नेभिगेशन

कास्कीमा सडक खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदारको ज्यान गयो

काठमाण्डौ – कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ साँदलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदारको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

घटनामा इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते हुनुभएको छ । बिहान ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो ।

सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।

प्रकाशित मिति:
थप समाज