नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

लेन मिचेर अनियन्त्रित बन्दै बालेन एक्सप्रेस

असार पहिलो हप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारलाई ‘लोकल’ नभई ‘एक्सप्रेस’ गाडीको संज्ञा दिनुभएको थियो । कार्यकर्ता र समर्थकको गडगडाहट ताली र हुटिङका बीच उहाँले भन्नुभएको थियो, ‘हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लगाउनुपर्दैन । यो अनियन्त्रित पनि छैन ।’

प्रधानमन्त्रीको त्यो अभिव्यक्तिले सरकारको तीव्र गति र काम गर्ने हुटहुटीलाई संकेत गर्थ्याे । तर केही समययताका प्रधानमन्त्री, उहाँको सचिवालय, केही मन्त्री र समग्र सरकारी गतिविधि हेर्दा बालेनको एक्सप्रेस अनियन्त्रित र मिचाहा अन्धवेगमा दौडेको देखिन्छ ।

सरकारको गति जति तीव्र भए पनि त्यसलाई संविधान, कानून र लोकतान्त्रिक मूल्यभित्र राख्नुपर्छ । तर पछिल्ला घटनाक्रमले सरकारको कार्यशैलीमा विधि र प्रक्रियाभन्दा अराजक आदेश हाबी हुन थालेका छन् । सुशासनका नाममा राज्यका संयन्त्रलाई आफ्नो नियन्त्रणमा राख्ने, प्रश्न गर्नेहरूका मुख थुन्ने, जवाफदेही कसैप्रति नहुने, असहमतिप्रति असहिष्णु हुने, आलोचनालाई विषयान्तर गर्ने प्रवृत्ति बितेका छ महिनामा अनेक पटक दोहोरिएका छन् । सरकारले स्वेच्छाचारी बाटो समातेर लोकतान्त्रिक पद्धतिप्रति गम्भीर संशय जगाएको छ ।

पछिल्लो पटक सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथिको धरपकडले यो प्रश्नलाई झन् गम्भीर बनाएको छ । समाचारको विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गर्नु, पत्रकारलाई कार्यालयबाटै नियन्त्रणमा लिनु र उनीहरूलाई समाचारको स्रोत खुलाउन दबाव दिन खोज्नु लोकतन्त्रमा सामान्य प्रहरी कारबाही मानिँदैन ।

प्रधानमन्त्रीको सचिवालयले घटनामा आफ्नो संलग्नता र पूर्वजानकारी अस्वीकार गर्दै पत्रकारलाई तत्काल छाड्न निर्देशन दिएको दाबी गर्‍याे । यहाँ सबैभन्दा गम्भीर प्रश्न प्रधानमन्त्रीको सचिवालय संलग्न थियो वा थिएन भन्ने होइन । राज्यको एउटा निकायले पत्रकारलाई नियन्त्रणमा लिने र अर्को निकायले आफूलाई थाहा नभएको बताउने अवस्था कसरी सिर्जना भयो भन्ने हो । प्रहरी कसको आदेशमा चलिरहेको छ ? गृह मन्त्रालयको भूमिका के हो ? प्रधानमन्त्री कार्यालयको निर्देशनविना प्रहरी यति संवेदनशील विषयमा अघि बढेको हो भने त्यसको जवाफदेहिता कसले लिने ? संलग्नता थियो भने प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकार गर्नुको कारण के हो ? राज्यका निकायबीचको यो विरोधाभासले शासन सञ्चालनको जवाफदेहितामाथि नै प्रश्न उठाएको छ ।

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको पछिल्लो घटनाले कार्यकारी हस्तक्षेपको अर्को पाटो उजागर गरेको छ । आर्थिक प्रस्ताव खोल्ने अन्तिम तयारीमा रहेका बेला जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक र आयोजनाका निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्‍याएको समाचार सार्वजनिक भयो । त्यसपछि आयोजनाको ठेक्का प्रक्रिया रद्द भयो ।

ठेक्का प्रक्रियामा अनियमितता भएको आशंका छ भने त्यसको छानबिन हुनुपर्छ । दोषी देखिए कारबाही हुनुपर्छ । त्यसका लागि सार्वजनिक खरिदसम्बन्धी कानून, स्थापित प्रक्रिया र जिम्मेवार निकाय छन् । प्रधानमन्त्रीको सचिवालयले कर्मचारी नियन्त्रणमा लिएर ठेक्का रद्द गराउने शैली स्थापित हुन थाल्यो भने भोलि अरू मन्त्री, सचिव वा आयोजना प्रमुखले कानून र प्रक्रियाका आधारमा निर्णय गर्ने आँट गर्छ ? कर्मचारीलाई जवाफदेही बनाउने नाममा प्रशासनलाई प्रधानमन्त्रीको सचिवालयको आदेशपालक बनाउनु सुशासन होइन ।

यो पहिलो पटक उठेको प्रश्न होइन । यसअघि राहदानी छपाइको ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, अख्तियारका पदाधिकारीमाथि परेको दबाव र त्यसपछि अदालतबाट आएका आदेशले कार्यकारी अधिकारको सीमा र संस्थागत स्वायत्तताको विषय लगभग निर्क्याेल गरेका थिए ।

जथाभाबी हस्तक्षेप र राज्यसत्ताको दुरुपयोगका समग्र घटनालाई हेर्दा सरकार लोकतन्त्रको बाटो छाडेर अराजक र अनिश्चित भीरको बाटोमा अघि बढेको देखिन्छ । सरकारको काम गलत गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउने हो, तर त्यसका लागि सरकार स्वयं पनि कानूनी दायराभित्र बस्नुपर्छ । शंका लाग्दैमा पक्राउ, असहमति जनाउँदैमा दबाव र प्रश्न उठाउँदैमा त्रास सिर्जना गर्ने प्रवृत्ति सुशासनको नाममा अराजकता हो । प्रधानमन्त्री र सरकारका पछिल्ला क्रियाकलापले लोकतन्त्र र संविधान नै धरापमा पर्न थालेको छ ।

सरकारको अर्को समस्या प्रधानमन्त्री र उहाँको सचिवालयको कार्यशैलीसँग जोडिएको छ । प्रधानमन्त्रीले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने विषयमा सामाजिक सञ्जालका हल्का टिप्पणी र कटाक्षले ठाउँ लिइरहेका छन् । प्रधानमन्त्रीका पछिल्ला फेसबुक स्टाटसले जग हँसाइरहेको छ ।

मन्त्रीहरूका विवादित अभिव्यक्तिमाथि पनि प्रभावकारी नियन्त्रण देखिँदैन । सरकार सञ्चालन भनेको फेसबुक स्टाटस लेख्नु, चेतावनी दिनु र आदेश जारी गर्नु मात्रै होइन । हरेक निर्णयको औचित्य पुष्टि गर्नु, प्रश्नको जवाफ दिनु र गल्ती भए स्वीकार गर्नु पनि शासनकै अभिन्न हिस्सा हो ।

अर्कोतर्फ रास्वपा सभापति रवि लामिछाने र पार्टी नेतृत्वको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । प्रधानमन्त्री र पार्टी सभापति फरक व्यक्ति भए पनि सरकार र पार्टीबीचको राजनीतिक सम्बन्धबाट नेतृत्व अलग हुन सक्दैन । लोकतन्त्र र संविधानको पक्षमा वक्तव्य दिनु सकारात्मक हो, तर त्यसलाई व्यवहारमा उतार्न सरकारको कार्यशैलीमाथि प्रभावकारी निगरानी र आवश्यक हस्तक्षेप पनि चाहिन्छ ।

बालेन सरकारसँग अवसरको कमी छैन । झन्डै दुईतिहाइको समर्थन, नागरिकको ठूलो अपेक्षा र पुरानो राजनीतिक कार्यशैलीप्रतिको वितृष्णाबाट प्राप्त जनादेश सरकारका लागि ठूलो पूँजी हो । आफैँले प्रतिबद्धता जनाएको भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार, सरकारी खर्चमा मितव्ययिता, रोजगारी सिर्जना र प्रशासनिक जवाफदेहितामा परिणाम देखाउने हो भने सरकारले नागरिकको विश्वास जित्न सक्छ । तर त्यसका लागि कर्मचारी, पत्रकार, व्यवसायी र आलोचकलाई नियन्त्रणमा राख्ने होइन, राज्यका संस्थालाई बलियो बनाउनुपर्छ ।

प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा भनेजस्तै एक्सप्रेस गाडीलाई गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउनु नपर्ला । तर एक्सप्रेस गाडीले पनि आफ्नो लेन छाड्न पाउँदैन । लोकतन्त्र, संविधान, विधि, कानून मान्नुपर्छ । संकेत बुझ्नुपर्छ र यात्रुको सुरक्षाको जिम्मेवारी लिनुपर्छ । गति मात्रै प्रगतिको प्रमाण होइन । गलत दिशामा तीव्र गतिमा दौडिनु झन् ठूलो दुर्घटनाको कारण बन्न सक्छ ।

बालेन सरकारले बुझ्नुपर्ने कुरा यही हो– सरकारको आलोचना गर्ने सबै विकासविरोधी होइनन् । प्रश्न गर्ने सबै शत्रु होइनन् र असहमति जनाउने सबै भ्रष्टाचारी होइनन् । लोकतन्त्रमा सरकारभन्दा माथि संविधान हुन्छ, प्रधानमन्त्रीभन्दा माथि कानून हुन्छ र जनादेशभन्दा पनि माथि नागरिकको सार्वभौम अधिकार हुन्छ ।

प्रकाशित मिति:
थप विचार