नेभिगेशन

जापानमा कीर्तिमानी वर्षा : एशियाली खेलकुदका खेलाडीलाई सुरक्षित ठाउँमा सारियो

जापानको नागोयामा भएको कीर्तिमानी वर्षाका कारण एशियाली खेलकुदमा सहभागी सयौँ खेलाडीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ ।

आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमानबीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ ।

हिजो नागोयामा १ घन्टामै झन्डै १०४ मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका थिए ।

नागोया पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डेन पियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका सयौँ खेलाडीलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो । झन्डै २ घन्टापछि आदेश हटाइएपछि खेलाडीहरू आफ्नो आवासमा फर्किएका थिए ।

यस वर्षको एशियाली खेलकुदमा खेलाडीहरू बस्ने छुट्टै ठाउँ निर्माण गरिएको छैन । आयोजकले खेलाडीको आवासका लागि क्रुज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेका छन् ।

एशियाली खेलकुदको औपचारिक उद्घाटन यही सेप्टेम्बर १९ मा हुने भए पनि केही खेल यसअघि नै शुरू हुँदैछन् । बास्केटबल प्रतियोगिता भोलिदेखि शुरू हुने कार्यक्रम छ ।

प्रतियोगितामा १७ हजारभन्दा धेरै खेलाडी तथा अधिकारी सहभागी हुँदैछन् । सन् २०२४ को फ्रान्सको पेरिसमा भएको ओलम्पिकमा खेलाडीहरूको सङ्ख्या झन्डै ११ हजार थियो ।

वैज्ञानिकहरूका अनुसार मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनले जापानलगायत विश्वका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढाइरहेको छ ।

नागोयामा खेलकुदको ठूलो अन्तर्राष्ट्रिय जमघट शुरू हुनुअघिको वर्षाले प्रतियोगिताको तयारीसँगै सहभागीको सुरक्षामाथि पनि चुनौती थपिएको छ ।

प्रकाशित मिति:
थप खेलकुद