नेभिगेशन
मंगलबार, असोज ६, २०८३

ठूलो वर्षाको सम्भावना भएकोले पूर्वतयारीसहित सचेत रहन आग्रह

काठमाण्डौ – यही असोज ९ गते शुक्रबारदेखि आइतबारसम्म तीन दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष मौसम बुलेटिनमार्फत् केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेश तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा  मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्न सक्ने आँकलन छ ।

उत्तर अण्डमान सागर र आसपास बनेको न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भागमा पुगेको छ । यो थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम–उत्तरपश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । पूर्वतयारीसहित सचेत रहन पनि मौसमविद्को आग्रह छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

नदी, नाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ । शुक्रबारदेखि तीन दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढीबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्काउन अनुरोध गरेको छ । 

प्रकाशित मिति:
थप समाज