नेभिगेशन
शनिबार, असोज १०, २०८३

हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा अस्वीकार

अमेरिकाले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले न्यूयोर्कमा मध्यस्थकर्तामार्फत सात दिने युद्धविराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नुभएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ ले जनाएको छ ।

पत्रिकाका अनुसार इरानले आफ्ना सर्त पूरा गर्नेमा अमेरिका सशंकित बनेको छ । ट्रम्पले इरानमाथि पुनः बमभारी अभियान शुरु हुनसक्ने चेतावनी समेत दिनुभएको छ ।

इरानको प्रस्ताव गएको जुनको समझदारीमा आधारित थियो । जसअनुसार तेल निर्यातमा प्रतिबन्ध छुट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो ।

तर, अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ । राष्ट्रसंघको महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सर्त स्वीकार भए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो ।

इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ ।

प्रकाशित मिति:
थप विश्व