नेभिगेशन
मंगलबार, असोज २७, २०८३

लिग–२ शृङ्खला : ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जीत

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले हरायो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा १५० रन बनाउँदा सबै विकेट गुमायो ।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए । ४१ रन बनाउँदा ६ विकेट गुमाएकाे अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले साताैँ विकेटका लागि ८३ रनकाे साझेदारी गरे । नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १/१ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो ।

नेपालका रोहित पौडेलले ६१, करण केसीले १६ बलमा ४० रन बनाए । यस्तै अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे । ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान २/२ विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालले अस्ति आइतवार क्यानडालाई २४ रनले हराएको थियो ।

योसँगै नेपाल लिग–२ मा ३४ खेलबाट २८ अङ्कसहित छैटौँ स्थानमा छ । यस्तै ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छ ।

लिग–२ मा शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नुपर्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद