नेभिगेशन

एशियाली खेलकुद : नेपाली कराते टोलीको बिदाइ

काठमाण्डाै – जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको बिदाइ भएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर आज नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई पदक वा नतिजाको अनावश्यक दबाव नलिई उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिनुभयो ।

मन्त्री पोखरेलले खेलाडीले प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पार्नुभयो । खेलाडीको सम्मानका लागि सरकारले केही सुधारका काम अघि बढाएको उहाँले जानकारी दिनुभयाे ।

देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विमानस्थलमा ‘भीआईपी एक्सेस’ उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा शुरुआत भएको उहाँको भनाइ छ ।

यस्तै बिदाइ कार्यक्रममा नेपाली कराते खेलाडी एरिका गुरुङले आफ्नो मेहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् ।

गुरुङले एशियाली खेलकुदको प्रतिस्पर्धालाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षणका रूपमा लिन पनि उल्लेख गरेकी छन् ।

एशियाली खेलकुद जापानको नागोया आइची शहरमा यही सेप्टेम्बर १७ देखि अक्टोबर ४ सम्म आयोजना हुँदैछ । यस पटकको एशियाली खेलकुदका लागि नेपालबाट २२ खेलका १३६ जना खेलाडी सहभागी हुँदैछन् ।

एशियाली खेलकुदमा नेपालबाट करातेका ८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । करातेका विभिन्न विधामा एरिकासँगै सानुमाया थिङ, मेघा लिम्बू, एलिसा रास्कोटी मगर, राकेश मानन्धर, मीनबहादुर तामाङ, तेन्जिन शेर्पा र निरुपा दोङले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति:
थप खेलकुद