नेभिगेशन

प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै

मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुँदैछ । प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । रोहित पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो ।

नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्त्वपूर्ण मानिएको छ । समूह चरणमा राम्रो शुरुवात गर्दै सेमिफाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाली टोली छ । नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ ।

यस्तै तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । प्रतियोगितामा १० टोली सहभागी छन् र चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने अवसर पाउनेछ ।

नेपाल र बहराइनबीचको खेलसँगै नेपाली टोलीको एसिया कप यात्रा पनि औपचारिक रूपमा शुरु हुनेछ । हिजोदेखि शुरु भएको प्रतियोगितामा ओमान र हङकङले विजयी शुरुवात गरेका छन् । ओमानले सिंगापुरलाई १ सय ३१ रनले हराउँदा हङकङले साउदी अरबलाई १६ रनले हरायो ।

प्रकाशित मिति:
थप खेलकुद