सन् २०२६ को अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरु भएको छ ।
भर्जिनियामा हिजो अग्रिम मतदान शुरु भएको हो । इडाहो, मिनेसोटा र साउथ डकोटासहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन् । आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरु हुनेछ । यो चुनावमा अधिकांश राज्यमा गभर्नर र राज्य विधायिकाका लागि समेत मतदान हुनेछ ।
आउँदो नोभेम्बर ३ मा हुने चुनावले अमेरिकी कङ्ग्रेसको प्रतिनिधिसभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव सञ्चालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनुभएको छ । उहाँको प्रशासनले गैरनागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढाउने प्रयाससमेत गरिरहेको छ ।
यसैबीच, मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टिभ साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने अपुष्ट सूचना वा दाबीबाट प्रभावित नहुन मतदातालाई आग्रह गर्नुभएको छ । उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनुभएको छ ।
कङ्ग्रेस दलगत नियन्त्रण परिवर्तन भएमा ट्रम्प प्रशासनको कार्यकालको बाँकी दुई वर्षमा नीति निर्माण, सरकारी निगरानी र अनुसन्धान प्रक्रियामा प्रभाव पर्न सक्नेछ । अग्रिम मतदान शुरु भइरहँदा निर्वाचन क्षेत्र पुनःसंरचनाको विषय पनि चर्चामा छ ।
ट्रम्पको आग्रहपछि रिपब्लिकन नेतृत्वको टेक्सासबाट शुरु भएको चुनाव क्षेत्र पुनःसंरचना प्रक्रिया क्यालिफोर्निया र अन्य राज्यमा पनि अघि बढेको छ । यसका कारण लाखौँ अमेरिकीको कङ्ग्रेस निर्वाचन क्षेत्र परिवर्तन भएको बताइएको छ । निर्वाचन सञ्चालनमा सङ्घीय सरकारको भूमिकालाई लिएर पनि विवाद छ ।
अमेरिकी संविधानले चुनाव सञ्चालनको मुख्य जिम्मेवारी राज्यलाई दिएको भए पनि ट्रम्प प्रशासनले मतदाता विवरण तथा गैरनागरिक मतदातासम्बन्धी विषयमा राज्यसँग समन्वय र पहुँच विस्तार गर्न खोजिरहेको छ ।
ट्रम्पले अमेरिकी निर्वाचनमा गैरनागरिकले व्यापक रूपमा मतदान गर्ने दाबी गर्दै आए पनि उपलब्ध अनुसन्धानले गैरनागरिकको मतदान अत्यन्तै दुर्लभ हुने देखाएको छ ।
मतदान अधिकारसम्बन्धी संस्थाहरूले हुलाक सेवामा भएका पछिल्ला परिवर्तनका कारण मतपत्र पठाउने प्रक्रियामा ढिलाइ हुनसक्ने भन्दै मतदातालाई चाँडै मतदान गर्न आग्रह गरेका छन् ।