नेभिगेशन

धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द

काठमाण्डौ – धादिङको धादिङबेसी जोड्ने  फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म १० घण्टा गाडीको आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ ।

भदौ १० गतेको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२, फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि अहिले ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो ।

यो वैकल्पिक सडकमा थप मर्मत सम्भारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनले जनाएको छ । सडक बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाडीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग ‘धादिङवेशी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामार्फत् अनुरोध गरेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारको बीचमा पर्ने परेवाभीर खण्डमा भने मर्मतको काम सकिएसँगै हिजो बेलुकादेखि दुईतर्फी गाडी चल्न थालेका छन् ।

790491149_122119252509374830_1563497969831465168_n-1788831515.jpg
 

प्रकाशित मिति:
थप समाज