नेभिगेशन
शनिबार, असोज १०, २०८३

भोटेकोशी विपद् : हिमाली क्षेत्रको शृंखलाबद्ध भौगर्भिक प्रक्रियाको परिणाम

काठमाण्डौ – एक महिनाअघि अर्थात गएको भदौ १० गते नेपाल–चीन सीमा नजिकबाट शुरु भएको विनाशकारी हिम पहिरो, गेग्रान प्रवाह र आकस्मिक बाढी सामान्य पहिरो वा बाढीको घटनामात्र नभई उच्च हिमाली क्षेत्रमा विकसित भएको जटिल शृंखलाबद्ध भौगर्भिक र हिममण्डलीय विपद् भएको प्रारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ । 

जापानको हिरोसाकी विश्वविद्यालयका प्राध्यापक चिङ–यिङ चुको नेतृत्वमा नेपालबाट भूगर्भविद् डा. सुवोध ढकालसमेत सम्मिलित आठ जना वैज्ञानिकको अध्ययन टोलीले गरेको पछिल्लो प्रारम्भिक अध्ययनअनुसार, उपलब्ध भूउपग्रह तस्वीरहरूले विपद्को स्रोत क्षेत्रमा चट्टान, हिमनदी र भू–आकृतिमा लामो समयदेखि परिवर्तन हुँदै आएको हुनसक्ने संकेत देखाएका छन् । 

झण्डै ५,२०० मिटरको उचाइमा रहेको स्रोत क्षेत्रमा हिमनदीको बरफ, त्यसको आधार तथा आसपासको चट्टान एकै प्रणालीका रूपमा अस्थिर बनेपछि ठूलो परिमाणमा बरफ, चट्टान, माटो, गेग्रान र पानी तलतिर खसेको देखिन्छ । डा. ढकालका अनुसार शुरुमा आधार भूमिसहितको हिम पहिरो (बेड्रक–आइस एभलाञ्च) का रूपमा अघि बढेको पिण्ड तल झर्दै जाँदा थप चट्टान, माटो र पानी समेट्दै गेग्रान र लेदो सहितको बहाव अर्थात डेब्रिस एभलाञ्च र ‘डेब्रिस फ्लो’ मा परिणत भएको थियो ।

मुख्य नदीमा प्रवेश गरेपछि यसले ठूलो परिमाणमा गेग्रान बोकेको विनाशकारी आकस्मिक बाढीको रूप लिएको अध्ययनले देखाएको छ । भूगर्भविद् डा. ढकालका अनुसार प्रारम्भिक स्याटेलाइट विश्लेषणले स्रोत क्षेत्रमा हिमनदी पछाडि हट्दै गएको र बरफको मोटाइ घट्दै गएको संकेत गरेको छ । हिमनदी पातलिँदै र पछाडि हट्दै जाँदा, त्यसले पहिले चट्टानलाई दिँदै आएको सहारा कम हुँदै गएको सम्भावना प्रबल देखिएको छ ।

त्यस्तै, स्रोत क्षेत्रमा देखिएका ठूला दरार र जोइन्टहरूले पनि चट्टानको स्थिरतामाथि गम्भीर प्रश्न उठाएका छन् । चट्टान एउटै ठोस पिण्डका रूपमा नभई विभिन्न फुटेकाहरूबाट विभाजित अवस्थामा रहेकाले त्यसको समग्र स्थिरता निकै कम भएको हुनसक्छ ।

यो घटना लामो समयदेखि विकसित हुँदै आएको जमिन खस्किने प्रक्रियाको नतिजा भए पनि, जलवायु परिवर्तनका कारण यो प्रक्रिया अझ तीव्र बनेको हुनसक्ने सम्भावना प्रबल छ । त्यसैले यस्ता प्रमाणहरूलाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायका मुद्दामा समेत प्रस्तुत गर्नु उपयुक्त हुने अध्ययन टोलीको निष्कर्ष छ । 

प्रकाशित मिति:
थप समाज