नेभिगेशन

टप इन्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’ को लगातार दोस्रो हार

काटमाण्डौ — अस्ट्रेलियामा जारी टप इन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ ।

डार्विनमा रहेको मरारा ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स–११ ले नेपाललाई नौ विकेटले पराजित गर्‍यो ।

नेपालले दिएको ९९ रनको सामान्य लक्ष्य बंगलादेशले १० ओभर २ बलमा एक विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

शुरुआतमै लगातार विकेट गुमाएपछि नेपाल १० रनमै चार विकेट गुमाएर दबाबमा परेको थियो । नेपालका कुशल भुर्तेलले ४६ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे । विपिन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो खेलमा नेपाल हिजो एनटी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो । अब नेपालले पर्सि होबर्ट हुरिक्यास एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद