नेभिगेशन
शुक्रबार, असोज २, २०८३

देउवालाई गगनकाे आग्रह – ‘महाधिवेशन उद्घाटन गर्न आइदिनुस्’

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताउनुभएको हो । उहाँले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने उल्लेख गर्नुभयो ।

विशेष महाधिवेशनपछिका मागहरू सम्बोधन भइसकेकाले अब छुट्टै महाधिवेशनको औचित्य नरहेको स्पष्ट पार्दै उहाँले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा निर्धक्क सहभागी हुन पनि तल्लो तहका कार्यकर्तालाई अपील गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशनको दिनमा पूर्वसभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो । पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ । त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो । सभापतिज्यूको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनुभएका विषयहरू पनि सम्बोधन भइसकेका छन् । अब थप अलमल नगरिकन पूर्वसभापतिज्यूलाई महाधिवेशनमा सहभागी भएर सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु ।’

आजकाे बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय (डिना), इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजङ्ग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, किरण यादवलगायतको उपस्थिति थियो ।

बैठकमा देउवा पक्षबाट ४० जनाभन्दा धेरै सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

पर्सि शनिवारदेखि वडा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृहजिल्ला गइसकेका छन् । नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा ९० प्रतिशतभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दाबी गर्नुभयो ।

कांग्रेसकाे १५औँ महाधिवेशन आउँदाे असोज १६ देखि १९ गतेसम्म काठमाण्डाैमा आयाेजना हुँदैछ ।

@ujyaalo_official

पूर्वसभापति देउवालाई महाधिवेशनको उद्घाटन गर्न आउन गगन थापाको आग्रह

♬ original sound - ujyaalo

प्रकाशित मिति:
थप राजनीति