नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ्यो

अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढाउने तयारी गरेको छ ।

अमेरिकी सेनाले थप करिब नौ हजार सैनिक तथा मरिनसहित तेस्रो विमानवाहक युद्ध समूह र अर्को ल्यान्डिङ समूह मध्यपूर्वतर्फ पठाउन थालेको छ ।

यससँगै आगामी अक्टोबरको अन्त्य वा नोभेम्बरसम्म इरान वरपर तीनवटा अमेरिकी विमानवाहक समूह र दुईवटा ल्यान्डिङ समूह रहने अपेक्षा गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि नै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोडिएपछि यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख्य रूपमा बढ्नेछ ।

नयाँ परिचालनमा ‘यूएसएस थिओडोर रुजभेल्ट’ विमानवाहक युद्ध समूह र ‘यूएसएस मेकिन आइल्यान्ड’ नेतृत्वको ल्यान्डिङ समूह पनि रहेका छन् । अमेरिकाको पछिल्लो सैन्य परिचालन इरानसँगको वार्ता अन्योलमा रहेका बेला भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताका लागि उचित कदम नचाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आवश्यक परे इरानमाथि पुनः सैन्य कारबाही तीव्र पार्न सक्ने संकेत गर्नुभएको छ । ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि बमबारी बढाउन सकिने सम्भावनासमेत उल्लेख गर्नुभएको छ ।

यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव थप बढेको छ । जलमार्गबाट गुज्रिरहेको ठूलो तेल ट्यांकरमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ ।

पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्यांकरमाथि भएका आक्रमण र अमेरिकी सैन्य गतिविधिका कारण व्यावसायिक जहाजको आवतजावत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढेको छ । हर्मुज जलमार्ग विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो ।

अमेरिकाको सैन्य उपस्थिति विस्तार र हर्मुजमा बढ्दो सुरक्षा जोखिमले विश्व बजारमा कच्चा तेलको मूल्य तथा इन्धन आपूर्तिमा पुनः दबाब पर्न सक्ने चिन्ता बढेको छ । 

प्रकाशित मिति:
थप विश्व