नेभिगेशन

‘सबैलाई भाग्न भन्दा भन्दै म अड्किएँ’

काठमाण्डाै –  नुवाकाेटमा रहेकाे त्रिशूली–३ ‘ए’ को सुरुङबाट बाढीको १०औँ दिन आज बिहान उद्धार गरिएका दुई जनामध्ये एक सञ्जय साहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढीलगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनुभएको छ ।

सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको उहाँको प्रतिक्रिया छ । कन्ट्रोल रुममा कार्यरत साहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै केही व्यक्ति फसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ का ३० वर्षीय साह त्रिशूली–३ ‘ए’ मा एचईपीमा फोरम्यान अर्थात् (मेकानिकल) का रूपमा कार्यरत हुनुहुन्थ्यो ।

त्यस्तै ४५ वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डौको बालकुमारीका कबिर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ । उहाँहरूलाई सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ । सञ्जय साहको अवस्था भने सामान्य छ ।

त्रिशूली–३ ‘ए’ मा अरू केही फसेका हुनसक्ने आशङ्कामा खोजी तथा उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज