नेभिगेशन
मंगलबार, असोज ६, २०८३

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा

काठमाण्‍डाै – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ ।

विदेशी खेलाडी एनपीएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा बढिरहेको छ । लिगको टोलीहरूबीच पनि चर्चित खेलाडीलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा भइरहेको छ । अनुभवी विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले उनीहरूबाट सिक्ने अवसर, लिगको अन्तर्राष्ट्रिय बजार, दर्शकको आकर्षण र फ्रेन्चाइजको व्यावसायिक मूल्यमा समेत यसको प्रभाव परेको क्यानका सचिव पारस खड्काले बताउनुभयो । उहाँ विदेशी चर्चित खेलाडी आउँदा एनपीएल मात्र नभई नेपालको पर्यटनमै सहयोग पुगिरहेको बताउनुहुन्छ । 

‘‘विदेशी खेलाडी एनपीएलमा जोडिँदा क्रिकेट मात्र नभई नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुगिरहेको छ । विगत संस्करणमा जोडिनुभएका स्टार खेलाडीका कारण क्रिकेटसँगै यहाँको पर्यटनको चर्चा पनि भएको थियो । धेरै विदेशी खेलाडीले नेपालको प्रसिद्ध ठाउँहरूको तस्बिर भिडियो सामाजिक सञ्जालमा राख्नुभएको थियो । त्यसले गर्दा नेपालको पर्यटनले अन्तरराष्ट्रियस्तरमै चर्चा पाएको विश्वास छ’’, सचिव खड्काले रासससँग भन्नुभयो, ‘‘यसपालि पनि चर्चित विदेशी खेलाडी जोडिनेक्रम जारी छ । उनीहरूको आगमनले लिगले उचाइ पाउनुका साथै नेपालको अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ ।’’

चर्चित विदेशी खेलाडीसँग एउटै टोलीमा रहेर खेल्ने अवसरले नेपाली युवा खेलाडीलाई खेल कौशलसँगै मानसिकरूपमा पनि बलियो बनाउनसक्ने उहाँको बुझाइ छ । अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीको प्रशिक्षण शैली, खेलप्रतिको अनुशासन, तयारी र मैदानमा दबाब सामना गर्ने तरिका नेपाली खेलाडीका लागि प्रत्यक्ष सिकाइको माध्यम बन्नसक्ने खड्का बताउनुहुन्छ । आफूले लामो समयदेखि आदर्श मानेका खेलाडीसँग एउटै ‘ड्रेसिङ रुम’ मा बस्नु र मैदानमा सँगै उत्रिनु युवा खेलाडीका लागि महत्वपूर्ण अनुभव हुने उहाँको भनाइ छ ।

यस्ता अवसरले नयाँ खेलाडीको आत्मविश्वास बढाउन तथा आफूले खेल्दै आएको क्रिकेटलाई अझ फराकिलो दृष्टिले बुझ्न सहयोग पुग्ने खड्का बताउनुहुन्छ । ‘‘आफूले आदर्श मानेका खेलाडीसँगै ड्रेसिङ रुम सेयर गर्न पाउनु युवा खेलाडीका लागि ठूलो उपलब्धि हो, जसलाई सानैदेखि मैदानमा देखियो, उही खेलाडी आफ्नै मैदानमा खेलेको देख्दा युवा खेलाडीमा हौसला अवश्य नै बढ्छ’’, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहनुभएका खड्काले भन्नुभयो ।

विदेशी खेलाडीबाट प्राप्त हुने यस्तो अनुभव खेल सकिएसँगै समाप्त नहुने खड्काको बुझाइ छ । एउटै टोलीमा रहेर अभ्यास र खेल खेल्दा नेपाली खेलाडीले उनीहरूको व्यावसायिकता, समय व्यवस्थापन, ‘फिटनेस’प्रतिको ध्यान तथा खेलअघि र खेलपछि गरिने तयारीलाई नजिकबाट नियाल्न पाउने गरेको क्यानका म्यानेजर विनोद दास बताउनुहुन्छ ।

अष्ट्रेलियाका विश्वकप विजेता खेलाडी डेविड वार्नरको आगमनले नेपालका युवा खेलाडीलाई थप सहयोग पुग्ने पनि उहाँ बताउनुहुन्छ । ‘‘वार्नरको अनुभव र खेल्ने शैलीबाट नेपाली खेलाडीले प्रत्यक्षरूपमा धेरै कुरा सिक्न पाउने छन् । यसले एनपीएलको स्तर र अन्तर्राष्ट्रिय ध्यानसमेत बढाउन मद्दत गर्नेछ’’, नेपालको यू–१९ टोलीका पूर्वप्रशिक्षकसमेत रहनुभएका दासले भन्नुभयो, ‘‘विश्वस्तरीय खेलाडीलाई आफ्नै मैदानमा खेलेको हेर्न पाउनु नेपाली युवा खेलाडीका लागि ठूलो प्रेरणा हो । यसले उनीहरूलाई अझ मेहनत गर्न उत्साहित गर्नेछ ।’’

स्टार खेलाडी जोडिँदा एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेटमा थप चर्चा पाउने पनि उहाँको विश्वास छ । ‘‘वार्नरजस्ता विश्व क्रिकेटका स्टार नेपालमा आएर खेल्नु आफैँमा उपलब्धि हो । उहाँको नेपाल आगमनले एनपीएलको ब्रान्ड बढ्नेछ’’, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहनुभएका दासले भन्नुभयो, ‘‘वार्नरको उपस्थितिले एनपीएलप्रति दर्शक र क्रिकेट समर्थकको आकर्षण अझ बढ्नेछ । उहाँहरू जस्ता चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धात्मक वातावरण पनि बलियो बनाउनेमा आशावादी छौँ ।’’

उहाँले काठमाण्डौ गोर्खाजमा वार्नरको अनुबन्धले अन्य चर्चित विदेशी खेलाडीलाई समेत एनपीएलमा सहभागी हुन आकर्षित गर्ने वातावरण बन्नेसमेत बताउनुभयो । ‘‘वार्नरजस्ता विश्वस्तरीय खेलाडी नेपाल आएर एनपीएल खेल्दा अन्य चर्चित विदेशी खेलाडीलाई पनि नेपालमा आएर क्रिकेट खेल्न सकारात्मक वातावरण बनाउन सहयोग गर्नेछ । विश्व क्रिकेटका आइकन मानिने खेलाडी नेपाल आएर खेल्न थालेपछि एनपीएलप्रति विदेशी खेलाडीको विश्वास र आकर्षण बढ्न सक्छ । त्यसले आगामी दिनमा अझ स्तरीय विदेशी खेलाडीलाई एनपीएलमा ल्याउने बाटो सहज बनाउनेछ’’, दासले भन्नुभयो । 

एनपीएलमा विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटलाई नयाँ अनुभव र अवसर थपिरहेको नेपाली राष्ट्रिय टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीको बुझाइ छ । अन्तरराष्ट्रियस्तरमा खेलिसकेका स्टारसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीले उनीहरूको खेल्ने शैली, तयारी र अनुभवबाट सिक्ने अवसर पाउने उहाँको भनाइ छ । विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई उच्चस्तरको क्रिकेटमा आफूलाई परीक्षण गर्ने वातावरणसमेत तयार हुने ऐरी बताउनुहुन्छ । 

उहाँका अनुसार विदेशी खेलाडीको सहभागिताले एनपीएलको प्रतिस्पर्धात्मक स्तर बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको बाह्य चासो बढाउन पनि सहयोग पुग्न सक्छ । ‘‘विदेशी खेलाडी आउँदा नेपाली क्रिकेटलाई एकदमै राम्रो भइरहेको छ । उहाँहरू आउँदा नेपाली क्रिकेटको स्तर बढिरहेको छ । विदेशी खेलाडीहरूसँग खेल्दा नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउँछन् र त्यसले नेपाली क्रिकेटलाई अगाडि बढाउन सहयोग गर्छ’’, एनपीएल टोली सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहनुभएका ऐरीले भन्नुभयो ।

एनपीएल–३ खेल्ने ५ चर्चित विदेशी खेलाडी 

डेविड वार्नर (अष्ट्रेलिया) : अष्ट्रेलियाका आक्रामक ब्याटर वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समय प्रभाव जमाउनुभएको खेलाडी हुनुहुन्छ । उहाँ अष्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । टेष्ट, एकदिवसीय र टी–२० तीनै स्वरूपमा उत्कृष्ट प्रदर्शन गर्नुभएका वार्नरले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा पनि खेलिसक्नुभएको छ । उहाँको अनुभव र आक्रामक ब्याटिङ एनपीएलका लागि आकर्षणको विषय बनेको छ ।

वार्नरले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १८ हजार ९९५ रन बनाउनुभएको छ । उहाँसँग व्यावसायिक क्रिकेट खेलेको पनि लामो अनुभव छ । वार्नरले इन्डियन प्रिमियर लिग (आइपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बिग बास लिग (बिबिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), बङ्गलादेश प्रिमियर लिग (बिपीएल) सहित एक दर्जनजति प्रतिष्ठित लिग खेलिसक्नुभएको छ । ती लिगहरूमा उहाँको क्रिकेटर करिअर उत्कृष्ट रह्यो । अब ३९ वर्षीय वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि आफ्नो सानदार प्रदर्शन गर्न चाहनुहुन्छ । 

शाकिब अल हसन (बङ्गलादेश):  एनपीएल–३ खेल्ने अर्का चर्चित विदेशी खेलाडी हुनुहुन्छ बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसन । उहाँ पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने तयारीमा हुनुहुन्छ । विश्व क्रिकेटमा स्थापित अलराउन्डरको सूचीमा शाकिबको नाम पनि आउँछ । बायाँहाते ब्याटिङसँगै बायाँहाते स्पिन बलिङ गर्ने उहाँले लामो समय बङ्गलादेशको राष्ट्रिय टोलीको नेतृत्वसमेत गर्नुभयो । शाकिबले बङ्गलादेशका लागि कुल १४ हजार ७३० रन बनाउनुभएको छ । साथै उहाँले पनि एक दर्जनजति विदेशी लिगको अनुभव हासिल गरिसक्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव बोक्नुभएका शाकिबको उपस्थितिले पोखरा एभेन्जर्सलाई अनुभव थप्नेछ ।

जिमी निसम (न्युजिल्याण्ड): एनपीएलको तेस्रो संस्करणमा देखिने अर्का चर्चित खेलाडी हुनुहुन्छ, न्युजिल्यान्डका अलराउन्डर जिमी निसम । उहाँ लगातार तेस्रोपटक एनपीएल  खेल्ने तयारीमा हुनुहुन्छ । निसमले अघिल्लो दुई सिजन फरक–फरक टोलीबाट एनपीएलमा सहभागिता जनाउनुभएको थियो । आसन्न संस्करणमा उहाँ पुनः जनकपुर बोल्ट्समा फर्किनुभएको छ । नीशमले पहिलो सिजनमा जनकपुरलाई उपाधि दिलाउन अहम् योगदान दिनुभएको थियो । 

उहाँ लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय हुनुहुन्छ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिनसक्ने नीसमले विश्वका विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसक्नुभएको छ । दबाबपूर्ण अवस्थामा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँको क्षमतालाई टोलीका लागि महत्वपूर्ण मानिन्छ । ३६ वर्षीय निशमले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार ३०९ रन बनाउनुका साथै १४९ विकेट लिनुभएको छ । उहाँले एक दर्जनभन्दा बढी विदेशी लिग खेलिसक्नुभएको छ ।

रवि बोपारा (इङ्ल्याण्ड): एनपीएल २०२६ मा देखिनुहुने अर्का चर्चित विदेशी खेलाडी हुन्छ, इङ्ल्याण्डका अनुभवी अलराउन्डर बोपारा । उहाँ लगातार तेस्रोपटक चितवन राइनोजबाट एनपीएल खेल्दै हुनुहुन्छ । बोपारासँग पनि पनि अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगिताको लामो अनुभव छ ।

ब्याटिङ र मध्यम गतिका बलिङबाट योगदान दिनसक्ने बोपारा विशेषगरी फ्रेन्चाइज क्रिकेटमा अनुभवी खेलाडीका रूपमा परिचित हुनुहुन्छ । ४१ वर्षीय बोपाराले इङ्ल्याण्डका लागि कुल तीन हजार ९८१ रन बनाउनुका साथै ५७ विकेट लिनुभएको छ । उहाँले झण्डै एक दर्जनजति विदेशी लिग खेल्नुभएको छ । बोपाराको अनुभव चितवन राइनोजका लागि उपयोगी हुनसक्ने अपेक्षा गरिएको छ ।

 सिकन्दर राजा (जिम्बाब्बे) : एनपीएलको तेस्रो संस्करणमा जोडिने अर्का चर्चित खेलाडी हुनुहुन्छ, जिम्बाब्वे टोलीका कप्तान सिकन्दर राजा । उहाँ ताजा स्थितिमा अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा प्रमुख अलराउन्डरको रूपमा परिचित हुनुहुन्छ । आक्रामक ब्याटिङसँगै अफस्पिन बलिङ गर्न सक्ने राजाले विभिन्न अन्तरराष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्नुभएको छ । उहाँले हालसम्म अन्तराष्ट्रिय क्रिकेटमा नौ हजार ३८२ रन बनाउनुका साथै २५२ विकेट लिनुभएको छ । ४० वर्षीय राजाको अलराउन्ड क्षमताले चितवन राइनोजलाई ब्याटिङ र बलिङ दुवैमा विकल्प थप्नेछ । 

वार्नर, शाकिब, निसम, बोपारा र राजाजस्ता अनुभवी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई विश्वस्तरीय क्रिकेटरको अभ्यास, तयारी र खेल्ने शैलीलाई नजिकबाट बुझ्ने अवसर दिनेमा एनपीएल टोली विश्वस्त छन् । उनीहरूकोको आगमनले नेपाली क्रिकेटप्रति अन्तरराष्ट्रिय चासो बढाउन र एनपीएलको पहिचानलाई थप फराकिलो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको एनपीएल टोली विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरी बताउनुहुन्छ । 

‘‘तेस्रो संस्करणमा चर्चित विदेशी खेलाडीको सहभागिताले एनपीएललाई नयाँ उचाइतर्फ लैजाने छ । यसले नेपाली क्रिकेटका लागि सिकाइ र अवसरको अर्को ढोका खोल्ने देखिन्छ’’, चौधरीले भन्नुभयो, ‘‘विदेशी खेलाडीको सहभागिताबाट प्राप्त हुने लाभलाई प्रतियोगिता अवधिमै सीमित नराखी त्यसलाई नेपाली क्रिकेटको दीर्घकालीन विकाससँग जोड्नु महत्वपूर्ण हुनेछ । उनीहरूसँग नेपाली खेलाडीले सिकेको अनुभव प्रशिक्षण, घरेलु प्रतियोगिता र राष्ट्रिय टोलीसम्म पुग्न सके त्यसको प्रभाव अझ अर्थपूर्ण बन्न सक्छ ।’’ 

एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाण्डाैमा आयोजना हुँदैछ । क्यानले लिगको तालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करण विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रकाशित मिति:
थप विशेष