नेभिगेशन

एनभीएल : कर्णालीले मधेशलाई हरायाे

काठमाण्डाै – नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले मधेश वारियर्सलाई हराएकाे छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको दाेस्राे खेलमा कर्णालीले मधेशलाई ३–१ को सेटमा हरायो । कर्णालीले पहिलाे सेट २५–२०, दाेस्राे सेट २५–२० र चाैथाे सेट २५–१९ ले जित्याे । मधेशले तेस्राे सेट २५–२१ ले जित्याे ।

कर्णाली ५ खेलमा ११ अङ्कसहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ । मधेश ५ खेलमा ४ अङ्कसहित पाँचौँ स्थानमा रहेर बाहिरिएको छ ।

यस्तै लिग चरणको अन्तिम खेलमा बेलुकी ७ बजे काठमाण्डौ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन् । काठमाण्डौ ४ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ । खप्तड ४ खेलमा अङ्कविहीन हुँदै प्रतियाेगिताबाट बाहिरिइसकेकाे छ ।

यस्तै आजकाे पहिलाे खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ काे सेटमा हराउँदै अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा पुगेको छ ।

पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार ३ सेट जित्यो । अन्नपूर्णले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० ले जित्यो । सगरमाथाले पहिलो सेट २५–२१ ले जित्यो ।

अन्नपूर्ण लगातार चौथो जीतसहित १२ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।  सगरमाथा ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २८ गते आइतवार हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद