नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

घरजग्गा किन्न अहिले उपयुक्त समय : ब्याजदर घटेको छ, बजार पनि सुध्रिँदैछ

लामो समयदेखि सुस्त रहेको नेपालको घरजग्गा कारोबार पछिल्लो समय क्रमशः सुधारको दिशामा अघि बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ । र नेपाल राष्ट्र बैंकले घरजग्गा तथा आवास कर्जासम्बन्धी नीतिमा केही सहजता ल्याएको छ । यसले गर्दा बजार चलायमान छ । घर वा घडेरी खरिद गर्ने योजना बनाइरहेका उपभोक्ताका लागि अहिलेको समय उपयुक्त छ जस्तो लाग्छ । 

बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम पनि पर्याप्त छ । यसले घरजग्गा खरिद गर्न चाहने उपभोक्तालाई कर्जा लिन सहज बनाएको छ । लामो समयदेखि कारोबारमा आएको सुस्तता विगत एक वर्षयता क्रमशः कम हुँदै गएको र बजारमा चहलपहल बढ्न थालेको छ । घरजग्गा बजारमा सुधार हुँदै गएको अवस्थामा वास्तविक आवश्यकता भएका उपभोक्ताले खरिदको योजना बनाउन सक्छन् । अहिले बजारमा सबै ठाउँको मूल्य एकैपटक अत्यधिक बढेको अवस्था छैन । त्यसैले हतारमा मूल्य बढ्ने डरले मात्र होइन, आफ्नो आवश्यकता, आर्थिक क्षमता र भविष्यको उपयोगितालाई आधार बनाएर घरजग्गा छनोट गर्नुपर्छ ।

ब्याजदर घट्दा घरजग्गा खरिदकर्तालाई सहज

घरजग्गा कारोबारमा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । विशेषगरी मध्यम तथा न्यून मध्यम आय भएका परिवारका लागि घर खरिद गर्न बैंक कर्जा महत्वपूर्ण माध्यम हो । विगतमा उच्च ब्याजदर, कर्जा प्रवाहमा कडाइ र घरजग्गा कारोबारसम्बन्धी नीतिगत असहजताका कारण बजारमा अपेक्षित कारोबार हुन सकेको थिएन । तर पछिल्लो समय ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुनु सकारात्मक पक्ष हो । बैंकसँग कर्जा प्रवाह गर्ने क्षमता छ र ऋण लिन चाहने उपभोक्ताका लागि पनि पहिलेको तुलनामा अवस्था सहज बन्दै गएको छ । यद्यपि घरजग्गा खरिद गर्दा ब्याजदर मात्रै हेरेर निर्णय गर्नु भने हुँदैन । आफ्नो आम्दानी, नियमित किस्ता तिर्न सक्ने क्षमता, रोजगारीको स्थायित्व र भविष्यमा हुन सक्ने आर्थिक दायित्वसमेत विचार गरेर मात्रै कर्जा लिनुपर्छ । 

घरजग्गा अझै पनि सुरक्षित सम्पत्ति

नेपाली समाजमा घरजग्गालाई परम्परागत रूपमा सुरक्षित सम्पत्तिका रूपमा हेर्ने गरिएको छ । विदेशमा रोजगारी गर्ने नेपालीबाट आउने रेमिट्यान्स, शहरी क्षेत्रमा बसोबास गर्ने प्रवृत्ति र परिवारको आफ्नै घर बनाउने चाहनाले पनि घरजग्गाप्रतिको आकर्षण कायम राखेको छ । घरजग्गा केवल लगानीको माध्यम मात्र होइन, नागरिकको आवास आवश्यकतासँग पनि प्रत्यक्ष जोडिएको क्षेत्र हो । जनसंख्या, बसाइँसराइ र शहरीकरणको प्रक्रियासँगै व्यवस्थित आवासको माग रहने भएकाले यस क्षेत्रको दीर्घकालीन सम्भावना अझै व्यापक छ । तर घरजग्गा किन्दैमा सधैँ नाफा हुन्छ भन्ने बुझाइ सही हुँदैन । बजारको अवस्था, ठाउँ, पूर्वाधार र भविष्यमा हुन सक्ने विकासलाई मूल्याङ्कन गरेर लगानी गर्नुपर्छ ।

जग्गा किन्दा पूर्वाधार र ठाउँलाई प्राथमिकता 

घरजग्गा खरिद गर्दा सडक, खानेपानी, विद्युत्, ढल निकास, स्वास्थ्य, शिक्षा तथा सार्वजनिक यातायातजस्ता आधारभूत सुविधा उपलब्ध भएका क्षेत्रमा खरिद गर्नु उपयुक्त हुन्छ । बजारका सबै ठाउँमा घरजग्गाको माग र मूल्य समान हुँदैन । कतिपय क्षेत्रमा पूर्वाधार र जनघनत्वका कारण माग बढिरहेको छ भने कतिपय ठाउँमा अपेक्षित विकास हुन सकेको छैन । त्यसैले केवल सस्तो मूल्य देखेर जग्गा खरिद गर्नेभन्दा पनि त्यसको कानुनी अवस्था, जग्गाको वर्गीकरण, बाटोको पहुँच, भौतिक पूर्वाधार र भविष्यमा उपयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गर्नुपर्छ ।

घरजग्गा व्यवसायलाई राज्यले अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्छ

घरजग्गा तथा आवास क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रूपमा लिनुपर्छ । घरजग्गा कारोबारले व्यवसायीलाई मात्र नभई निर्माण सामग्री उद्योग, बैंक तथा वित्तीय संस्था, इन्जिनियरिङ, वास्तुकला, ढुवानी, श्रमिक र विभिन्न सेवा क्षेत्रलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पार्छ । घर निर्माण तथा आवास विकासका गतिविधि बढ्दा सिमेन्ट, डन्डी, इँटा, बालुवा, गिट्टी, काठ, फर्निचर तथा अन्य निर्माण सामग्रीको माग बढ्ने गर्छ । यसले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा पनि योगदान पुर्‍याउँछ । 

त्यसैले घरजग्गा कारोबारलाई राज्यले नियन्त्रण गर्ने दृष्टिकोणबाट मात्र नभई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने नीतिगत दृष्टिकोणबाट हेर्नुपर्छ । राज्यका विभिन्न निकाय तथा सरोकारवालसँगका छलफल गर्दा पनि घरजग्गा व्यवसायको आर्थिक महत्व स्वीकार गरिएको छ । तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक नीतिगत सुधार र स्पष्ट कानुनी व्यवस्थाको आवश्यकता अझै छ ।

घरजग्गा विज्ञापन र कारोबारलाई व्यवस्थित गर्नुपर्छ 

घरजग्गा कारोबारमा विज्ञापन तथा बजार व्यवस्थापनलाई पनि व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ  । अहिले घरजग्गा खरिदबिक्रीका लागि विभिन्न माध्यमबाट विज्ञापन भइरहेका छन् । तर विज्ञापन गर्ने व्यक्ति वा संस्था कानुनी रूपमा दर्ता भएको हो कि होइन, कारोबारमा उसको जिम्मेवारी के हो र बिक्री प्रक्रियामा पारदर्शिता छ कि छैन भन्ने विषयमा स्पष्ट व्यवस्था आवश्यक छ । जग्गा तथा आवासको विज्ञापन र कारोबारमा कानुनी रूपमा दर्ता भएका व्यवसायीलाई मात्र संलग्न गराउने व्यवस्था गर्नुपर्छ । यसले अनौपचारिक कारोबार, उपभोक्ता ठगी र गलत सूचनाको जोखिम घटाउन सहयोग पुग्छ । कारोबार तथा विज्ञापनबाट प्राप्त हुने आम्दानीलाई पारदर्शी बनाउँदै सम्बन्धित कर सरकारी प्रणालीमा दाखिला हुने व्यवस्था हुनुपर्छ ।
जग्गा कारोबार गर्ने कम्पनीका कानुनी समस्या समाधान गर्नुपर्छ

घरजग्गा व्यवसायीले भोग्दै आएका नीतिगत तथा कानुनी समस्यामध्ये कम्पनी दर्ता र जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था मूख्य छन् । जग्गा तथा आवास विकासको क्षेत्रमा काम गर्ने कम्पनीहरूले विभिन्न कानुनी र प्रशासनिक जटिलता सामना गर्नुपरेको छ । एउटै व्यक्ति वा समूहसँग सम्बन्धित विभिन्न कम्पनी सञ्चालन गर्दा जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसाय विस्तारमा समस्या सिर्जना हुने गरेको छ । व्यवसायको प्रकृति, लगानीको आकार र आवास विकासको आवश्यकतालाई ध्यानमा राखेर हदबन्दीसम्बन्धी कानुनी व्यवस्था व्यावहारिक बनाउनुपर्ने आजको आवश्यकता छ । कानुनको उद्देश्य जग्गाको अस्वाभाविक सञ्चय रोक्नु र भूमिको न्यायोचित उपयोग सुनिश्चित गर्नु भए पनि व्यवस्थित आवास विकास गर्ने कम्पनीलाई समेत प्रशासनिक झन्झट नहुने गरी स्पष्ट मापदण्ड बनाइनु पर्छ । 

घरजग्गा कर र सरकारी मूल्याङ्कन प्रणाली सुधार 

घरजग्गा कारोबारमा सरकारी मूल्याङ्कन र कर प्रणालीलाई पनि व्यावहारिक बनाउनुपर्ने आवश्यकता छ । जग्गा तथा घरजग्गा खरिदबिक्री गर्दा सरकारी मूल्याङ्कन र वास्तविक बजार मूल्यबीच कतिपय अवस्थामा ठूलो अन्तर देखिने गरेको छ । यस्तो अन्तरले कारोबारलाई पारदर्शी बनाउन कठिनाइ सिर्जना गर्न सक्छ । सरकारले घरजग्गा रजिस्ट्रेसन तथा कर प्रयोजनका लागि निर्धारण गर्ने मूल्याङ्कन प्रणालीलाई वास्तविक बजार अवस्थासँग नजिक बनाउनु पर्छ । मूल्याङ्कन प्रणाली पारदर्शी र व्यावहारिक भएमा कारोबारको वास्तविक मूल्य अभिलेखमा आउने, सरकारी राजस्व वृद्धि हुने र उपभोक्ता तथा व्यवसायीलाई पनि सहज हुन्छ । त्यसैले करको दर र मूल्याङ्कन प्रणाली समयअनुकूल पुनरावलोकन गर्नु आवश्यक हुन्छ । 

शहरीकरणभन्दा बाहिर पनि व्यवस्थित बस्ती विकास गर्नुपर्छ

शहरीकरणको विकास काठमाण्डौ उपत्यका र केही प्रमुख शहरमा मात्र केन्द्रित हुनु हुँदैन । देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत आवश्यक पूर्वाधार विस्तार गरेर व्यवस्थित बस्ती विकास गर्न सकिन्छ । यसका लागि सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवाको पहुँच विस्तार गर्न आवश्यक छ । काठमाण्डौ उपत्यकामा जनसंख्या र भौतिक संरचनाको चाप बढ्दै जाँदा वैकल्पिक सहर तथा व्यवस्थित आवास क्षेत्रको विकास अपरिहार्य बन्दै गएको छ । सरकारले एकीकृत बस्ती विकास, योजनाबद्ध आवास र अपार्टमेन्ट प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । यसले अव्यवस्थित रूपमा जग्गा खण्डीकरण हुने प्रवृत्ति घटाउनुका साथै उपलब्ध भूमिको व्यवस्थित उपयोग गर्न सहयोग पुग्छ ।

जग्गा वर्गीकरण र कित्ताकाटसम्बन्धी नीति स्पष्ट हुनुपर्छ

घरजग्गा कारोबारमा देखिएका समस्याको समाधानका लागि सरकारले जग्गा वर्गीकरण, कित्ताकाट र आवास विकाससम्बन्धी नीतिलाई स्पष्ट र व्यावहारिक बनाउनुपर्छ । जग्गाको वर्गीकरण र कित्ताकाटसम्बन्धी व्यवस्था स्पष्ट नहुँदा सर्वसाधारणदेखि व्यवसायीसम्मले विभिन्न समस्या भोग्नुपरेको छ । कतिपय अवस्थामा जग्गाको उपयोग, बिक्री तथा आवास निर्माणको प्रक्रियामा अन्योल देखिने गरेको छ । भूमिको उचित उपयोग सुनिश्चित गर्दै कृषि, आवासीय र अन्य प्रयोजनका लागि जग्गा छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्छ । सरकारले स्पष्ट मापदण्ड, पारदर्शी प्रक्रिया र स्थिर नीतिगत व्यवस्था लागू गर्न सके घरजग्गा क्षेत्रमा लगानीको वातावरण थप सुधार हुँदै जानेछ ।

घरजग्गा बजारको भविष्य 

घरजग्गा तथा आवास क्षेत्रमा दीर्घकालीन सम्भावना रहे पनि त्यसको विकास व्यवस्थित शहरीकरण, पूर्वाधार विस्तार र नीतिगत स्थिरतामा निर्भर रहन्छ । बैंकको ब्याजदर घट्नु र तरलता सहज हुनु बजार सुधारका सकारात्मक आधार भए पनि कारोबारलाई दिगो बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्छ । घरजग्गा व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउँदै आवासको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न सके यस क्षेत्रले अर्थतन्त्रमा थप योगदान पुर्‍याउन सक्छ । घरजग्गा क्षेत्रको सुधारका लागि सरकार, बैंक तथा वित्तीय संस्था, व्यवसायी र उपभोक्ताबीच समन्वय आवश्यक छ । राज्यले नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण बनाउने, व्यवसायीले पारदर्शी कारोबार गर्ने र उपभोक्ताले आवश्यक अध्ययन गरेर लगानी गर्ने हो भने घरजग्गा बजारलाई व्यवस्थित तथा दिगो बनाउन सकिन्छ । 

(नेपाल जग्गा तथा आवास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित )
 

प्रकाशित मिति:
थप विचार