नेभिगेशन
आइतबार, असोज १८, २०८३

जथाभाबी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुल्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले सडकमा जथाभाबी पार्किङ गर्ने र सडकपेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसद‍्मा राष्ट्रिय सडक सुरक्षा विधेयक २०८३ दर्ता गरेको छ ।

प्रस्तावित विधेयकको दफा ३१ मा गाडी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाडी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाडीधनी, चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाटै असुल गरिने व्यवस्था गरिएको छ । यदि दुर्घटना गराउने गाडीको पहिचान नभएमा राष्ट्रिय सडक सुरक्षा परिषद्को कोषबाट पीडितलाई राहत दिने प्रस्ताव छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न सडक पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने प्रस्तावसमेत विधेयकमा छ । साथै प्रदेश र पालिकामा समेत समन्वय समिति गठन गरी तीन तहको सरकारबीच सहकार्य गर्ने संरचना तयार गरिएको छ ।

त्यसैगरी दुर्घटनाका घाइतेलाई असल मनसायले अस्पताल पुर्‍याउने वा प्राथमिक उपचार गर्ने असल उद्धारकर्ताहरूलाई देवानी तथा फौजदारी कानूनी झमेलाबाट सुरक्षा दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।

नयाँ कानून बनेपछि सडकको अवस्था र गाडीको वर्गका आधारमा गति सीमा निर्धारण गर्ने तथा दुर्घटनाको डिजिटल अभिलेख राख्ने व्यवस्थाले सडक यात्रालाई अझै सुरक्षित बनाउने अपेक्षा छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज