अर्थतन्त्रका अधिकांश बाह्य सूचकमा पछिल्ला वर्षहरूमा सुधार देखिँदै गएको छ । विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, विप्रेषण (रेमिट्यान्स) आप्रवाह, राजस्व परिचालन तथा बैंकिङ प्रणालीको तरलतामा देखिएको सकारात्मक परिवर्तनले अर्थतन्त्रलाई थप स्थायित्व प्रदान गरेको छ । यद्यपि अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि त्यसको प्रभाव आन्तरिक उत्पादन, रोजगारी सिर्जना, निजी लगानी र पूँजीगत खर्चमा अपेक्षित रूपमा देखिन सकेको छैन । पछिल्ला दुई–तीन वर्षदेखि कायम रहेको बाह्य क्षेत्रको सुधारको प्रवृत्ति यस वर्ष पनि निरन्तर छ । शोधनान्तर स्थिति बचतमा रहनु, विदेशी विनिमय सञ्चिति बढ्दै जानु तथा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि हुनु अर्थतन्त्रका सकारात्मक पक्ष हुन् । यसले बाह्य क्षेत्रलाई बलियो बनाउनुका साथै विदेशी मुद्रा भुक्तानी गर्न सक्ने क्षमतामा समेत सुधार गरेको छ ।
विशेषगरी विप्रेषण आप्रवाहमा देखिएको उच्च वृद्धिले अर्थतन्त्रलाई थप राहत दिएको छ । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा धेरै विप्रेषण भित्रिनुले विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन महत्त्वपूर्ण योगदान गरेको छ । विदेशमा काम गर्ने नेपालीले पठाएको रकमले उपभोग, आयात तथा बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समेत सहयोग पुर्याएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहनु पनि अर्थतन्त्रका लागि सकारात्मक अवस्था हो । हाल बैंकिङ प्रणालीमा १४ खर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यसले बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न सक्ने पर्याप्त क्षमता रहेको देखाउँछ । ब्याजदरसमेत तुलनात्मक रूपमा न्यून रहेको अवस्थामा लगानी विस्तारका लागि अनुकूल वित्तीय वातावरण छ ।
राजस्व परिचालनमा देखिएको सुधारलाई पनि अर्थतन्त्रको सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । गएको वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व संकलन बढेको छ । सरकारले ल्याएको करदाता प्रोत्साहन कार्यक्रम, मूल्य अभिवृद्धि कर तथा भन्सार राजस्व संकलनमा भएको वृद्धिले सरकारी आम्दानी बढाउन सहयोग गरेको देखिन्छ । निर्यात तथा आयात दुवैमा सुधारोन्मुख वृद्धि देखिनुले आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत गर्छ । गएको वर्षदेखि निर्यातको वृद्धिदर तुलनात्मक रूपमा राम्रो रहेको छ । आयातमा पनि सुधार देखिनुले बजारमा आर्थिक गतिविधि चलायमान हुन थालेको देखाउँछ । तर यस्ता सुधारलाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न आन्तरिक उत्पादन र लगानी विस्तार आवश्यक छ ।
सुधारका संकेत भए पनि अर्थतन्त्रमा आन्तरिक चुनौती कायमै
अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र अझै अपेक्षित गतिमा चलायमान हुन सकेको छैन । विशेषगरी सरकारी पूँजीगत खर्चको कमजोर कार्यान्वयन, निजी क्षेत्रको लगानीमा देखिएको संकुचन र रोजगारी सिर्जनामा आएको सुस्तता मुख्य चुनौतीका रूपमा रहेका छन् । सरकारले हरेक वर्ष ठूलो आकारको बजेट ल्याउने गरे पनि पूँजीगत खर्च प्रभावकारी रूपमा हुन नसक्नु अर्थतन्त्रको पुरानै समस्याका रूपमा रहेको छ । बजेट विनियोजनमा देखिएका कमजोरी, आयोजना छनोटमा पर्याप्त प्राथमिकता निर्धारण हुन नसक्नु तथा परम्परागत वितरणमुखी बजेट प्रणालीका कारण विकास निर्माणका कामले गति लिन सकेको देखिँदैन ।
सरकारी खर्चमा पूँजीगत खर्चको हिस्सा र त्यसको प्रभावकारिता दुवै बढाउनुपर्ने देखिन्छ । विकासका नाममा बजेट विनियोजन गर्नु मात्रै पर्याप्त हुँदैन । उत्पादन र आर्थिक प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता र ब्याजदर न्यून भए पनि निजी क्षेत्रमा कर्जा प्रवाह तथा लगानी विस्तार हुन नसक्नु अर्को गम्भीर चुनौती हो । वित्तीय स्रोत उपलब्ध हुँदाहुँदै पनि व्यवसायी तथा लगानीकर्ताले नयाँ व्यवसाय विस्तार गर्न र थप लगानी गर्न उत्साह देखाउन नसक्नुले अर्थतन्त्रको माग पक्ष कमजोर रहेको संकेत गर्छ । विशेषगरी कोभिड महामारीपछि व्यवसायको प्रकृति र सञ्चालन शैलीमा आएको परिवर्तन, उपभोग तथा बजार मागमा देखिएको संकुचन र रोजगारी सिर्जनामा आएको कमीले निजी क्षेत्रको मनोबल प्रभावित भएको छ । यसले बैंकमा पैसा थुप्रिने तर वास्तविक उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्ने अवस्था सिर्जना गरेको छ ।
श्रम अभाव र बढ्दो लागतले उत्पादन प्रभावित
अर्थतन्त्रको अर्को चुनौतीका रूपमा श्रमशक्ति अभाव र उत्पादन लागतमा भएको वृद्धि हो । कृषि, निर्माण तथा उत्पादनमूलक उद्योगमा आवश्यक श्रमिक उपलब्ध हुन नसक्दा व्यवसाय सञ्चालनमा कठिनाइ देखिएको छ । श्रमिकको अभावसँगै ज्यालादर बढ्दा उत्पादन लागतसमेत वृद्धि भएको छ । यसले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने जोखिम छ । उत्पादन लागत बढ्दै जाने तर बजारमा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले स्वदेशी उद्योगलाई थप दबावमा पार्न सक्छ । त्यसैगरी बाह्य आर्थिक प्रभाव, इन्धनको मूल्यवृद्धि तथा आन्तरिक रूपमा मौसमजन्य जोखिम, बाढी पहिरोलगायतका कारणले मूल्यवृद्धिमा दबाव सिर्जना भएको छ । मुद्रास्फीति झन्डै ६.५ प्रतिशतको आसपास पुग्नुले आमनागरिकको क्रयशक्ति र व्यवसाय सञ्चालनको लागतमा प्रभाव पार्न सक्ने देखिएको छ ।
सार्वजनिक ऋणको बढ्दो भारप्रति चिन्ता
सार्वजनिक ऋणको बढ्दो आकारलाई पनि अर्थतन्त्रको दीर्घकालीन चुनौतीका रूपमा लिन सकिन्छ । पूर्वाधार निर्माणदेखि सरकारी प्रशासनिक खर्चसम्मका लागि ऋणमा निर्भरता बढ्दै जाँदा सार्वजनिक ऋणको भार झन्डै ३० खर्ब रुपैयाँ हाराहारी पुगेको छ । ऋण लिएर निर्माण गरिएका आयोजनाले भविष्यमा उत्पादन, आम्दानी र आर्थिक प्रतिफल दिन सकेमा त्यसले अर्थतन्त्रलाई सहयोग पुर्याउन सक्छ । तर उत्पादन र प्रतिफल नदिने क्षेत्रमा ऋणको उपयोग भएमा भविष्यमा साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै जाने जोखिम बढ्छ । त्यसैले सार्वजनिक ऋण परिचालन गर्दा आयोजनाको आर्थिक तथा सामाजिक प्रतिफल, कार्यान्वयन क्षमता र दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिनुपर्छ ।
निजी क्षेत्रको विश्वास जित्नु आवश्यक
अर्थतन्त्रमा सुधार ल्याउन सरकार र निजी क्षेत्रबीचको विश्वास बलियो हुन आवश्यक छ । नीतिगत अस्थिरता, सरकारी निर्णय प्रक्रियामा ढिलाइ तथा प्रशासनिक झन्झटका कारण लगानीकर्तामा पर्याप्त विश्वास सिर्जना हुन नसकेको देखाउँछ । लगानीकर्ताले दीर्घकालीन योजना बनाएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकारले नीतिगत स्थिरता, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी, भू–राजनीतिक संवेदनशीलता र नेपालको सीमित आन्तरिक बजारका कारण निर्यातमुखी उद्योगले अपेक्षित गति लिन सकेको छैन । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने र बजार पहुँच विस्तार गर्ने नीति आवश्यक छ ।
उत्पादन र रोजगारी केन्द्रित आर्थिक नीति बन्नुपर्छ
अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सबल बनाउन सरकारले अबको बजेट तथा आर्थिक नीतिलाई उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्छ । सरकारले ठूला आयोजना घोषणा गर्ने प्रवृत्तिभन्दा पनि आयोजना छनोट, कार्यान्वयन क्षमता र त्यसबाट प्राप्त हुने आर्थिक प्रतिफललाई प्राथमिकता दिनुपर्छ । पर्याप्त तयारी, स्रोत सुनिश्चितता र कार्यान्वयनको स्पष्ट योजना भएका आयोजनामा मात्रै पूँजीगत खर्च केन्द्रित गर्नुपर्छ । निजी क्षेत्रको लगानी बढाउन नीतिगत स्थिरता कायम गर्नुका साथै सरकारी निकायको कार्यशैलीलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउनुपर्छ । लगानीकर्ताले अनिश्चितता र प्रशासनिक झन्झटको सामना गर्नुपर्ने अवस्था अन्त्य गर्न सकेमा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुनसक्छ ।
त्यसैगरी विप्रेषणबाट प्राप्त रकमलाई आयातमुखी उपभोगमा मात्र सीमित नराखी उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्छ । विप्रेषणको रकम उद्यमशीलता विकास, साना तथा मझौला उद्योगको विस्तार, कृषि आधुनिकीकरण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सके अर्थतन्त्रमा यसको दीर्घकालीन प्रभाव देखिन सक्छ । शिक्षा, सीप विकास र प्रविधिमा लगानी बढाएर स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता छ ।
श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके कृषि, उद्योग, निर्माण तथा सेवा क्षेत्रमा देखिएको श्रमिक अभाव कम गर्न सकिन्छ । यसका साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गैरभन्सार अवरोध हटाउने, गुणस्तर प्रमाणीकरण प्रणाली सुधार गर्ने तथा निर्यातका नयाँ बजार खोज्ने काममा सरकारले प्राथमिकता दिनुपर्छ ।
बाह्य क्षेत्रको सुधारलाई आन्तरिक अर्थतन्त्रको सबलीकरणमा बदल्नुपर्छ
अर्थतन्त्रमा पछिल्लो समय देखिएका सकारात्मक सूचकलाई उपलब्धिका रूपमा लिन सकिए पनि त्यसैमा सन्तुष्ट हुने अवस्था छैन । विदेशी मुद्रा सञ्चिति बढ्नु, विप्रेषण आप्रवाह उच्च हुनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु र राजस्व संकलनमा सुधार आउनु अर्थतन्त्रका लागि महत्त्वपूर्ण आधार हुन् । तर यी उपलब्धिको वास्तविक लाभ उत्पादन वृद्धि, रोजगारी सिर्जना, निजी लगानी विस्तार र नागरिकको जीवनस्तर सुधारमा देखिन आवश्यक छ । बैंकमा पैसा थुप्रिने तर उद्योग व्यवसायमा लगानी नबढ्ने, सरकारले बजेट ल्याउने तर विकास खर्च गर्न नसक्ने र विप्रेषण भित्रिने तर आयातमुखी उपभोगमै निर्भरता रहने अवस्थाको अन्त्य हुनुपर्छ । त्यसैले अबको आर्थिक नीतिले बाह्य क्षेत्रको स्थायित्वलाई आन्तरिक उत्पादन र आर्थिक गतिविधि विस्तारसँग जोड्नुपर्छ । सरकारले पूँजीगत खर्चको प्रभावकारिता बढाउने, निजी क्षेत्रको विश्वास जित्ने, उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्ने र रोजगारी सिर्जनालाई प्राथमिकता दिन सकेमा अहिले देखिएका सकारात्मक आर्थिक संकेतलाई दिगो आर्थिक सुधारमा रूपान्तरण गर्न सकिन्छ ।
(अर्थविद् एवम् राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित)