नेभिगेशन
सोमबार, भदौ २९, २०८३

हिमनदी तीव्र गतिमा पग्लिँदै, भारतकाे अर्थतन्त्र ‘जाेखिम’ मा

हिमनदीहरू तीव्र गतिमा पग्लिने, हिमनदीजन्य तालहरू थप अस्थिर बन्ने र हिमालहरूको निगरानीमा बढ्दो खाडल देखिने क्रमसँगै हिमालय क्षेत्र खतरनाक अवस्थातर्फ अघि बढिरहेको अध्ययनले देखाएको छ ।

नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीले १ हजार ३०० भन्दा धेरै मानिसको ज्यान लिनुका साथै व्यापक विनाश निम्त्याएको घटनालगत्तै यी निष्कर्षहरू सार्वजनिक भएका प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसले तीव्र गतिमा परिवर्तन भइरहेको हिमालय क्षेत्रको वातावरणबाट उत्पन्न बढ्दो जोखिमलाई उजागर गरेको छ ।

एकीकृत पर्वतीय पहल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र जीबी पन्त राष्ट्रिय हिमालयन वातावरण संस्थानको प्राविधिक योगदानमा तयार पारिएको विश्वव्यापी परामर्श संस्था सिस्टिमिकको प्रतिवेदनले हिमनदीहरू अहिले एक दशकअघिको तुलनामा ६५ प्रतिशत छिटो पग्लिरहेका उल्लेख गरेको छ ।

तर प्रतिवेदनका अनुसार हिमालय–काराकोरम क्षेत्रमा रहेका अनुमानित ४० हजार हिमनदीमध्ये २१ वटाको मात्र विस्तृत र निरन्तररूपमा निगरानी भइरहेको छ ।

प्रतिवेदनअनुसार तीव्र गतिमा हिउँ पग्लिँदै जाँदा हिमतालहरूको आकार बढिरहेको छ र हिमताल फुट्ने खतरा बढिरहेको छ । साथै तापक्रम वृद्धिले ‘पर्माफ्रस्ट’ अर्थात् तापक्रम बढ्दा पग्लन सक्ने वर्षभरि जमेर रहेको जमिन तथा अग्ला पहाडी भिरालोहरूलाई अस्थिर बनाइरहेको छ जसले गर्दा एकपछि अर्को गर्दै आउने विपद्को जोखिम बढिरहेको छ ।

प्रतिवेदनअनुसार भारतको झन्डै १८ प्रतिशत भूभाग हिमालय क्षेत्रमा पर्छ तर देशमा हुने विपद्मध्ये झन्डै ३५ प्रतिशत यसै क्षेत्रमा हुने गर्छ ।

भारतीय हिमालय क्षेत्रमा उच्च जोखिममा रहेका १८९ वटा तालको वैज्ञानिक मूल्याङ्कनपछि सरकारले जुलाईमा संसद्लाई जानकारी गराएअनुसार ५६ वटा हिमताललाई अत्यधिक जोखिमपूर्ण श्रेणीमा वर्गीकृत गरिएको छ । सरकारका अनुसार केन्द्रीय जल आयोगले भारतका हिमालयन नदी बेसिनहरूमा १० हेक्टरभन्दा ठूला २ हजार ४८५ वटा हिमतालको निगरानी गरिरहेको छ ।

इसिमोडका अनुसार हिन्दू–कुश हिमालय क्षेत्रका धेरैजसो नदी जलाधारहरूमा शताब्दीको मध्यतिर ‘पिक वाटर’ को अवस्था आउने अनुमान छ; यो त्यस्तो विन्दु हो जहाँ हिमनदी पग्लिएर बग्ने पानीको मात्रा अधिकतम हुन्छ र त्यसपछि हिमनदीको आकार घट्दै जाँदा त्यो मात्रामा कमी आउन थाल्छ ।

प्रतिवेदनअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २० प्रतिशत हिस्सा हिमालयको पानीमा आधारित छ जसले गहुँ, धान, चिया, जलविद्युत् र तीर्थयात्रामा आधारित अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ । तथापि ती हिमाली राज्यहरूले यस मूल्यको झन्डै ५ प्रतिशत हिस्सामात्र प्राप्त गर्छन् ।

सिस्टिमिक अनुसन्धानले हिमनदी पग्लने झन्डै एकतिहाइ भाग कालो कार्बनले गर्दा हुने अनुमान गरेको छ जसको धेरैजसो भाग मैदानी इँटा भट्टाबाट निस्कन्छ । हिउँ र बरफमा जम्मा भएको कालोले धेरै सूर्यको प्रकाश सोस्छ र पग्लने गति बढाउँछ ।

प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउने र हिमनदी अनुगमनको विस्तार गर्नेदेखि लिएर विपद् पूर्वसूचना प्रणालीमा सुधार गर्ने र पहाडहरूमा पर्यटन विकास गर्ने तरिका परिवर्तन गर्नेसम्मका १० प्राथमिकता प्रस्ताव गरेको छ ।

प्रकाशित मिति:
थप विश्व