नेभिगेशन

सोलुखुम्बुको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ लाई अन्तर्राष्ट्रिय मान्यता

काठमाण्डाै – सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको साहसिक दौडले फ्रान्सको विश्व प्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिकता पाएको हो ।

अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई ३ अङ्क प्रदान गरेको छ । मान्यता प्राप्त दौड पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाइका आधारमा अङ्क पाउँछन् जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौडमा छनोट हुन सहयोग पुर्‍याउँछ ।

नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रनउकुजस्ता दौड प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन् ।

अन्तर्राष्ट्रिय आधिकारिकता पाएपछि गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताउनुभएको छ ।

झन्डै ४८ किलोमिटर लामो यो दौडको उचाइ २ हजार ९१४ मिटर रहेको छ । दौड पूरा गर्नका लागि अधिकतम ७ घण्टा ४५ मिनेटको समय सीमा निर्धारण गरिएको छ ।

भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएको यो दौडले धावकको सहनशीलता र क्षमताको वास्तविक परीक्षा लिनेछ । दौडको शुरुआत समुद्री सतहदेखि १ हजार ८०३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रङ्गशालाबाट महभीरतर्फ अघि बढ्छ ।

महभीर नेपालकै उत्कृष्ट चट्टान आरोहण र डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ । सिलगुडी पुगेर धावकले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा नुम्बुर, थामसेर्कु र मेरा पिकजस्ता हिमशिखरको दृश्यावलोकन गर्न पाउनेछन् ।

दौडको सबैभन्दा उच्च विन्दु ३ हजार १८१ मिटरमा रहेको कुधम उच्च शिविर हो जहाँ यात्राका क्रममा धावकले मनमोहक ब्लास झरनाको समेत अनुभव गर्नेछन् ।

ट्रेलको मुख्य धार्मिक स्थल कैलाशनाथ महादेव मन्दिर हो । कैलाशनाथ हुँदै दौड पुनः कोर्कु रङ्गशालामा पुगेर समापन हुनेछ ।

2-1788950442.jpg

प्रकाशित मिति:
थप खेलकुद