

राजनीतिक नेतृत्वले कहिलेकाहीँ आफ्नो व्यक्तिगत राजनीतिक भूमिकाभन्दा ठूलो संस्थाको हितलाई हेर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसको इतिहास व्यक्तिहरूको इतिहास मात्र होइन । यो एउटा लामो राजनीतिक आन्दोलनको इतिहास हो । त्यसैले अहिलेको विवादमा कुनै व्यक्ति वा समूहको जित–हारभन्दा पार्टीको संस्थागत निरन्तरता महत्वपूर्ण हुन्छ ।

कांग्रेसभित्रको संकट नेतृत्वको मात्र होइन

कांग्रेसमा अहिले देखिएको समस्या केवल सभापति को बन्ने वा कसले नेतृत्व गर्ने भन्ने विषयमा सीमित छैन । यो पार्टीको चरित्र र संरचनासँग जोडिएको प्रश्न हो । लामो समयदेखि पार्टीभित्र गुटहरू निर्माण हुँदै आए । गुटका आधारमा पद, अवसर र राजनीतिक संरक्षण वितरण हुने अवस्था बन्यो । त्यसले पार्टीको संस्थागत चरित्रलाई कमजोर बनाउँदै लग्यो ।

कांग्रेसमा नेतृत्वको वरिपरि मानिस जम्मा हुने प्रवृत्ति बढ्दै गयो । विचार र नीतिको आधारमा संगठन निर्माण गर्नेभन्दा व्यक्तिको वरिपरि संगठन बनाउने प्रवृत्ति बलियो भयो । यसले गर्दा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भयो । कुनै नेता शक्तिमा रहँदा उसको वरिपरि एउटा समूह निर्माण हुने र नेतृत्व परिवर्तन हुनेबित्तिकै अर्को समूह सक्रिय हुने अवस्था देखिन्छ । यस्तो अवस्था कुनै एउटा व्यक्ति वा समूहको मात्रै कमजोरी होइन । यो लामो समयदेखि विकसित हुँदै आएको राजनीतिक संस्कारको परिणाम हो ।

दलहरूको संकट र रूपान्तरणको आवश्यकता

नेपाली कांग्रेस मात्र नभएर नेपालका लगभग सबै राजनीतिक दलहरू संकटबाट गुज्रिरहेका छन् । नेतृत्व गुटगत र केही व्यक्तिहरूमा सीमित हुनु, संस्थागत विकास कमजोर हुनु र क्रियाशील सदस्यता वितरणमै ठूलो धाँधली र नियन्त्रण हुनु मुख्य समस्या हो । नियन्त्रित सदस्यहरूबाट गरिने निर्वाचनले जनमत र मतदाताको भावना अनुसारको उत्तरदायी नेतृत्व चयन गर्न सकेको छैन । नेपालका राजनीतिक दलहरूमा नीति र नेतृत्वको सम्बन्ध टुटिसकेको छ । नीतिगत भिन्नताभन्दा पनि व्यक्तिगत टकराव र शक्ति कब्जा गर्ने होडबाजी बढी देखिन्छ ।

लोकतन्त्रले अपेक्षा गरेअनुसार दलहरूभित्र आन्तरिक प्रजातन्त्र र रूपान्तरणको ठूलो खाँचो छ । बेलायतजस्ता देशमा जनमत वा पार्टी सम्हाल्न नसकेमा नेतृत्वले स्वतः मार्गप्रशस्त गर्ने परम्परा छ, जुन हाम्रो देशमा अझै स्थापित हुन सकेको छैन । हामीकहाँ नेतृत्वमा बसेपछि पद छोड्नुपर्छ भन्ने संस्कार कमजोर छ । नेतृत्व भनेको जिम्मेवारी हो भन्नेभन्दा पनि नेतृत्व भनेको अधिकार हो भन्ने मानसिकता बलियो हुँदै गएको छ । त्यसैले नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने राजनीतिक संस्कृति विकास हुन सकेको छैन ।

क्रियाशील सदस्यता र आन्तरिक लोकतन्त्र

पार्टीको आन्तरिक लोकतन्त्रको आधार नै सदस्यता हो । तर सदस्यता वितरण नै नियन्त्रणको माध्यम बन्यो भने त्यसबाट निष्पक्ष नेतृत्व चयन हुन सक्दैन । कसले कति सदस्य बनायो, कसको प्रभावमा सदस्यता वितरण भयो र कसले महाधिवेशन प्रतिनिधि चयन गर्छ भन्ने कुराले नै अन्ततः नेतृत्वको स्वरूप निर्धारण गर्छ । त्यसैले महाधिवेशनलाई मात्र लोकतान्त्रिक प्रक्रिया भन्नु पर्याप्त हुँदैन । महाधिवेशनमा प्रतिनिधि कसरी आए, सदस्य कसरी बने र नेतृत्व चयनको प्रक्रिया कति स्वतन्त्र थियो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कांग्रेसले वास्तवमै आफूलाई लोकतान्त्रिक पार्टीका रूपमा पुनःस्थापित गर्ने हो भने सदस्यता वितरणदेखि नेतृत्व चयनसम्मका सम्पूर्ण प्रक्रिया पारदर्शी र संस्थागत बनाउनुपर्छ ।

नयाँ पुस्ताको नेतृत्व र पुरानो पुस्ताको भूमिका

नयाँ पुस्ताले नेतृत्व लिन खोज्नु स्वाभाविक प्रक्रिया हो । कुनै पनि पार्टी सधैँ एउटै पुस्ताको नेतृत्वमा चल्न सक्दैन । तर पुस्तान्तरण भनेको पुरानो पुस्तालाई अस्वीकार गर्नु पनि होइन । पुरानो पुस्तासँग अनुभव हुन्छ । नयाँ पुस्तासँग नयाँ सोच, नयाँ ऊर्जा र बदलिँदो समाजसँग जोडिने क्षमता हुन्छ । पार्टीले यी दुई पक्षबीच सम्बन्ध स्थापित गर्न सक्यो भने नेतृत्व हस्तान्तरण सहज हुन्छ । पुरानो पुस्ताले आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र नयाँ पुस्ताले पुरानो पुस्ताको योगदानलाई सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ । तर पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहने र नयाँ पुस्ताले पुरानो पुस्तालाई पूर्ण रूपमा विस्थापित गर्न खोज्ने अवस्था आयो भने द्वन्द्व स्वाभाविक हुन्छ । कांग्रेसको अहिलेको चुनौती यही सन्तुलन कायम गर्नु हो ।

पार्टी विभाजनको सम्भावना र त्यसको असर

कांग्रेसमा अहिले देखिएको विवादले पार्टी विभाजनको सम्भावनालाई संकेत गरे पनि विभाजन अपरिहार्य भइसकेको भन्न मिल्दैन । राजनीतिक दलभित्र गम्भीर विवाद हुनु र औपचारिक रूपमा पार्टी फुट्नु फरक कुरा हो । तर यदि संवादको बाटो बन्द भयो, दुई पक्षले एकअर्कालाई स्वीकार गर्न छाडे र समानान्तर संगठन निर्माणले संस्थागत रूप लिन थाल्यो भने विभाजनको अवस्था आउन सक्छ । पार्टी फुट्नु भनेको नेताहरू छुट्टिनु मात्र होइन । यसले कार्यकर्ता, संगठन, विचार र मतदातालाई पनि विभाजित गर्छ । त्यसको असर लामो समयसम्म रहन सक्छ । त्यसैले अहिले कांग्रेसभित्र सबैभन्दा आवश्यक कुरा शक्ति प्रदर्शन होइन, संवाद हो । महाधिवेशनको परिणाम जसको पक्षमा आए पनि अर्को पक्षलाई राजनीतिक रूपमा अस्तित्वहीन बनाउने प्रयास गरियो भने त्यसले पार्टीलाई कमजोर बनाउँछ ।

कांग्रेसको भविष्य र जनविश्वास

एउटा चुनाव हार्दैमा वा प्रतिकूल अवस्था आउँदैमा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टी सकिएर जाँदैन । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको जग बसाल्न र लोकतान्त्रिक संरचना निर्माण गर्न कांग्रेसको ठूलो योगदान छ । नयाँ राजनीतिक दलहरूको उदय भए पनि लोकतन्त्रप्रतिको उनीहरूको निष्ठा र विश्वसनीयता पुष्टि हुन बाँकी नै छ । त्यसैले लोकतान्त्रिक जनमतका लागि नेपाली कांग्रेसको विकल्प अझै तयार भइसकेको छैन । तर इतिहास र योगदान मात्रै भविष्यको ग्यारेन्टी होइन । विगतमा योगदान गरेको आधारमा मात्रै जनताले सधैँ समर्थन गर्छन् भन्ने हुँदैन ।

पार्टीले वर्तमान समाजका प्रश्नलाई सम्बोधन गर्न सक्नुपर्छ । युवाको आकांक्षा, रोजगारी, आर्थिक विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थायित्वजस्ता विषयमा कांग्रेसले स्पष्ट दृष्टिकोण दिन सक्नुपर्छ । नागरिकले पार्टीको इतिहासभन्दा वर्तमान व्यवहार हेर्न थालेका छन् । त्यसैले कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई सम्मान गर्दै भविष्यका लागि नयाँ राजनीतिक कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता छ ।

कांग्रेसले अहिले सबैभन्दा पहिले आन्तरिक विवादलाई व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि नेतृत्वबीच संवादको वातावरण बनाउन आवश्यक छ । महाधिवेशनलाई शक्ति प्रदर्शनको थलोभन्दा पनि पार्टी पुनर्गठनको अवसरका रूपमा प्रयोग गर्नुपर्छ । त्यसपछि पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । क्रियाशील सदस्यता वितरणलाई पारदर्शी बनाउनुपर्छ । गुटगत भागबण्डाका आधारमा होइन, पार्टीको नीति, विचार र संगठनात्मक क्षमताका आधारमा नेतृत्व चयन हुने वातावरण बनाउनुपर्छ । पार्टीभित्र विचारको बहस पुनःस्थापित गर्नुपर्छ ।

अहिले कांग्रेसभित्र कुन विषयमा कसको राजनीतिक धारणा के हो भन्नेभन्दा कुन समूहमा को छ भन्ने प्रश्न बढी महत्वपूर्ण बन्न थालेको छ । यो अवस्थालाई बदल्न नसके कांग्रेसको संगठनात्मक समस्या समाधान हुँदैन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन होइन । यो कांग्रेसको राजनीतिक चरित्र र भविष्य निर्धारण गर्ने एउटा महत्वपूर्ण मोड हो । एकातिर पुरानो नेतृत्वको राजनीतिक विरासत र अनुभव छ भने अर्कोतिर नयाँ पुस्ताको ऊर्जा र परिवर्तनको आकांक्षा छ । यी दुईबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुराले कांग्रेसको आगामी दिशा निर्धारण गर्नेछ ।

यदि विवादलाई संवादबाट समाधान गरियो, नेतृत्व हस्तान्तरणलाई सहज बनाइयो र पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत गरियो भने अहिलेको संकट कांग्रेसका लागि पुनर्जागरणको अवसर बन्न सक्छ । तर यदि व्यक्तिगत प्रतिष्ठा, गुटगत स्वार्थ र शक्ति संघर्षले पार्टीको संस्थागत हितलाई ओझेलमा पार्‍यो भने समानान्तर गतिविधि विस्तार हुँदै गएर व्यवहारमै पार्टी विभाजनको अवस्था आउन सक्छ । त्यसैले अहिलेको प्रश्न कांग्रेस फुट्छ कि फुट्दैन भन्ने मात्र होइन । कांग्रेस आफ्नो पुरानो राजनीतिक संस्कारबाट रूपान्तरण हुन्छ कि हुँदैन भन्ने हो ।

कांग्रेसको भविष्य अन्ततः कुनै एउटा नेता, एउटा समूह वा एउटा महाधिवेशनले निर्धारण गर्ने होइन । जनतासँगको सम्बन्ध, पार्टीभित्रको लोकतन्त्र, नेतृत्वको पुस्तान्तरण, नीतिगत स्पष्टता र बदलिँदो नेपाली समाजको आकांक्षालाई सम्बोधन गर्ने क्षमताले कांग्रेसको भविष्य निर्धारण गर्नेछ ।

(राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति:
थप विचार