नेभिगेशन
शनिबार, असोज १७, २०८३

हिमपहाडले हिरा सिर्जना गर्दछ

विपद् मानव जीवनको अभिन्न अंग जस्तै बेलाबखत कहीँ न कतै विभिन्न किसिमबाट आइरहेकै हुन्छ । विपद् पर्दा मानवीयताका साथै भौतिक आदि क्षति हुने नै गर्दछन् । विपद् पश्चात् प्रत्येक पटक मानव समाजले पुनर्निर्माण गरेर नयाँ जीवन शुरुआत गर्दै आएका छन् । पुनर्निर्माण गर्दा आर्थिक, सामाजिक आदि विकास पनि हुने गर्दछ । यस्तैलाई विपद्पछिको लाभ भन्ने गरिएको छ । रसुवा जिल्लाको लाङटाङमा अकस्मात् हिमपहाड खस्दा जुन अकल्पनीय ठूलो विपद् हामीमाथि आइपर्‍याे, त्यस हिमपहाड खसेको प्रचण्ड शक्तिले त्यस स्थानमा हिरा सृष्टि हुन सक्ने गरी बलियो सम्भावना पनि देखिन्छ । यदि त्यसो हो भने यस विपद‍्बाट हामीलाई भविष्यमा लाभ हुन सक्दछ ।

लाङटाङ क्षेत्रमा अगस्ट २६ (भदौ १०) मा हिमपहाड खस्नुभन्दा पाँच दिन अगाडिदेखि नै अमेरिकी भूगर्भ विभागको संयन्त्रले मापन गरेको तापक्रम ५ डिग्री सेल्सियस थियो । साधारणतया उक्त क्षेत्रमा त्यस समय तापक्रम ४ डिग्री हुने गर्दथ्यो । जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा नै वायुमण्डलको तापक्रम बढ्ने क्रम जारी थियो । त्यसरी तीव्र गतिमा तापक्रम बढ्नुमा मानव सिर्जित ऊर्जामा आधारित विकासको परिणाम नै हो ।

एक डिग्री तापक्रम बढ्न जाँदा स्थायी हिउँभूमि कमजोर भएर हिमपहाडलाई वहन गर्ने क्षमता न्यून भएर भारी हिमपहाड झन्डै १.५ किमी सीधै तल खस्न पुग्यो । हिमपहाड हिमतालमा प्रचण्ड आवाजका साथ बजारियो । त्यसले हिमतालको लेदो गोलीको गतिमा उछिट्टियो । हिमपहाड हिमतालको पिँधमा यसरी बजारियो कि त्यहाँ भएका चट्टान धूलोपिठो हुन पुग्यो । त्यसले हिमतालको गहिराइ पनि बढाइदियो । त्यस्तो अथाह शक्तिले हिमपहाड हिमतालको पिँधमा बजारिँदा त्यहाँ कोइला अर्थात् कार्बनयुक्त कुनै पनि वस्तु भए त्यसलाई हिरामा परिणत गरिदिन्छ । हिरा बन्ने प्रक्रिया यस्तै अखण्ड शक्तिले कोइलालाई हान्दा कार्बनको भित्री बनावट हिरामा परिणत भएर नै हो । हिमपहाड हिमतालमा खस्दा उत्पन्न भूकम्प नै ५.२ रेक्टर स्केल मापन गरिएको छ । त्यत्रो शक्तिले अवश्य पनि त्यस ठाउँमा कोइला भए हिरामा परिणत हुनेछ ।

यस पृथ्वीमा जहीँतहीँ पनि हिरा खानी पाइन्छ । हिरा त्यस्तै प्राकृतिक शक्तिले कोइलामा बजाररिँदा सृष्टि हुने हो । त्यस्तो विषम अवस्थामा मात्र हिरा निर्माण हुने गर्दछ । मानवले प्रयोगशालामा यस्तै अपूर्व शक्ति उत्पन्न गरेर कोइलालाई हिरामा परिणत गरेको पनि उदाहरण पाइन्छ । त्यस्तो प्रक्रियाबाट उत्पन्न गरिएको हिरा अति महँगो हुने भएकाले व्यावसायिक रूपमा प्रयोगशालामा निर्माण गर्न आर्थिक रूपले सम्भव नभएको हो ।

हिमपहाड हिमतालमा बजारिएको संयोग अत्यन्त दुर्लभ हो जुन नेपालमा गत महिना भयो । यसरी हिमपहाड खस्दा हिमतालको लेदो गोलीको गतिमा उछिट्टिँदा हिमलेदोको छाल झन्डै ३० मिटर (१ सय फिट) उचाइ लिएर तलतिर बग्यो । यस्तो अकल्पनीय प्राकृतिक विनाशकारी हिमलेदोको छालले आफ्नो अगाडि साथै दायाँबायाँ रहेका भएभरका संरचनालाई आफूसँगै सखाप पारेर बगायो । बहावले बाटोमा परेका सम्पूर्ण संरचनालाई पिस्दै धूलोपिठो पार्दै आफूसँगै लिएर गयो ।

हिमलेदोको लहरले बहावमा परेका रसुवागढीदेखि तल धादिङसम्म नै यातायात, सञ्चार, साथै ऊर्जाका पूर्वाधार, बजार, धार्मिक तथा सांस्कृतिक संरचनाहरूलाई आंशिक र कुनै पूर्णरूपमा क्षति पुर्‍यायो । तिनीहरूको अस्तित्व नै अत्तोपत्तो भएन । त्यस्ता संरचनाहरूको पुनर्निर्माणका लागि लाग्ने रकम खर्बाैँ पुग्न सक्दछ । कुनै संरचनाहरू त पुनर्निर्माण हुने अवस्थामै छैन । मानव क्षतिको त पुनः प्राप्ति हुने नै भएन । हिमलेदो लहरमा परेका मानवले सदाका लागि जीवन गुमाए । मानव क्षतिको रमकमा मूल्याङ्कन हुँदैन ।

साँच्चिकै संसारमा हिराको सिर्जना हिमपहाड हिमतालमा खस्दा भएको भए हिमलेदो खोलानाला, नदी आदिका किनारमा थुप्रिएका हिमलेदोका थुप्रो र अवशेषहरूमा पनि हुनसक्दछ । हिरा छ कि छैन भनेर परीक्षण गर्न कम्तीमा एक घन मिटर लेदो हटाउँदै जाँदा अन्तिममा बाँकी भएको अवशेषमा हेर्नुपर्ने हुन्छ । त्यस्तोमा हिरा हुने सम्भावना छ । हिरा मात्र होइन, हिमतालको पिँधमा अन्य खनिज पदार्थ भएको भए त्यसका केही साना मसिनाहरू पनि बाँकी हुने सम्भावना छ । ती अवशेषहरूलाई सरकारी निकाय भूगर्भ तथा खानी विभागमार्फत खानीविद्लाई विश्लेषणका लागि दिनु उचित हुनेछ । हिरा त सबैले चिन्ने नै हुन्छ । त्यसको पहिचानका लागि विशेषज्ञकहाँ जानु आवश्यक पर्दैन ।

हिमलहरले लेदोको एक घन मिटर लिटर पानीमा धोएर अवशेषमा हिरा छ कि छैन भनेर एक ठाउँमा मात्र होइन, रसुवादेखि धादिङसम्म नै जहाँ–जहाँ हिमलेदोको लहर पुगेको छ, त्यहाँ त्यहाँको लेदो परीक्षण गर्नु उपयुक्त हुनेछ । त्यस्तो कार्यका लागि धैर्य र साधारण लेदो चाल्ने ज्ञान पनि आवश्यक छ । लेदो चाल्ने ज्ञान भने अनिवार्य आवश्यक छ ।

त्यसो गर्दा लेदोमा यदि हिरा फेला पर्‍याे भने त्यसमा कसको स्वामित्व हुन्छ त ? यस प्रश्नको उत्तर खोज्ने हो भने हालसम्मको खनिजसम्बन्धी नियम–कानूनमा खनिज पदार्थ जसले जहाँ भेट्टाए पनि त्यसमा सरकारकै स्वामित्व हुनेछ भनिएको छ । त्यस नियमअनुसार लेदोमा पाइने हिरा पनि नेपाल सरकारकै हुनेछ । त्यसैले सर्वसाधारण जनताले खोजी नगर्ने स्वाभाविक छ ।

हिमलेदोमा हिरा पाइएको तथ्य प्रमाण पाइयो भने त्यसलाई प्रशोधन गरेर निकाल्न कोही पनि व्यक्ति वा कम्पनीले भूगर्भ तथा खानी विभागबाट खानी खोज गर्न अनुमति प्राप्त गर्नुपर्नेछ । त्यसरी हिमलेदोमा हिरा खोज्ने अनुमति प्राप्त गरेपछि त्यस व्यक्ति वा कम्पनीले हिमलेदो चालेर जति पनि हिरा प्राप्त हुनेछ, सोही कम्पनी वा व्यक्ति नै त्यसको मालिक हुनेछ ।

यस पंक्तिकारले इश्वी संवत् १९६८ देखि १९८० सम्म भूगर्भ तथा खानी विभागमा खानी इन्जिनयरका साथै वरिष्ठ खानी इन्जिनियर भएर १३ वर्ष खानी अन्वेषण कार्यमा संलग्न भएर सेवा गरेको हो । त्यस अनुभवका आधारमा नै यी सबै भूगर्भिक तथ्यहरूसहित आफ्ना विचार पनि प्रस्तुत गरेको हो । आफूलाई यस्तो महत्वपूर्ण तथ्यहरू थाहा हुँदाहुँदै जनसमक्ष किन नल्याएको भनेर भविष्यमा उत्पन्न हुने प्रश्नको जवाफमा यी पंक्तिहरू लेखेको हुँ । हिरा हुनै पर्दछ भन्न जिकिर पनि होइन ।

प्रकाशित मिति:
थप विचार