नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

युरोपलाई आफ्नो डिजेल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह

बढ्दो मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउनेबारे बहस भइरहेका बेला अमेरिकाले युरोपलाई आफ्नो इन्धन भण्डार तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपेली साझेदार देशलाई आफ्ना रणनीतिक डिजेल भण्डारबाट थप इन्धन तत्काल बजारमा पठाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले अमेरिकी किसान, ढुवानी व्यवसायी र अन्य व्यवसायीमाथि बढ्दो इन्धन मूल्यको भार पर्न नहुने बताउनुभएको छ । अमेरिका विश्व बजारमा डिजेलको प्रमुख आपूर्तिकर्ता हो । अमेरिकाले दैनिक झण्डै १५ लाख ब्यारेलसम्म डिजेल निर्यात गर्दै आएको छ ।

अमेरिकाले निर्यात रोक्ने निर्णय गरे विश्व बजारमा डिजेलको आपूर्ति थप प्रभावित भई मूल्य अझ बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यात रोक्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको बताउनुभएको छ ।

यसैबीच बेलायतले युरोपेली साझेदार देशसँग सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको असरबारे छलफल गरेको छ । बेलायतमा डिजेलको मूल्य यो हप्ता अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । युरोपेली आयोगले पनि डिजेल आपूर्तिको अवस्थाबारे अमेरिका र युरोपका उच्च तहका अधिकारीबीच निरन्तर छलफल भइरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्नुमा इरान युद्ध, हर्मुज जलमार्ग बन्द हुन र रुसबाट डिजेल निर्यातमा आएको प्रतिबन्धलाई प्रमुख कारण मानिएको छ । 

प्रकाशित मिति:
थप विश्व