नेभिगेशन

मेची राजमार्गमा झन्डै २ महिनापछि साना गाडी चल्न थाले

काठमाण्डाै – गएको असार २३ गतेको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन् ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ मा रहेकाे इलाम–राजदुवाली सडक खण्ड मर्मत गरेपछि आज बिहानदेखि साना गाडी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

सडक डिभिजन इलामको झन्डै २ महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाडीका लागि आवतजावत खुला भएको हो । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलामसहित पाँचथर र ताप्लेजुङ आउने यात्रु र साना गाडीलाई सहज भएको छ ।

माथिबाट खसेको पहिरो पन्छाउनुका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाडी चल्न सक्ने भएका सडक डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो ।

सडक निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाडी काम सकिएपछि मात्रै चल्नेछन् । ठूला र मालवाहक गाडीलाई अहिले वैकल्पिक सडक तिल्केनी–सिमलगोलाई र मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति:
थप समाज