नेभिगेशन
शनिबार, असोज १०, २०८३

एशियाली खेलकुदको क्रिकेटमा वर्षाले रोकिएको नेपाल र जापानबीचको खेल शुरु

जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अहिले नेपाल र आयोजक जापान खेलिरहेका छन् । आइचीमा रहेको कोरोगी स्पोट्र्स पार्कमा बिहान पौने ६ बजेदेखि शुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला गरी शुरु भएको हो ।

यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । खेल १५ ओभरमा झारिएको छ । आजको खेल जितेमा नेपाल समूहको विजेता बन्दै क्वाटरफाइनलमा पुग्ने र श्रीलंकासँग खेल्नेछ । त्यस्तै समूहको उपविजेताले भारतसँग खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटाएकाे हाे । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि भेट हुँदा नेपाल विजयी भयो । सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।

अफगानिस्तानले अस्ति पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो । समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान छन् ।

आजै मलेसिया र ओमानबीच पनि खेल हुँदैछ । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति:
थप खेलकुद