नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

‘एल निनो’ डिसेम्बरमा उत्कर्षमा पुग्ने

प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै ‘एल निनो’ तीव्र बन्दै गएको र आउँदो डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुन सक्ने माैसमविद्ले चेतावनी दिएका छन् ।

डब्ल्यूएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । उहाँका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झन्डै शतप्रतिशत छ ।

डब्ल्यूएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम गएको जुन महिनामा औसतभन्दा १.६ डिग्री सेल्सियस धेरै रहेकामा अगस्ट महिनामा २.५ डिग्री सेल्सियस पुगेको थियो । अक्टोबर–नोभेम्बर–डिसेम्बरमा यो सामान्यभन्दा झन्डै ३.७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ र यो सन् २०१५–२०१६ मा कायम २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानभन्दा धेरै हो ।

एल निनोका कारण पृथ्वीमा नयाँ ताप थपिने नभई समुद्रमा सञ्चित ताप बाहिर आउने डब्ल्यूएमओका प्रमुख साउलोले बताउनुभयो । अहिलेको समुद्र आफूहरूले मापन गरेयताकै सबैभन्दा तातो रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

एल निनोले विश्वका धेरै भागमा औसतभन्दा धेरै तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन ल्याउने भएकाले खडेरी र बाढीको जोखिम बढ्न सक्छ । यसले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुदायमा समेत असर पार्ने डब्ल्यूएमओले जनाएको छ ।

सामान्यतया प्रत्येक २ देखि ७ वर्षमा देखिने एल निनो झन्डै ९ देखि १२ महिनासम्म रहन्छ । यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेखकै अत्यधिक तातो वर्ष बनाउन योगदान गरेको थियो ।

अहिलेको एल निनोले मध्य अमेरिकालगायत केही क्षेत्रमा प्रभाव देखाउन थालिसकेको छ । त्यहाँ खडेरीका कारण जनावर र बाली नष्ट भइरहेका छन् ।

‘एल निनो’ समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।

प्रकाशित मिति:
थप विश्व