नेभिगेशन
शनिबार, असोज १७, २०८३

गल्छी–वेत्रावती सडकमा गाडी चल्न थाल्यो, दशैँअघि नै धुन्चेसम्म सडक जोड्ने तयारी

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा गाडी चल्न थालेको छ । ट्रयाक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सडकमा गाडी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको छ । केही काम बाँकी भए पनि वेत्रावतीसम्म गाडी सञ्चालनमा कुनै कठिनाइ नरहेको उहाँको भनाइ छ । नुवाकोट–रसुवा जोड्ने फलाखु खोलामा बेलिब्रिज जडानको काम पनि भैरहेको उहाँले जानकारी दिनुभयो ।

नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरु भएको छ ।

यस्तै रसुवातर्फको बेलिब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । नुवाकोट–रसुवा सीमाक्षेत्र वेत्रावतीसम्म सडक सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई दशैँअघि नै केन्द्रीय सडक सञ्जालमा जोड्ने तयारी भएको छ ।

स्याफ्रुबेंसी, रसुवागढी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सडकमा जोड्न समस्या छ । भदौ १० गतेको बाढीले ८२ किलोमिटर लामो गल्छी–वेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी–टिमुरे सडकखण्डको करिब ४० किलोमिटर सडक बगाएको छ । 

प्रकाशित मिति:
थप समाज