नेभिगेशन

काठमाण्डाै–हेटौँडा जोड्ने वैकल्पिक मार्गकाे नयाँ रुट

काठमाण्डाै – त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा गाडी आवागमन प्रभावित भएपछि काठमाण्डाै–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट सार्वजनिक भएको छ ।

वर्षाकाे समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाण्डाैबाट हेटौँडाका लागि छुट्ने साना गाडीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ ।

त्यस्तै हेटौँडाबाट काठमाण्डाै छुट्ने साना गाडीका लागि भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट कायम गरिएकाे छ ।

यसैगरी ठूला तथा मालवाहक गाडी काठमाण्डाैबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन् । याे रुट प्रयोग गर्ने गाडीले बेलुकी ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक गाडीका लागि भैँसे–पालुङ–टिस्टुङ–नौबीसे हुँदै काठमाण्डाै आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक गाडीलाई याे पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले भारी मालवाहक गाडीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको छ ।

1-1788351957.jpeg

प्रकाशित मिति:
थप समाज