नेभिगेशन

एनभिएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित

काठमाण्डौ – कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभिएल)मा लगातार दोस्रो जित निकालेको छ । हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा खप्तडलाई २५–१९, २५–१९ र २५–१९ ले पराजित गर्दै कर्णालीले सहज जित निकालेको हो । लगातारको दोस्रो जितसँगै कर्णालीले ६ अंक बनाएको छ ।

खप्तडको भने यो लगातार दोस्रो हार हो । उसले अंकको खाता खोल्न सकेको छैन । यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौं रेड्सलाई ३–० सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको थियो ।

एनभीएलमा आज मधेश वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजबीच खेल हुनेछ । लिगमा कुल ६ टोली सहभागी छन् । नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ । नेपाली भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

भदौ २७ गतेसम्म कभर्डहलमा हुने एनभिएलमा सिंगल राउन्ड रोबिन लिग खेल्नेछन् । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।

प्रकाशित मिति:
थप खेलकुद