नेभिगेशन

क्विन्टन डी ककले विराट कोहली र डेभिड वार्नरको कीर्तिमान बराबरी गरे

काठमाण्डाै – दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डी ककले १०औँ टी–२० शतकसहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन् ।

वेस्ट इन्डिजको ‘क्यारेबियन प्रिमियर लिग’ (सीपीएल) क्रिकेटमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दै डी ककले यो उपलब्धि हासिल गरेका हुन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँगको खेलमा उनले ६ छक्का र ११ चौकासहित ५७ बलमा १०६ रन बनाए ।

योसँगै ३३ वर्षीय क्विन्टन डी कक टी–२० क्रिकेटमा १० वा त्योभन्दा धेरै शतक बनाउने विश्वको पाँचौँ खेलाडी बनेका छन् ।

टी–२० क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डी ककभन्दा अघि वेस्ट इन्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन् । टी–२० क्रिकेटमा गेलले २२ र बाबरले १३ शतक बनाएका छन् ।

क्विन्टन डी ककले टी–२० क्रिकेटमा ४५७ खेलमा १० शतक र ८४ अर्धशतकसहित १२ हजार ८६७ रन बनाएका छन् । उनी टी–२० क्रिकेटमा ५०० भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका १३ ब्याटरमध्ये पनि पर्छन् ।

प्रकाशित मिति:
थप खेलकुद